• २०८३ कार्तिक २८ | Fri, 13 Nov 2026
  • Dark Mode

          Subscribe

    ‘ठूली दिदी’ कार्यक्रमले कपिलवस्तुमा शैक्षिक सुधार ल्याउँदै, दिगोपनका लागि स्थानीय तहको प्रतिबद्धता

    • lumbinisanjal
    • २०८३ आश्विन ११, आईतवार १३:४०
    234
    SHARES
    ‘ठूली दिदी’ कार्यक्रमले कपिलवस्तुमा शैक्षिक सुधार ल्याउँदै, दिगोपनका लागि स्थानीय तहको प्रतिबद्धता

    डिलाराम भुसाल/ कपिलवस्तु । कपिलवस्तुका ६ वटा स्थानीय तहमा सञ्चालित ‘ठूली दिदी (Big Sister)’ कार्यक्रमले बालबालिकाको शैक्षिक सुधारसँगै चेतनास्तर अभिवृद्धिमा सकारात्मक प्रभाव पारेको सरोकारवालाले बताएका छन्।

    सिद्धार्थ सामाजिक विकास केन्द्रद्वारा भीएसओ नेपालको नेतृत्व तथा हेम्पेल फाउण्डेसनको आर्थिक सहयोगमा सञ्चालित ‘आधारभूत सिकाइका लागि ठूली दिदी सिकाइ–२’ परियोजनाअन्तर्गत जिल्लाका ३७ जना ‘बिग सिस्टर’ बालबालिकालाई उमेरअनुकूल सिकाइ उपलब्धि हासिल गराउन सक्रिय रूपमा परिचालित छन्।

    बुद्धभूमि नगरपालिकामा आयोजित अनुभव आदानप्रदान कार्यक्रममा महाराजगञ्जका ७, शिवराजका ६, वाणगंगाका ७, बुद्धभूमिका ६, कपिलवस्तु नगरपालिकाका ७ र शुद्धोधन गाउँपालिकाका ४ गरी ३७ जना ‘बिग सिस्टर’ले विद्यालयमा सञ्चालन गरेका गतिविधि, हासिल गरेका उपलब्धि तथा आफ्ना अनुभव आदानप्रदान गरेका थिए।
    कार्यक्रममा ‘बिग सिस्टर’हरूले कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउन स्थानीय तहले आवश्यक बजेट विनियोजन गरी अपनत्व लिनुपर्नेमा जोड दिएका थिए।

    कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले शैक्षिक सुधारका लागि सञ्चालन गरिएका यस्ता कार्यक्रमले विद्यार्थीको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए। कार्यक्रमको सकारात्मक प्रभावलाई ध्यानमा राख्दै यसको कार्यक्षेत्र विस्तार र निरन्तरतामा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।

    वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले ‘बिग सिस्टर’ कार्यक्रम अत्यन्त प्रभावकारी रहेको बताए। नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेकाले शैक्षिक विकासमा योगदान पुर्‍याउने यस्ता प्रभावकारी कार्यक्रमलाई निरन्तरता दिन नगरपालिका प्रतिबद्ध रहेको उनले बताए।

    यस्तै, शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश चौधरीले गाउँपालिकामा सञ्चालित ‘बिग सिस्टर’ कार्यक्रमले बालबालिकाको आधारभूत सिकाइ सुधार गर्नुका साथै उनीहरूको चेतनास्तर विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याएको बताए। कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।
    भीएसओ नेपालका फिरोज सिद्धिकीले ‘आधारभूत सिकाइका लागि ठूली दिदी सिकाइ–२’ परियोजना कपिलवस्तुसहित बाँके, बर्दिया र दाङका २० स्थानीय तहका ४ सय ६२ विद्यालयमा सञ्चालन भइरहेको जानकारी दिए। परियोजनाबाट करिब १ लाख ५० हजार विद्यार्थी प्रत्यक्ष लाभान्वित भइरहेको उनले बताए।

    सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष त्रिलोचन घिमिरेले स्थानीय तह र समुदायसँगको समन्वयमा ‘ठूली दिदी’हरूले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए। कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजान सबै पक्षको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। कार्यक्रमको सहजीकरण परियोजना संयोजक यादव भुसालले गरेका थिए।



    lumbinisanjal   
  • २०८३ आश्विन ११, आईतवार १३:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP