• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    सिद्धार्थनगरमा २ अर्ब लगानीको पाँचतारे ‘एमराल्ड प्यालेस’ होटल निर्माण हुँदै

    • lumbinisanjal
    • २०८२ फाल्गुन ४, सोमबार १५:५८
    2.1K
    SHARES
    सिद्धार्थनगरमा २ अर्ब लगानीको पाँचतारे ‘एमराल्ड प्यालेस’ होटल निर्माण हुँदै

    बुटवल, ०४ फागुन । रुपन्देहीको सिद्धार्थनगर मा पाँचतारे स्तरको ‘एमराल्ड प्यालेस’ होटल निर्माण हुने भएको छ। सन् २०२० जुलाईमा दर्ता भएको यस परियोजना करिब ९६ हजार ६८६.८९ वर्गफुट क्षेत्रफलमा फैलिनेछ।

    कम्पनीका अनुसार सन् २०२५ जुलाई मध्यसम्म होटल निर्माणका लागि २२ करोड ३० लाख रुपैयाँ खर्च भइसकेको छ। होटललाई सन् २०२९ जुलाई मध्यसम्म व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ। परियोजनाको अनुमानित कुल लागत करिब २ अर्ब रुपैयाँ रहेको छ, जसलाई ८०:२० को ऋण–इक्विटी अनुपातमा वित्तीय व्यवस्थापन गरिएको कम्पनीको भनाइ छ। हालसम्म प्रवर्द्धक तर्फबाट ५ करोड रुपैयाँ इक्विटी लगानी भइसकेको छ।

    सन् २०२५ जुलाई मध्यसम्मको तथ्याङ्कअनुसार परियोजनाको वित्तीय प्रगति कुल लागतको करिब ११ प्रतिशतमा सीमित रहेको छ। बैंकबाट १ अर्ब रुपैयाँ ऋणको सहमति प्राप्त भए पनि अहिलेसम्म १९ करोड रुपैयाँ कर्जा मात्र स्वीकृत भएको छ।
    निर्माणाधीन होटल लुम्बिनी बाट करिब २२ किलोमिटर र सुनौली सीमा नजिकै करिब ६ किलोमिटर दूरीमा पर्ने भएकाले धार्मिक तथा आध्यात्मिक पर्यटकलाई लक्षित सेवा प्रदान गर्ने योजना छ।

    होटेलमा १०९ वटा कोठा रहने छन्। साथै, आधुनिक सुविधासहित दुईवटा सम्मेलन कक्ष, दुई बिजनेस सेन्टर, भव्य ब्याङ्क्वेट हल, स्विमिङ पुल, क्यासिनो, जिम र स्पा सञ्चालनमा ल्याइनेछ। कम्पनीले यस होटललाई व्यावसायिक तथा उच्चस्तरीय आतिथ्य सेवाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।
    परियोजनाले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै लुम्बिनी प्रदेशको पर्यटन पूर्वाधार विस्तारमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    को हुन् प्रवर्द्धक ? एमराल्ड प्यालेसका प्रवर्द्धक योगेश घिमिरे हुन्। उनीसँग दुई दशकभन्दा बढीको व्यावसायिक अनुभव छ। घिमिरे लुम्बिनी वल्र्ड स्कुल का अध्यक्ष समेत हुन्, जहाँ प्रि–स्कुलदेखि कक्षा १० सम्मको शिक्षा प्रदान गरिँदै आएको छ।

    शिक्षा क्षेत्रसँगै उनले अटोमोबाइल क्षेत्रमा पनि लगानी विस्तार गरेका छन्। उनी बीवाईडी कारको डिलर कम्पनी ईनलाइटन मोटर्स प्राइभेट लिमिटेडका निर्देशक हुन्। साथै, एभरेस्ट आयल सप्लायर्समार्फत इन्धन आपूर्ति व्यवसायमा समेत उनको संलग्नता रहेको छ। रेष्टुरेन्ट तथा आतिथ्य (हस्पिटालिटी) क्षेत्रमा पनि उनी विभिन्न व्यवसायमार्फत अनुभवी मानिन्छन्।

    यद्यपि परियोजना प्रारम्भिक चरणमै रहेकाले समयमै निर्माण सम्पन्न गर्नु, लागत नियन्त्रण र वित्तीय व्यवस्थापन चुनौतीपूर्ण देखिन्छ। तर तय समयसीमा र लागतभित्र परियोजना सम्पन्न हुन सकेमा यस होटलले लुम्बिनी प्रदेशको पर्यटन तथा आतिथ्य क्षेत्रमा उल्लेखनीय योगदान दिने अपेक्षा गरिएको छ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन ४, सोमबार १५:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP