• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    नेकपा रुपन्देहीद्वारा बुटवलमा एमसिसि विरुद्ध विरोध प्रदर्शन

    • lumbinisanjal
    • २०८२ श्रावण ३०, शुक्रबार १६:०४
    4.2K
    SHARES
    नेकपा रुपन्देहीद्वारा बुटवलमा एमसिसि विरुद्ध विरोध प्रदर्शन

    विनोद खनाल, बुटवल , ३० साउन । एमसिसि परियोजनाको ठेक्का सम्झौता भएपछि विप्लव नेतृत्वको नेकपाले शुक्रबार देशभर विरोध प्रदर्शन गरेको छ। सोही क्रममा नेकपा रुपन्देहीले बुटवलमा पनि प्रदर्शन गरेको हो।

    बुटवलको पुरानो बसपार्कदेखि एमसिसि विरुद्ध नाराबाजी गर्दै जुलुस निकालिएको थियो। जुलुस पुष्पलाल पार्क पुगेर कोणसभामा परिणत भयो।

    कोणसभालाई सम्बोधन गर्दै नेकपाका पोलिटब्युरो सदस्य विनोद सीले एमसिसिलाई दक्षिण एसियामा सैनिक प्रभाव जमाउने रणनीतिको रूपमा आएको दाबी गर्दै कुनै हालतमा कार्यान्वयनमा जान नदिने बताए। उनले भने, “यो सैन्य रणनीति हो। अमेरिकाले नेपाललाई आधार बनाएर दक्षिण एसियामा आफ्नो प्रभाव बढाउन खोजेको हो। शासक दलहरूले यस्तो राष्ट्रघाती कदमलाई अगाडि बढाउन खोज्नु संकटको कारण बन्नेछ भन्ने हेक्का राख्नुपर्छ।”

    उनले थपे, “हामीले बलिदानीपूर्ण संघर्ष गरेर ल्याएको गणतन्त्रमा हस्तक्षेप गर्दै राष्ट्रघात गर्ने कार्य भइरहेको छ, त्यसैले एमसिसि खारेज गर्नुको विकल्प छैन।”

    त्यसैगरी नेकपाका केन्द्रीय सदस्य तथा रुपन्देही सेक्रेटरी बिरेन्द्र सीले नेपालको संविधान र राष्ट्रिय स्वाधीनता भन्दा माथि हुने गरी एमसिसि लागू गर्न खोजिएको भन्दै यसको विरोधमा संघर्ष गर्नुपरेको बताए। उनले स्मरण गरे, “२०७८ साल फागुन १५ गते, ९०% जनता विरोधमा हुँदाहुँदै पनि एमसिसि सम्झौता संसदबाट पास गरी राष्ट्रघात गरिएको हो।”

    विदेशी सहयोग र अनुदानको विरोध आफूहरूले नगरेको प्रष्ट पार्दै उनले भने, “विर पुर्खाले जोगाएको देशमा स्वाधीनता विरोधी विदेशी हस्तक्षेप कुनै हालतमा स्वीकार्य छैन। यदि जबर्जस्ती एमसिसि लागू गरियो भने यसको सबै टावरहरू ध्वस्त पारिनेछ।”

    कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य बसन्त सी, केन्द्रीय सदस्यहरू सरद सी, विश्वास सीसहितका नेता–कार्यकर्ता उपस्थित थिए।

    ट्रम्प प्रशासनको समयमा अलमलमा परेको एमसिसि परियोजना पुनः लागू गर्ने निर्णयसहित हिजो मात्र ठेक्का सम्झौता भएपछि यसको विरोधमा रहेका शक्तिहरू देशभर सडकमा उत्रिएका हुन्।



    lumbinisanjal   
  • २०८२ श्रावण ३०, शुक्रबार १६:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP