• २०८३ आश्विन ६ | Tue, 22 Sep 2026
  • Dark Mode

          Subscribe

    मौसम खराबीका कारण रेसुङ्गा विमानस्थलको उडान अवरुद्ध

    • lumbinisanjal
    • २०८२ असार ३२, बुधबार १४:४२
    3.3K
    SHARES
    मौसम खराबीका कारण रेसुङ्गा विमानस्थलको उडान अवरुद्ध

    तम्घास ,३२ असार । गुल्मीको रेसुङ्गा विमानस्थलबाट विगत दुई हप्तादेखि उडान अवरुद्ध हुँदै आएको छ । विमानस्थलका स्टेसन प्रमुख सुमन थापाका अनुसार पछिल्लो समय असार १४ उडान भएको र त्यसपश्चात् मौसम खराबीका कारण उडान हुन नसकेको बताए।

    वर्षायाममा मौसम खराबीका कारण उडान प्रभावित भएको र गत मङ्गलबार २४ गते काठमाडौँबाट उडान भए पनि रेसुङ्गाको मौसममा समस्या देखापरेकाले करिब २० मिनेट आकाशमै होल्ड भई अवतरण हुन नसकेका कारण फिर्ता भएको उनको भनाइ छ ।

    असार र साउन महिना पहाडका विमानस्थलमा मौसमकै समस्या देखापर्दै आएको थापाले बताए ।

    विमानस्थलबाट हप्ताको चार दिन आइतबार, मङ्गलबार, बिहीबार र शनिबार उडान हुने कार्यतालिका रहेको विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले बताए ।

    काठमाडौँबाट बिहान ६ बजेर १० मिनेट र रेसुङ्गाबाट काठमाडौँका लागि बिहान ७ बजेर १० मिनेटमा उडान हुने कार्यतालिका रहेको उहाँले बताए ।

    हवाई यात्रामा गुल्मी जोडिएसँगै फ्रान्स र स्पेनबाट पनि पर्यटकहरू घुम्नका लागि गुल्मी आएको रेसुङ्गा नगरपालिका गुल्मीले जनाएको छ ।

    हाल गुल्मीबाट काठमाडौँका लागि सात हजार तीन सय र काठमाडौँबाट गुल्मीका लागि सात हजार पाँच सय रुपियाँ भाडा कायम गरेको स्टेसन प्रमुख थापाले बताए ।

    जिल्ला सदरमुकाम तम्घासबाट करिब पाँच किलोमिटर कच्ची बाटोपछि विमानस्थल पुग्न सकिन्छ । विमानस्थलबाट २०८० वैशाख २९ गतेबाट व्यावसायिक उडान सुरु गरिएको थियो ।



    lumbinisanjal   
  • २०८२ असार ३२, बुधबार १४:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP