• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    गर्मी छल्न जानैपर्ने गन्तव्य : गुल्मीको ‘विचित्र गुफा’ जहाँ प्रकृतिले आफैं कोरेकी छ अद्भुत कला

    • lumbinisanjal
    • २०८३ जेष्ठ २४, आईतवार १४:२२
    0
    SHARES
    गर्मी छल्न जानैपर्ने गन्तव्य : गुल्मीको ‘विचित्र गुफा’ जहाँ प्रकृतिले आफैं कोरेकी छ अद्भुत कला

    बुटवल ,२४ जेठ । गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तुस्थित कमलावनको काखमा रहेको ‘विचित्र गुफा’ प्रकृतिले आफ्नै हातले सिर्जना गरेको अनुपम कलाकृति हो। गर्मीयाममा शीतलता र जाडोयाममा न्यानोपनको अनुभूति दिलाउने यो गुफा प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा जैविक दृष्टिले अत्यन्त महत्वपूर्ण सम्पदाका रूपमा परिचित छ।

    वि.सं. २०४५ साल असार ५ गते स्थानीय बासिन्दाले बाँदर लखेट्दै जाँदा संयोगवश पत्ता लगाएको यो गुफा आज गुल्मीकै एक आकर्षक पर्यटकीय तथा धार्मिक गन्तव्यका रूपमा विकास हुँदै गएको छ। शिवधामका रूपमा समेत चिनिने विचित्र गुफा कालिकास्थान र धनार्जीको बीचमा अवस्थित छ।

    गुफाभित्र प्रवेश गरेपछि प्रकृतिले हजारौं वर्ष लगाएर बनाएका अद्भुत आकृति, चुनढुङ्गाका कलात्मक बुट्टा, विशाल कक्ष तथा रहस्यमय संरचनाले जो–कोहीलाई मोहित बनाउँछन्। गुफाका विभिन्न कक्षमा नरसिंह अवतार, शेषनाग, शिवलिङ्ग, पार्वतीको प्रतीक, रावणको रथ, जटायुले आक्रमण गरेको दृश्य, गणेशको मूर्ति, गौमाताका थुन तथा अन्य अनेकौं प्राकृतिक आकृतिहरू देख्न सकिन्छ।

    करिब १८५ मिटर लम्बाइ र ६० फिटभन्दा बढी उचाइमा फैलिएको यो गुफाभित्र एकैपटक पाँच सयभन्दा बढी मानिस अटाउन सक्ने विशाल कक्षहरू छन्। अहिलेसम्म गुफाको दुई तलासम्म मात्रै अध्ययन भएको छ भने अझै गहिराइमा थप रहस्य र कलात्मक संरचनाहरू लुकेका हुन सक्ने अनुमान गरिएको छ।

    गुफा विश्वकै दुर्लभ प्रजातिका चमेराहरूको सुरक्षित बासस्थान पनि हो। संरक्षणका लागि गठन गरिएको विचित्र गुफा संरक्षण तथा विकास समितिले सडक, रेलिङ, खानेपानी, सूचना केन्द्र, डस्टबिन व्यवस्थापनलगायतका पूर्वाधार निर्माणका काम अघि बढाएको छ।

    समितिका अध्यक्ष सन्तोष गौतमका अनुसार गुफालाई राष्ट्रियस्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ थप पूर्वाधार निर्माण भइरहेको छ। गुफा नजिकै ३७० मिटर लामो पर्यटकीय झोलुङ्गे पुल निर्माणले यस क्षेत्रको आकर्षण बढाएको उल्लेख गरे ।

    विशेषगरी कात्तिकदेखि चैतसम्म आन्तरिक पर्यटकको उल्लेख्य चहलपहल रहने यस गन्तव्यले गर्मीको मौसममा शीतलता खोज्ने यात्रुका लागि झन् उत्कृष्ट अनुभव प्रदान गर्दछ। प्रकृतिको अनुपम कला, धार्मिक आस्था र रहस्यमय संरचनाको संगम बनेको विचित्र गुफा एकपटक पुग्नैपर्ने गुल्मीको अनमोल सम्पदा हो।

    तम्घासबाट सेउघा–छल्दीपनाहा–हुलाके हुँदै धनार्जीसम्म १८ किलोमिटर पक्की सडक यात्रा गरेपछि गुफा पुग्न सकिन्छ भने तम्घास -पनाहाघाट- जैशिथोक – बस्तुको बजार हुदै गुफा पुग्न सकिन्छ ।  धनार्जीबाट सवारीमार्फत करिब १० मिनेट तथा केही पैदल यात्रापछि यो अद्भुत गन्तव्यमा पुग्न सकिन्छ भने बस्तु बजारबाट सवारीमा १० मिनेटको यात्रा गरेपछी गुफा पुग्न सकिन्छ ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ २४, आईतवार १४:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP