• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    पत्रकारिताबाट नीति निर्माणतर्फ दिनेश पाण्डे, अर्घाखाँची–’क’बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

    • lumbinisanjal
    • २०८३ आश्विन ९, शुक्रबार १५:२१
    598
    SHARES
    पत्रकारिताबाट नीति निर्माणतर्फ दिनेश पाण्डे, अर्घाखाँची–’क’बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

    अर्घाखाँची । पत्रकार तथा प्रशिक्षक दिनेश पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँची प्रदेश सभा क्षेत्र ‘क’ बाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।

    ३५ वर्षमुनिको युवा तथा खुला कोटातर्फ उम्मेदवारी घोषणा गरेका पाण्डेले पत्रकारितामार्फत उठाउँदै आएका जनसरोकारका विषयलाई अब नीति निर्माण र राजनीतिक नेतृत्वसँग जोड्ने उद्देश्यले पार्टी राजनीतिमा सक्रिय हुन लागेको बताएका छन्।

    अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७, भगवतीमा जन्मिएका पाण्डे विगत करिब १५ वर्षदेखि पत्रकारितामा सक्रिय छन्। उनी डिजिटल मिडिया ‘हमला खबर’का संस्थापक तथा मुख्य सम्पादक हुन्। राज्य टेलिभिजनबाट प्रसारण हुने ‘छड्के हमला’, ‘लुम्बिनी छड्के’ तथा ‘कालचक्र’ लगायतका कार्यक्रममार्फत उनले सामाजिक विकृति, भ्रष्टाचार, बेथिति र जनसरोकारका विषय उठाउँदै आएका छन्।

    पत्रकारितासँगै पाण्डे विगत एक दशकभन्दा बढी समयदेखि विभिन्न जिल्लामा पुगेर युवालाई उद्घोषण, समाचार लेखन, नेतृत्व विकास, व्यक्तित्व विकास तथा खोज पत्रकारितासम्बन्धी प्रशिक्षणसमेत दिँदै आएका छन्। पत्रकारिता विषयमा उच्च अध्ययन गरिरहेका उनी विभिन्न सामाजिक तथा व्यावसायिक संघसंस्थामा समेत आबद्ध छन्।

    सांगठनिक रूपमा नेपाल प्रेस युनियन रुपन्देहीको जिल्ला कार्यसमिति सदस्यको जिम्मेवारी सम्हालिसकेका पाण्डे हालै सम्पन्न अधिवेशनबाट प्रदेश प्रतिनिधिमा निर्वाचित भएका छन्। उनी वीपी स्टडिज युथ सर्कल लुम्बिनी प्रदेशका उपाध्यक्षसमेत हुन्।

    पाण्डेले पत्रकारितामा रहँदा उठाउँदै आएका विषयलाई अब प्रत्यक्ष राजनीतिक सहभागिता मार्फत नीति निर्माण तहसम्म पुर्‍याउने आफ्नो उद्देश्य रहेको बताएका छन्। युवा पुस्ताको सहभागिता, सुशासन, जवाफदेहिता र प्रभावकारी नीति निर्माणलाई प्राथमिकतामा राखेर आफू अघि बढ्ने उनको भनाइ छ।

    अर्घाखाँची प्रदेश सभा क्षेत्र ‘क’बाट ३५ वर्षमुनिको युवा तथा खुला कोटामा उनको उम्मेदवारीसँगै कांग्रेसभित्र युवा पुस्ताको प्रतिनिधित्व र पुस्तान्तरणको विषयसमेत चर्चामा आएको छ।



    lumbinisanjal   
  • २०८३ आश्विन ९, शुक्रबार १५:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP