• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    लेखजंग थापाको घरदैलोमा जनलहर: रुपन्देही–३ मा ‘घण्टी’प्रति बढ्दो आकर्षण

    • lumbinisanjal
    • २०८२ फाल्गुन १३, बुधबार १९:३८
    611
    SHARES
    लेखजंग थापाको घरदैलोमा जनलहर: रुपन्देही–३ मा ‘घण्टी’प्रति बढ्दो आकर्षण

    बुटवल, १३ फागुन । अस्पतालको व्यस्त ओपिडी र बिरामीको सेवामा चौबीसै घण्टा खटिने वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापा अचेल रुपन्देहीका सडक र बस्तीहरूमा सक्रिय देखिन्छन्। स्टेथस्कोप र सेतो एप्रोन छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार बनेका थापा फागुन ४ गतेदेखि निरन्तर घरदैलो अभियानमा छन्।

    क्षेत्रका ३६ वडामध्ये २९ वटा वडा पुगिसक्दा उनको अभियानले राजनीतिकसँगै मानवीय स्वरूपसमेत लिएको छ। विशेषगरी विपन्न र पिछडिएका बस्तीहरूमा पुग्दा स्थानीयको सहभागिता उल्लेखनीय देखिएको छ। पुराना दलहरूप्रति वितृष्णा बढेको ठाउँमा समेत ‘घण्टी’ प्रतीकप्रति आकर्षण देखिन थालेको स्थानीयहरू बताउँछन्।

    सियारी गाउँपालिका वडा नं. २ का रामचन्द्र कहार भन्छन्, “वर्षौंसम्म पुराना दललाई हेर्‍यौँ, तर भ्रष्टाचार र बेथितिबाहेक खासै परिवर्तन भएन। अब काम गरेर देखाउने नयाँ नेतृत्व चाहिएको छ।”
    यस्तै धारणा सिद्धार्थनगर नगरपालिका वडा नं. ९ निवासी सावित्रीदेवी केसीको पनि छ। उनी भन्छिन्, “डाक्टर जस्तो बौद्धिक व्यक्तित्व राजनीतिमा आउनु सकारात्मक कुरा हो।

    विकास र रोजगारीको वातावरण बनोस् भन्ने हाम्रो चाहना हो।”
    तर मतदाताका अपेक्षा ठूला भाषणभन्दा आधारभूत आवश्यकतासँग जोडिएका छन्।

    सियारी–६ की लक्ष्मी भण्डारी भन्छिन्, “बाढीपीडितका समस्या हुन् वा वैदेशिक रोजगारीमा ज्यान गुमाएकाको परिवार—सही सल्लाह र सहयोग पाउन गाह्रो छ। गाउँमा सामान्य औषधि समेत पाइँदैन। बजेट आउँछ भनिन्छ, तर आधा वर्षमै सकिन्छ।”

    यसपटकको चुनावी माहोलमा बालेन शाहको प्रभावसमेत चर्चा भइरहेको छ। सिद्धार्थनगर–९ की सिमा सुनार भन्छिन्, “हामी पुराना पार्टीबाट आजित भइसक्यौँ। बालेनजस्तै नयाँ सोच भएका उम्मेदवारप्रति भरोसा छ। काम गरेनन् भने पछि हेर्ला, तर नयाँलाई मौका दिनुपर्छ भन्ने सोच छ।”
    घरदैलो अभियानका क्रममा अधिकांश मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको डा. थापा बताउँछन्। “जनताले मागेका कुरा आकाशका तारा होइनन्—गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र स्थानीय रोजगारी। यी आधारभूत अधिकार सुनिश्चित गर्न पाँच वर्ष पर्याप्त हुन्छ,” उनले भने।

    रुपन्देही–३ मा यसपटकको निर्वाचन केवल प्रतिनिधि चयनको प्रक्रिया मात्र नभई राजनीतिक पद्धतिप्रतिको विश्वास पुनर्स्थापित गर्ने अवसरका रूपमा पनि हेरिएको छ। बाँकी वडाहरूमा अभियानलाई तीव्रता दिने तयारीमा रहेको थापा टोलीप्रति देखिएको उत्साहले चुनावी परिणाम कता मोडिने हो भन्ने चासो थप बढाएको छ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन १३, बुधबार १९:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP