• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    इस्माले ल्यायो ४९ करोड ५२ लाखको बजेट

    • lumbinisanjal
    • २०८२ असार १०, मंगलवार १३:३८
    2.8K
    SHARES
    इस्माले ल्यायो ४९ करोड ५२ लाखको बजेट

    गुल्मी ,१० असार । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४९ करोड ५२ लाख ३७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

    गाउँपालिकाको १८औं गाउँसभामा उपाध्यक्ष पार्वती कुँवरले उक्त बजेट प्रस्तुत गर्दै नीति तथा कार्यक्रमसँगै जनताको अपेक्षा समेट्ने खालको विकासमुखी बजेट रहेको जानकारी दिइन् ।

    बजेट अनुसार पुँजीगततर्फ ३१ करोड ८२ लाख ८८ हजार ८१९ रुपैयाँ र चालुतर्फ १७ करोड ६९ लाख ४८ हजार १८० रुपैयाँ विनियोजन गरिएको छ । पालिकाले पूर्वाधार विकास, कृषि सुधार, शिक्षा र स्वास्थ्य सेवा विस्तारमा विशेष जोड दिइएको छ ।

    गाउँपालिकाले कृषिमा आधुनिकीकरण, व्यावसायीकरण र स्वरोजगारमुखी कार्यक्रम ल्याएको छ । कृषकलाई सहज बनाउन सामूहिक कृषि फार्महरूलाई प्रोत्साहन दिइने, रैथाने बालीको संरक्षण गरिने र उत्पादनको सञ्जाल विस्तार गरिने बताइएको छ ।

    पछिल्लो समय किसानहरू बाँदरको आतङ्कले त्रसित हुँदै आएका छन् । अन्नबाली नष्ट गरिदिने बाँदर नियन्त्रणका लागि अध्ययन, अनुसन्धान र दीर्घकालीन समाधानको नीति तयार पारिने पनि बजेटमा उल्लेख छ ।

    साथै, उत्कृष्ट कृषकलाई पुरस्कारद्वारा सम्मान गरी थप प्रोत्साहन दिने योजना पनि समावेश गरिएको छ । शिक्षा क्षेत्रमा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई सम्मान गर्ने योजना अघि सारिएको छ ।

    विद्यार्थीलाई प्रेरित गर्ने खालका कार्यक्रम, प्राविधिक तथा व्यवहारिक शिक्षाको पहुँच वृद्धि, विद्यालय सुधार योजनामा बजेट विनियोजन गरिएको छ । पालिकाभित्रका जेष्ठ नागरिकको घरमै पुगेर नि:शुल्क स्वास्थ्य परीक्षण गरिने कार्यक्रम बजेट समावेश गरिएको छ ।

    ‘एक घर एक धारा’ अभियानमार्फत सुरक्षित खानेपानीको पहुँच विस्तार गर्न बजेटमा समेटिएको छ । गाउँपालिकाले पर्यटन क्षेत्रको विकासलाई पनि बजेटमार्फत प्राथमिकता दिएको छ ।

    इस्मामा रहेका ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदाहरूको संरक्षण, प्रचारप्रसार र पूर्वाधार विकास गर्ने योजनासहित बजेट निर्माण गरिएको हो । त्यस्तै, ‘विदेश होइन, बिजनेसमा’ भन्ने मूल नारासहित स्थानीयस्तरमा उद्यमशीलता विकास गर्न स्वरोजगारमूलक कार्यक्रमहरू ल्याइएको उपाध्यक्ष कुँवरले जानकारी दिइन् ।

    वैदेशिक रोजगारमा गएकाहरूलाई लक्षित गर्दै पुन:स्थापना कार्यक्रम, सीपमूलक तालिम, कृषि तथा घरेलु उद्योग सञ्चालनमा सहजीकरण जस्ता योजनाहरू पनि समावेश गरिएको छ ।

    विकास निर्माणसँगै जनताको दैनिकीमा प्रत्यक्ष प्रभाव पार्ने योजना समावेश गरिएकाले यो बजेटले गाउँको रुपान्तरणमा सहयोग पुग्ने अपेक्षा गरिएको उपाध्यक्ष कुँवरले बताइन् ।



    lumbinisanjal   
  • २०८२ असार १०, मंगलवार १३:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP