• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    गुल्मीको धुर्कोटमा उत्पादन भएको ‘धुर्कोटे बेसार’ बजारमा 

    • lumbinisanjal
    • २०८२ असार ७, शनिबार २०:००
    11K
    SHARES
    गुल्मीको धुर्कोटमा उत्पादन भएको ‘धुर्कोटे बेसार’ बजारमा 

    बासुदेव पोखरेल/ ०७ असार, गुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा पहिलो पटक स्थानीय स्रोत र सीपको भरमा उत्पादन गरिएको ‘धुर्कोटे बेसार’ अब औपचारिक रूपमा बजारमा प्रवेश गरेको छ।

    शनिबार एक विशेष कार्यक्रमका बीच हिमचुली कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडले २५० ग्राम तौल भएको प्याकेट बेसार सार्वजनिक गरेको हो।

    कार्यक्रममा गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले  बेसारको शुभारम्भ गर्दै भन्नुभयो

    “गुणस्तरीय, शुद्ध र स्वादिलो यो बेसारले बजारमा राम्रो स्थान बनाउनेछ। गाउँपालिकाले यस्ता उत्पादनमा सधैं साथ दिनेछ।अब हामी गाउँमै उत्पादन गरी जिल्ला, प्रदेश र राष्ट्रिय बजारमा धुर्कोटे ब्रान्ड बनाउन लागिपरेका छौं,” उहाँले बताउनुभयो ।

    गाउँपालिकाका उपाध्यक्ष सीता गिरीले यो परियोजना महिलाहरूको आत्मनिर्भरताको सशक्त प्रमाण भएको बताउनुभयो। “हामी अब अरूको मुख ताक्ने अवस्था छैन, आफ्नै मिहिनेतबाट उत्पादन गरेर बजारसम्म पुग्न सक्छौं,” उहाँको भनाइ थियो।

    प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले देश–बजारमा रहेका धुर्कोटेहरूले मात्रै यो बेसार खरिद गरे पनि बेसारको फराकिलो बजार रहेको उहाँले बताउनुभयो । “बजारको दायरा बढाउने हो भने यो उत्पादनले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ,” उहाँको भनाइ थियो।

    कार्यक्रममा वडा नं. ४ का अध्यक्ष वीरबहादुर जोगी कुँवरले भन्नुभयो — “यो जैसीथोकको गौरव हो, सहकारीलाई वडाले जतिबेला पनि साथ दिनेछ।”

    सहकारी अध्यक्ष सीता गुरुङले स्थानीय कृषि उत्पादनको संरक्षण, प्रवर्द्धन र बजारीकरणमा सहकारीको अग्रणी भूमिका रहेको र धुर्कोट बेसारलाई सहकारी मार्फत बजारिकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

    ‘धुर्कोटे बेसार’ उत्पादनका लागि धुर्कोट गाउँपालिका आर्थिक तथा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा आवश्यक आधुनिक उपकरण सहयोग ८० प्रतिशत धुर्कोट  गाउँपालिकाले प्रदान गरेको छ भने बाँकी २० प्रतिशत सहकारीले आफ्नो स्रोतबाट व्यवस्थापन गरेको हो।

    ‘ यस धुर्कोटे बेसारको बजारिकरण र गुणस्तर परीक्षण को सहयोग हेफर प्रोजेक्ट नेपाल’ ले गर्ने परियोजना संयोजक भरत भण्डारी ले बताउनु भयो ।

    सहकारीले आगामी दिनमा सम्पूर्ण स्थानीय किसानबाट कच्चा बेसार उचित मूल्यमा खरिद गर्ने योजना बनाएको छ। उत्पादन ‘धुर्कोटे बेसार’ ब्रान्ड अन्तर्गत प्याकेजिङ गरी जिल्लाभित्र मात्र होइन, देशभर नै विस्तार गरिनेछ।

    यो पहलले गाउँको स्रोत, श्रम र सीपलाई मूर्तरूप दिई आर्थिक सशक्तीकरणतर्फ लम्कने मार्ग देखाएको छ। यसले “उत्पादन गाउँमै, उपभोग देशभर” भन्ने नारालाई सार्थकता दिने अपेक्षा गरिएको छ।



    lumbinisanjal   
  • २०८२ असार ७, शनिबार २०:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP