• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    ठुलोभर्‍याङबाट क्यूआर कोडयुक्त लाइसेन्स वितरण सुरु, बिदामा पनि सेवा

    • lumbinisanjal
    • २०८३ बैशाख १४, सोमबार १६:३२
    598
    SHARES
    ठुलोभर्‍याङबाट क्यूआर कोडयुक्त लाइसेन्स वितरण सुरु, बिदामा पनि सेवा

    काठमाडौँ ,१४ वैशाख । यातायात व्यवस्था कार्यालय, ठुलोभर्‍याङ (काठमाडौँ) ले क्यूआर कोडमा आधारित नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणको काम सुरु गरेको छ । यातायात व्यवस्था विभागबाट प्रिन्ट भएका कार्ड प्राप्त भएपछि कार्यालयले सार्वजनिक बिदाको दिन (शनिबार) देखि नै सेवाग्राहीलाई लाइसेन्स वितरण थालेको हो ।

    कार्यालयका सूचना अधिकारी कुलबहादुर बस्नेतका अनुसार हाल ४० हजारभन्दा बढी कार्ड वितरणको चरणमा रहेका छन् । सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै बिदाको दिनमा समेत कार्यालय खुला राखेर सेवा प्रवाह गरिएको उनले जानकारी दिए । “हामीले शनिबारदेखि नै कार्ड वितरण थालेका हौँ,” बस्नेतले भने, “आइतबार सार्वजनिक बिदा परे पनि हामीले दिउँसो २ बजेसम्म सेवाग्राहीलाई कार्ड वितरण गर्नेछौँ । अहिले कार्ड वितरणको काम भइरहेको छ ।” कार्यालयले विशेषगरी सन् २०२२ यता प्रिन्ट हुन बाँकी रहेका कार्ड वितरण गरिरहेको छ ।

    यसका साथै नवीकरण वा ट्रायल पास गरी राजस्व बुझाएकै दिन ‘२४ घण्टाभित्र उपलब्ध गराउने प्रतिबद्धता’ सहितका नयाँ आवेदनका कार्ड पनि वितरण भइरहेको कार्यालयले जनाएको छ । ठुलोभर्‍याङ कार्यालयबाटै ट्रायल परीक्षा उत्तीर्ण गरेका वा नवीकरणका लागि आवेदन दिएका सेवाग्राहीले यो सेवा लिन सक्नेछन् । लाइसेन्स लिन जानुअघि सेवाग्राहीले आफ्नो कार्ड प्रिन्ट भए/नभएको भने यकिन गर्नुपर्नेछ । कार्ड लिनका लागि राजस्व बुझाएको सक्कल रसिद, पुरानो कार्डसहित सेवाग्राही स्वयँ कार्यालयमा उपस्थित हुनुपर्छ ।



    lumbinisanjal   
  • २०८३ बैशाख १४, सोमबार १६:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP