• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    इरानसँग वार्ताका लागि इस्लामाबादमा प्रतिनिधिमण्डल पठाउँदै ट्रम्प

    • lumbinisanjal
    • २०८३ बैशाख ७, सोमबार ०५:०५
    975
    SHARES
    इरानसँग वार्ताका लागि इस्लामाबादमा प्रतिनिधिमण्डल पठाउँदै ट्रम्प

    काठमाडौं ,७ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दोस्रो चरणको वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल पाकिस्तान पुग्ने दाबी गरेका छन् ।

    सोमबार उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल इस्लामाबाद पुग्ने दाबी ट्रम्पले गरेका हुन् ।”सोमबार साँझसम्म अमेरिकी प्रतिनिधिमण्डल इस्लामाबाद पुग्नेछन्,” ट्रम्पले ट्रुथमा लेेखेका छन् ।

    यसपटकको वार्ता फलदायी हुने विश्वास ट्रम्पको छ ।”यसपटक अमेरिकाले निकै उचित सम्झौताको प्रस्ताव गरिरहेको छ । म आशा गर्छु उनीहरूले स्वीकार गर्नेछन् । अन्यथा अमेरिकाले इरानका ऊर्जा पूर्वाधार र पुल ध्वस्त बनाउनेछ,” ट्रम्पको भनाइ छ ।

    सम्झौता नभएको खण्डमा इरानलाई समाप्त पार्ने धम्की ट्रम्पले फेरि दिएका छन् । ”वार्ता असफल भयो भने त्यहाँ कोही बाँच्नेछैनन्,” उनले भनेका छन् ।

    यता इरानले भने अमेरिकासँग दोस्रो चरणको वार्ताको संभावना नरहेको बताएको छ । वार्ताका लागि न्यून प्रगति भएको इरानी सभामुख मोहम्मद बागर गलिबाफले बताएका छन् ।

    आधारभूत विषयमा नै सहमति कायम हुन नसकेको उनले बताएका छन् । यसका कारण युद्धको जोखिम फेरि बढेको उनको भनाइ छ ।

    शनिबार राति राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै उनले भनेका थिए,”वार्ताको वातावरणका लागि आधारभूत विषयमा सहमति आवश्यक हुन्छ । तर त्यसमा निकै दुरी छ । दोस्रो चरणको वार्ताका लागि हामी निकै पर छौँ,” सम्बोधनको उनको अंश उद्दृत गर्दै अलजजिराले बताएको छ ।

    अमेरिकाले इरानले परमाणु कार्यक्रम बन्देज गर्नुपर्ने सर्त राखिरहेको छ । यता इरानी राष्ट्रपति मसुद पेजिसकियनले इरानी अधिकार खोस्ने अमेरिकी प्रयत्न न्यायोचित नरहेको र उक्त प्रस्ताव अस्वीकार्य रहेको बताएका छन् ।”इरानको कुन अपराधका लागि ट्रम्पले परमाणु कार्यक्रम बन्द गर्न भनेका हुन् । एक सार्वभौम राष्ट्रको अधिकारमा हस्तक्षेप गर्ने ट्रम्प को हुन् ?” उनको प्रश्न छ।

    इरानको परमाणु कार्यक्रम र स्ट्रेट अफ होर्मुजको भविष्यले वार्तामा जटिलता थपिरहेको छ । यदि अमेरिका सहमतिको भावनाभन्दा बढी सर्त लाद्ने गरी वार्तामा आएमा युद्धविराम कायम रहन नसक्ने इरानको बुझाइ छ ।

    त्यसपछिको परिणामको सामना लागि इरान तयार रहेको चेतावनी सभामुख गलिबाफले दिएको अलजजिराले जनाएको छ । इरान र अमेरिकाबीचको १५ दिने युद्धविरामको म्याद अप्रिल २३ मा समाप्त हुँदैछ ।

    यसैबीच वार्ताको मध्यस्थकर्ता गर्दै आएको पाकिस्तानले इरानी पक्षसँग संवाद जारी राखेको छ । प्रधानमन्त्री शहबाज शरिफले इरानी राष्ट्रपति पेजिसकियनसँग संवाद गरेका छन् ।

    उक्त संवादमा उनले टर्की. इजिप्ट. साउदी अरबसँग भएको कुराकानीबारे जानकारी गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् ।

    पाकिस्तानले वार्ता परिणाममुखी बनाउन र स्थायित्व र शान्तिका लागि पहल जारी राख्ने प्रतिबद्धता समेत जनाएको छ ।



    lumbinisanjal   
  • २०८३ बैशाख ७, सोमबार ०५:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP