• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    किसान र कर्मचारीलाई जोड्दै धुर्कोटमा सामाजिक सुरक्षा योजना सुरु

    • lumbinisanjal
    • २०८२ चैत्र १५, आईतवार २१:५५
    1.5K
    SHARES
    किसान र कर्मचारीलाई जोड्दै धुर्कोटमा सामाजिक सुरक्षा योजना सुरु

    कोषसँग सम्झौता, करार कर्मचारीदेखि किसानसम्म समेटिने
    कपिल पाण्डे / गुल्मी, १५ चैत  । सामाजिक सुरक्षा प्रणालीलाई स्थानीय तहसम्म विस्तार गर्ने उद्देश्यका साथ सामाजिक सुरक्षा कोष र धुर्कोट गाउँपालिका बीच योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।

    सम्झौताअनुसार औपचारिक क्षेत्रतर्फ करारका कर्मचारी, नगर प्रहरी, विद्यालय कर्मचारी तथा बालविकास सहयोगीलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गरिनेछ। यस्तै, अनौपचारिक क्षेत्रतर्फ व्यावसायिक किसान र साना उद्यमीलाई समेत कोषमा जोड्ने कार्यक्रम अघि बढाइने गाउँपालिकाले जनाएको छ।

    सम्झौता कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल, उपाध्यक्ष सीता गिरी, प्रमुख प्रशासकीय अधिकृत रुद्र पछाई तथा सामाजिक सुरक्षा कोषका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    गाउँपालिका अध्यक्ष पोख्रेलले सामाजिक सुरक्षाको दायरा फराकिलो बनाउने दिशामा यो सम्झौता महत्वपूर्ण कदम भएको बताए। स्थानीय तहका कर्मचारीदेखि किसान र उद्यमीसमेतलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु आजको आवश्यकता रहेको उल्लेख गरे ।

    यस समझदारीले धुर्कोटका नागरिकलाई भविष्यमा आर्थिक सुरक्षा र सामाजिक संरक्षण प्रदान गर्ने विश्वास लिएका छौँ उनले भने । योजनाको प्रभावकारी कार्यान्वयनका लागि गाउँपालिकाले आवश्यक सहजीकरण र समन्वय गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

    गाउँपालिकाले यस कार्यक्रममार्फत श्रम गर्ने सबै वर्गलाई सामाजिक सुरक्षाको पहुँचमा ल्याउँदै सुरक्षित र सम्मानजनक जीवन सुनिश्चित गर्ने लक्ष्य लिएको जनाएको छ।



    lumbinisanjal   
  • २०८२ चैत्र १५, आईतवार २१:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP