• २०८३ भाद्र २८ | Sun, 13 Sep 2026
  • Dark Mode

          Subscribe

    प्रधानमन्त्री राहत कोषमा पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियसनको ४० लाख १ रुपैयाँ सहयोग

    • lumbinisanjal
    • २०८३ भाद्र २८, आईतवार १८:४१
    104
    SHARES
    प्रधानमन्त्री राहत कोषमा पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियसनको ४० लाख १ रुपैयाँ सहयोग

    बुटवल‌ । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियसनले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ४० लाख १ रुपैयाँ सहयोग गरेको छ।

    एशोसियसनले आइतबार बुटवलस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन आयोजना गरी उक्त सहयोगबारे जानकारी गराएको हो।
    एशोसियसनका अध्यक्ष हिमाल गैरेले संस्थामा आबद्ध पेट्रोलियम व्यवसायीहरूबाट संकलित रकममा एशोसियसनको तर्फबाट समेत रकम थप गरी राहत कोषमा ४० लाख १ रुपैयाँ जम्मा गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार एशोसियसनमा आबद्ध ७० जना व्यवसायीले राहत कोषमा सहयोग गरेका छन्।

    अध्यक्ष गैरेले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को यस घडीमा सबै क्षेत्रबाट मानवीय सहयोगका हात अघि बढाउन आग्रह गर्नुभयो।

    उहाँले पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियसनअन्तर्गतका क्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्ति तथा वितरणमा कुनै प्रकारको अवरोध नरहेको जानकारी दिनुभयो। साथै, विद्युतीय (ईभी) गाडीको बढ्दो प्रयोगका कारण पेट्रोलको बिक्रीमा ठूलो उतारचढाव नआएको उहाँको भनाइ थियो।

    कार्यक्रममा एशोसियसनका निर्वतमान अध्यक्ष प्रेम न्यौपानेले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति समवेदना व्यक्त गर्दै प्रभावित नागरिकको पीडामा सबै नेपाली एकजुट भएर सहयोग गर्नुपर्ने बताउनुभयो।

    राहत कोषमा सहयोग गर्ने व्यवसायीमध्ये प्रेमराज गैरेले ५ लाख ५५ हजार ५५५ रुपैयाँ, भरतजंग कुँवरले २ लाख ११ हजार १११ रुपैयाँ, मंगलप्रसाद मानन्धरले १ लाख ६४ हजार रुपैयाँ, हिमाल गैरेले १ लाख ५३ हजार रुपैयाँ, रियाज मोहम्मदले १ लाख ५१ हजार ५०० रुपैयाँ, मोहम्मद अनिसले १ लाख ५१ हजार रुपैयाँ, रत्ना काउचाले १ लाख ११ हजार १११ रुपैयाँ, रिखु जोशीले १ लाख १० हजार ५५५ रुपैयाँ, यमप्रसाद पोखरेलले १ लाख ५ हजार ५५५ रुपैयाँ, सन्तबहादुर पौडेलले १ लाख १ हजार ६९९ रुपैयाँ, कमल थापाले १ लाख २ हजार रुपैयाँ, लोकप्रसाद भुसालले १ लाख १ हजार १११ रुपैयाँ, नवराज भट्टराईले १ लाख १ हजार रुपैयाँ, सुनिल थापाले १ लाख ५८१ रुपैयाँ र इस्लाम खानले १ लाख रुपैयाँ सहयोग गर्नुभएको छ।

    कार्यक्रम एशोसियसनका महासचिव डासीराम अधिकारीले सञ्चालन गर्नुभएको थियो।



    lumbinisanjal   
  • २०८३ भाद्र २८, आईतवार १८:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP