• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    राष्ट्रिय परीक्षा बोर्डद्वारा केन्द्राध्यक्षहरुका लागि अभिमुखिकरण

    • lumbinisanjal
    • २०८२ बैशाख २०, शनिबार २०:१४
    3.8K
    SHARES
    राष्ट्रिय परीक्षा बोर्डद्वारा केन्द्राध्यक्षहरुका लागि अभिमुखिकरण

    बुटवल,२० बैशाख । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश बुटवलले कक्षा १२ को वार्षिक परीक्षाका केन्द्राध्यक्षहरुका लागि परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

    शनिबार बुटवलमा आयोजना गरीएको कार्यक्रममा कार्यालय प्रमुख रमाकान्त तिवारीले आइतबारदेखि सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । लुम्बिनी प्रदेशबाट ९० हजार ६७८ परीक्षार्थी सहभागी हुने भएका छन् । जसमा रुपन्देही जिल्लाबाट २३ हजार ८५३ जना परीक्षार्थी सहभागी हुने उनले बताए । रुपन्देहीमा ६३ वटा परीक्षा केन्द्र तोकिएको छ ।

    परीक्षालाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि परीक्षा पूर्व, परीक्षाको अवधिमा र परीक्षापश्चात गर्ने कार्यहरू प्रस्तुत गर्दै कार्यालय प्रमुख तिवारीले परीक्षामा खटिने केन्द्राध्यक्ष तथा अन्य सबै कर्मचारीहरुले पालन गर्नुपर्ने नियमबारे जानकारी गराए । यसवर्ष पनि हरेक दिन परीक्षा सुरु हुनुभन्दा ३० मिनेट अघि प्रश्नपत्र अनलाइनबाट पठाइने कार्यालय प्रमुख तिवारीले बताए । परिक्षा केन्द्रमा परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन केन्द्राध्यक्षहरुको भूमिका महत्वपूण हुने उनले बताए । परीक्षार्थीहरु परीक्षा सुरु हुनुभन्दा ३० मिनेट अघिनै केन्द्रमा पुगिसक्नुपर्ने प्रमुख तिवारीले बताए । परीक्षा सुरु भएको १५ मिनेट पछि केन्द्रमा पुग्ने परीक्षार्थी परीक्षामा सहभागी हुन नपाउने बताउँदै उनले विद्यालयहरुलाई आफ्ना विद्यार्थीलाई समयमै परीक्षा केन्द्रमा पुग्ने वातावरण बनाउन आग्रह गरे । फरक क्षमता भएका परीक्षार्थीहरुले निर्धारीत समयमा परीक्षा दिन नसक्ने देखिएमा केन्द्राध्यक्षहरुले आबश्यकता अनुसार बढीमा १ घण्टासम्म समय थप गर्न सक्ने कार्यालय प्रमुख तिवारीले बताए ।

    यसवर्ष रुपन्देहीमा बालसुधार गृहबाट १० जना , कारागारबाट ३ जना परीक्षार्थी सहभागी हुने र रुपन्देहीमा ६३ ओटा केन्द्रबाट परीक्षा सञ्चालन हुने परीक्षा बोर्ड परीक्षा व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका शाखा अधिकृत बाबुराम भण्डारीले बताए ।

    कारागार र बालसुधार गृहबाट परीक्षामा सहभागी हुने परीक्षार्थीका लिलाराम न्यापाने माविमा परीक्षा केन्द्र तोकिएको छ ।
    कार्यक्रममा इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्यालले विद्यार्थीहरुलाई भयरहित र अनुशासित ढंगले परीक्षा दिलाउन सकेमा मात्र विद्यार्थीहरुको क्षमता र शिक्षाको गुणस्तर मापन हुने बताए । उनले परीक्षालाई तोकिएकै ढाँचा, शैली, समय र मर्यादामा सञ्चालन गर्नुपर्ने र यसको लागि प्रशासन तथा सुरक्षा निकायले सबै सहयोग गर्ने प्रतिबद्धता जनाए । जिल्ला प्रशासन कार्यालयले परीक्षाको अनुगमनलाई प्रभाभकारी बनाउने जानकारी गराउँदै उनले कुनैपनि केन्द्राध्यक्ष तथा परीक्षामा खटिने कर्मचारीहरुले अमर्यादित काम गरेको पाइएमा तत्काल कारबाही गरीने बताए ।
    शिक्षा विकास समन्वय इकाई रुपन्देहीका प्रमुख माधव बञ्जाडेले जिल्लाका सबै परीक्षा केन्द्रमा भयरहित वातावरमा व्यवस्थीत र अनुशासित ढंगले परीक्षा सञ्चालन गर्न आग्रह गरे । परीक्षा केन्द्रमा अनलाइनबाट प्रश्नपत्र आउने भएकाले त्यसका लागि आबश्यक पर्ने विद्युत्, नेट लगायत अन्य उपकरण तयारी अवस्थामा राख्नुपर्ने बताए । कार्यक्रममा सहभागी केन्द्राध्यक्षहरुले अनलाइनबाट प्रश्नहरु पठाउँदा लोडसेडिङ भएमा समस्या आउनसक्ने भन्दै विद्युत प्राधिकरणसँग समन्वय गर्न आग्रह गरे ।

    अभिमुखीकरण कार्यक्रम केन्द्राध्यक्षहरु, जिल्ला स्तरीय परीक्षा समन्वय समितिका सदस्य लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन शाखा अधिकृत बाबुराम भण्डारीको रहेको थियो ।



    lumbinisanjal   
  • २०८२ बैशाख २०, शनिबार २०:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP