• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    रुपन्देहीमा लाइसेन्स वितरणमा ‘सेटिङ’ : ७ जनाविरुद्ध अख्तियारको मुद्दा

    • lumbinisanjal
    • २०८३ आश्विन २३, शुक्रबार ०८:२४
    299
    SHARES
    रुपन्देहीमा लाइसेन्स वितरणमा ‘सेटिङ’ : ७ जनाविरुद्ध अख्तियारको मुद्दा

    बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध सवारी चालक अनुमतिपत्र वितरणमा अनियमितता गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

    आयोगका अनुसार अनुसन्धानका क्रममा तत्कालीन कार्यालय प्रमुख यादवले कार्यालयका अन्य कर्मचारी तथा ट्राफिक प्रहरीसँग मिलेमतो गरी लिखित तथा प्रयोगात्मक परीक्षामा सहभागी नै नभएका व्यक्तिलाई समेत उत्तीर्ण गराई सवारी चालक अनुमतिपत्र जारी गरेको पाइएको छ।

    आयोगले १३ जनालाई नियमविपरीत सवारी चालक अनुमतिपत्र जारी गरिएको जनाएको छ। अनुसन्धानबाट जापानमा वैदेशिक रोजगारीमा रहेका र नेपालमै उपस्थित नभएका एक व्यक्तिलाई समेत लिखित तथा प्रयोगात्मक परीक्षामा उत्तीर्ण गराई जे–१ वर्गको सवारी चालक अनुमतिपत्र जारी गरिएको खुलेको आयोगको दाबी छ।

    त्यस्तै, लिखित परीक्षामा अनुत्तीर्ण भएका ३ जनाको नतिजा सच्याएर उत्तीर्ण देखाई जे–१ वर्गको तथा अन्य ४ जनालाई जे–२ वर्गको सवारी चालक अनुमतिपत्र जारी गरिएको पाइएको छ।

    लिखित परीक्षामै सहभागी नभएका ५ जनालाई प्रयोगात्मक परीक्षामा सहभागी भएको झुटो अभिलेख तयार गरी जे–१ वर्गको सवारी चालक अनुमतिपत्र जारी गरिएको पनि आयोगले जनाएको छ।

    आयोगका अनुसार यस क्रममा सरकारी कागजात तथा अभिलेखमा अनधिकृत रूपमा केरमेट, थपघट तथा हेरफेर गरी परीक्षाको नतिजासमेत परिवर्तन गरिएको थियो।

    आरोपपत्रमा तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादव, मेकानिकल सुपरभाइजर यादवप्रसाद अर्याल, अधिकृत तुल्सीराम अधिकारी, अधिकृत राजीव अर्याल तथा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका तत्कालीन प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेय र प्रहरी निरीक्षक गणेश ज्ञवालीसहित ७ जनाविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम कैद तथा जरिवानाको मागदाबी गरिएको आयोगले जनाएको छ।



    lumbinisanjal   
  • २०८३ आश्विन २३, शुक्रबार ०८:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP