• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    घरदैलोमा सुख-दु:ख साट्दै  लेखजंग थापा, रुपन्देही–३ मा भावुक चुनावी अभियान

    • lumbinisanjal
    • २०८२ फाल्गुन १४, बिहीबार १७:४२
    1.3K
    SHARES
    घरदैलोमा सुख-दु:ख साट्दै  लेखजंग थापा, रुपन्देही–३ मा भावुक चुनावी अभियान

    भैरहवा, फागुन १४ । रुपन्देही क्षेत्र नं. ३ मा चुनावी सरगर्मी बढ्दै जाँदा उम्मेदवारहरूको भीडबीच लेखजंग थापा फरक शैलीका कारण चर्चामा छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका डा. थापाका लागि यो चुनाव केवल सत्ताको प्रतिस्पर्धा नभई समाजको पीडा बुझ्ने संवेदनशील यात्राका रूपमा देखिएको छ।

    घरदैलो अभियानका क्रममा उनी मतदाताको आँगनमा पुगेर औपचारिक भाषणभन्दा बढी उनीहरूको दुःख–सुख सुन्ने गर्छन्। क्षेत्रका ३६ वटै वडामा पुग्दा उनलाई कतै उम्मेदवार त कतै अभिभावकको रूपमा स्वागत गरिएको छ।

    सिद्धार्थनगर नगरपालिका–९ का मनिष श्रेष्ठ भन्छन्, “वर्षौँदेखि नेता छान्यौँ, तर यसपटक अभिभावक जस्तो व्यक्ति भेटिएको छ। उहाँको भिजन र व्यक्तित्वले परिवर्तनको आशा जगाएको छ।”
    सियारी गाउँपालिका–२ का समरेश कहारले पनि डा. थापाप्रति अटुट विश्वास व्यक्त गरे। “डाक्टर साब जस्तो इमान्दार मान्छे हाम्रो क्षेत्रमा आउनु नै ठूलो कुरा हो। उहाँलाई भोट मात्र होइन, पूर्ण साथ दिन तयार छु,” उनले भने।

    नागरिकका यस्ता अभिव्यक्तिले डा. थापालाई भावुक बनाउने गरेको छ। समर्थकहरूले समयको चाप सम्झाउँदा पनि उनी आँगनमै बसेर नागरिकका सानादेखि ठूला समस्या सुन्न रुचाउँछन्। कतै बिरामीको नाडी जाँच गर्छन्, कतै औषधि सेवनको तरिका सम्झाउँछन्।

    घरदैलोका क्रममा उनले स्वास्थ्य सेवाको अभावसँगै गरिबी, लालपूर्जाविहीन सुकुम्बासीको समस्या, बेरोजगारी र विकासका अधुरा कामहरू प्रत्यक्ष देखेका छन्। यसबारे उनले भने, “अस्पतालमा बसेर बिरामीको पीडा बुझ्थें, तर घरदैलोले समाजको गहिरो अवस्था देखायो। संसदमा पुगेपछि नीति निर्माण गर्दा यही अनुभव मार्गदर्शक बन्नेछ। जनताको मर्म नबुझी प्रतिनिधित्व सम्भव हुँदैन।”

    उनको ‘लग बुक’ मा अहिले औषधिको सूचीभन्दा बढी नागरिकका समस्या र अपेक्षाका टिपोट छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल को सुनसान आकाशदेखि गाउँका रित्तिँदै गएका चुल्होसम्मका दृश्यले उनलाई क्षेत्र विकासका लागि स्पष्ट योजना बनाउन प्रेरित गरेको निकटस्थहरू बताउँछन्।

    नागरिकको भरोसा र उम्मेदवारको संकल्पले यतिबेला रुपन्देही–३ मा चुनावी माहोललाई भावनात्मक र अर्थपूर्ण बनाएको छ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन १४, बिहीबार १७:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP