• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    अनुमतिविनै गर्भपतन गरिँदा बुटवलमा महिलाको मृत्यु, तीन क्लिनिकको लापरबाहीमा अनुसन्धान तीव्र

    • lumbinisanjal
    • २०८३ बैशाख ९, बुधबार ११:३४
    1.3K
    SHARES
    अनुमतिविनै गर्भपतन गरिँदा बुटवलमा महिलाको मृत्यु, तीन क्लिनिकको लापरबाहीमा अनुसन्धान तीव्र

    बुटवल, ९ बैशाख । बुटवलमा गर्भपतन सेवा सञ्चालनको अनुमति नै नलिएका तीन स्वास्थ्य संस्थामा गरिएको उपचारका क्रममा एक गर्भवती महिलाको ज्यान गएपछि घटनाले गम्भीर मोड लिएको छ। घटनापछि प्रहरी र सम्बन्धित निकायले अनुसन्धान तीव्र पारेका छन्।
    पाल्पाको बगनासकाली गाउँपालिका–२ की ३१ वर्षीया गीता पाण्डेको असुरक्षित रूपमा गर्भपतन गराउने क्रममा मृत्यु भएको पुष्टि भएको छ। प्रारम्भिक अनुसन्धानले इन्दुलेखा क्लिनिक, खत्री नर्सिङ होम र जोनल फार्मेसीमा अनुमति बिना नै औषधि प्रयोग गरी गर्भपतन गराइएको देखाएको छ।
    इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार इन्दुलेखा क्लिनिक औषधि बिक्रीका लागि मात्र दर्ता भएको देखिए पनि गर्भपतन सेवा सञ्चालनको अनुमति भने लिएको पाइएन। “कसले औषधि प्रयोग गर्‍यो, बिरामीलाई त्यहाँ कसले पठायो भन्ने विषयमा गम्भीर अनुसन्धान भइरहेको छ,” उनले बताए।
    त्यस्तै, खत्री नर्सिङ होममा पनि गर्भपतन सेवा सञ्चालनको अनुमति नभएको खुलेको छ। यद्यपि त्यहाँ स्त्रीरोग विशेषज्ञबाट प्रारम्भिक जाँच भएको देखिएको प्रहरीले जनाएको छ। जोनल फार्मेसीमा समेत गाइने चिकित्सकको संलग्नता देखिएको प्रारम्भिक निष्कर्ष छ।
    मृतक पाण्डेले चैत २७ गते प्रारम्भिक जाँच गराएकी थिइन् भने वैशाख ५ गते फलोअपका लागि खत्री नर्सिङ होम पुगेकी थिइन्। त्यहाँबाट अन्यत्र जान सल्लाह पाएपछि उनीहरू जोनल फार्मेसी हुँदै अन्ततः इन्दुलेखा क्लिनिक पुगेका थिए। सोही स्थानमा औषधि प्रयोग गरिएपछि उनको स्वास्थ्य अवस्था अचानक जटिल बनेको थियो।
    अवस्था बिग्रिएपछि उनलाई लुम्बिनी सिटी अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए।
    घटनापछि पीडित परिवारले पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका छन्। प्रहरीले जोनल हेल्थ क्लिनिककी सन्ध्या बस्नेत, जोनल फार्मेसीकी निलम घर्तीमगर र इन्दुलेखा क्लिनिकका खगेन्द्र पाण्डेलाई नियन्त्रणमा लिएको जनाएको छ।
    स्वास्थ्य निर्देशनालय लुम्बिनीका निर्देशक रोशनलाल चौधरीले सम्बन्धित तीनै संस्थाले गर्भपतन सेवा सञ्चालनका लागि आवश्यक अनुमति नलिएको स्पष्ट पारे। “संस्था दर्ता हुनु मात्र पर्याप्त हुँदैन, यस्तो संवेदनशील सेवा सञ्चालनका लागि छुट्टै अनुमति अनिवार्य हुन्छ,” उनले भने।
    पीडित परिवारले एक क्लिनिकबाट अर्कोमा रिफर गर्दै जिम्मेवारीबाट पन्छिने र असुरक्षित तरिकाले औषधि प्रयोग गर्ने लापरबाहीका कारण ज्यान गएको आरोप लगाएका छन्। घटनापछि आक्रोशित आफन्तले खत्री नर्सिङ होम र इन्दुलेखा क्लिनिकमा ताला लगाएका छन्।
    प्रहरीले घटनाको सम्पूर्ण पाटोबाट अनुसन्धान भइरहेको जनाएको छ।

    खत्री नर्सिङ होमका मेडिकल सुपरिटेन्डेन्ट डा.सिमा खत्रीका अनुसार खत्री नर्सिङ होममा असुरक्षित गर्भपतनको कुनै केश पनि नगरिएको बताइन । साथै उनले हामिले कोहि बुझ्न आउनुभो भने मेरी स्टप सेन्टरमा पठाउने जानकारी दिइन।



    lumbinisanjal   
  • २०८३ बैशाख ९, बुधबार ११:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP