• २०८३ भाद्र २९ | Mon, 14 Sep 2026
  • Dark Mode

          Subscribe

    धेरै स्थानमा पानी पर्ने, यी प्रदेशमा भारी वर्षाको सम्भावना

    • lumbinisanjal
    • २०८३ भाद्र १२, शुक्रबार ०८:४०
    208
    SHARES
    धेरै स्थानमा पानी पर्ने, यी प्रदेशमा भारी वर्षाको सम्भावना

    बुटवल । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार दिउँसो तथा राति पनि मध्यममदेखि भारीसम्म वर्षाको सम्भावना देखिएको जनाएको छ।

    मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेश साथै कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    यसैगरी राति पनि देशभर साधारणतया बादल लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा  लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। मधेस प्रदेश तथा कोसी र बागमती प्रदेशका तराई भूभागका केही स्थानमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    काठमाडौँ उपत्यकामा मध्यम वर्षाको सम्भावना

    आज देशका विभिन्न स्थानसँगै काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना रहेको मौसम महाशाखाका मौसमविद्ले बताएका छन्।

    मौसम महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकामा अपराह्नतिरबाट वर्षा सुरु हुने सम्भावना छ।

    ‘अहिले बिहान काठमाडौँ उपत्यकाको आकाशमा आंशिक बादल लागेको छ। तर दिउँसोबाट बादल बढ्दै जाने र त्यस्तै २/३ बजेपछि मध्यम वर्षा हुने सम्भावना छ। राति पनि वर्षाको सम्भावना छ’, उनले नेपालखबरसँग भने।

    हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

    मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

    यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

    एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

    मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

    अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

    यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

    अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।



    lumbinisanjal   
  • २०८३ भाद्र १२, शुक्रबार ०८:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP