• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    कांग्रेसको १५ औं महाधिवेशनमा युवाका लागि अवसर र चुनौती

    • lumbinisanjal
    • २०८२ मंसिर २४, बुधबार १४:०२
    4.5K
    SHARES
    कांग्रेसको १५ औं महाधिवेशनमा युवाका लागि अवसर र चुनौती

    ✍️ इश्वर पाण्डे 

    नेपालको सर्वाधिक पुरानो र लोकतान्त्रिक राजनीतिक दल नेपाली कांग्रेस १५औं महाधिवेशनतर्फ अघि बढ्दै गर्दा यसको इतिहास, वैचारिक आधार, संगठनात्मक चरित्र र पछिल्लो Zen Z आन्दोलनले उठाएका प्रश्नहरू फेरि चर्चा–बहसको केन्द्रमा आएका छन्।

    गत केही वर्षयता देखिएको सत्ता-केन्द्रित प्रवृत्ति, पारदर्शिता र जवाफदेहिताको कमी, अनियमितता र भ्रष्टाचारमा दलहरूको संलग्नता, नाताबाद–कृपाबादको बढ्दो प्रभाव, मेरिटोक्रेसीको अभाव, तथा अभिव्यक्ति स्वतन्त्रतामा चुनौती जस्ता कारणहरूले नयाँ पुस्ता—विशेषगरी जेन–जी (Gen-Z)—लाई सडकदेखि सामाजिक सञ्जालसम्म आन्दोलन गर्न बाध्य बनायो।
    यस आन्दोलनले नै कांग्रेसभित्र पनि समयमै महाधिवेशन गर्नुपर्ने र संगठनात्मक रूपान्तरण तथा नेतृत्व पुस्तान्तरण आवश्यक रहेको बहसलाई तीव्र बनायो।

    २००७ सालको क्रान्तिदेखि २०४६ र २०६२/६३ को जनआन्दोलनसम्म देशको लोकतान्त्रिक यात्रामा कांग्रेस अग्रणी शक्ति रहँदै आएको दल हो। संस्थापक नेता बीपी कोइरालाले प्रतिपादन गरेको “प्रजातान्त्रिक समाजवाद”—राजनीतिक स्वतन्त्रता, आर्थिक समानता, सामाजिक न्याय र राष्ट्रिय एकताको मिश्रण—आज पनि कांग्रेसको वैचारिक मेरुदण्ड मानिन्छ।

    तर पछिल्ला वर्षमा युवाले उठाएको Zen Z आन्दोलन कुनै दल-विरोधी अभियान होइन; यो प्रवृत्तिको आलोचना हो—भ्रष्टाचार, पुरानो नेतृत्व शैली, गैर–जवाफदेहिता र कमजोर प्रशासनप्रति युवाले देखाएको असन्तुष्टि हो।

    यही कारणले कांग्रेसको आसन्न १५औं महाधिवेशनमा युवा चेतना, नेतृत्व पुस्तान्तरण, आन्तरिक सुधार, र जवाफदेहिताको दबाब अत्यन्त प्रमुख एजेन्डा बन्ने संकेत छ।

    यस परिप्रेक्ष्यमा हेर्दा, आगामी महाधिवेशन युवाका लागि दुबै प्रकृतिका अवस्था—अवसर र चुनौती—लिएर आएको छ।

    युवाका लागि अवसरहरू

    १. जेन–जी आन्दोलनपछि युवाप्रति विशेष प्राथमिकता
    क्रियाशील सदस्यता नवीकरणमा १८–३० वर्षका युवालाई प्राथमिकता दिइनु पार्टी संरचनामा नयाँ पुस्ता अघि आउने वातावरण हो।

    २. डिजिटल दक्षताले युवालाई जोड्ने फाइदा
    सामाजिक सञ्जाल र प्रविधिको उपयोगले कम समय, कम साधन र कम स्रोतमै आफ्ना विचार संगठन र जनस्तरसम्म पुर्‍याउन युवालाई थप प्रभावकारी बनाएको छ।

    ३. जनतामा युवाप्रतिको अपेक्षा बढेको
    Zen Z आन्दोलनसँगै जनताले राज्यका सबै तहमा युवा नेतृत्व चाहने आवाज अझै बलियो भएको छ।

    ४. ‘होल टाइमर’ भन्दा ‘पार्ट टाइमर’ राजनीति मान्यता बन्दै
    घर–परिवार र दैनिक खर्चको चापका बीच अब राजनीति पूर्ण–समय नभई अंशकालीन भएर पनि गर्न सकिने सोच विस्तारै स्थापित हुँदैछ।

    ५. प्रजातान्त्रिक समाजवादको आधुनिक पुनर्व्याख्या गर्ने अवसर
    करिब सात दशक पुरानो कांग्रेसको वैचारिक आधारलाई आधुनिक सन्दर्भमा पुनर्व्याख्या गरी व्यवहारमा उतार्ने जिम्मेवारी र अवसर युवाकै हातमा छ।

    ६. क्रियाशील सदस्यता शत–प्रतिशत नयाँ बनाउने निर्णय
    यसले पार्टी प्रवेश र सक्रिय भूमिकामा युवाको सहज पहुँच खुलेको छ।

    युवाका लागि चुनौतीहरू:

    १. पुरानो संरचनाबाट हुने अवरोध
    लामो समय संगठन कब्जा गरी बसेका समूहले युवाको नेतृत्व उदयलाई सहजै स्वीकार्ने सम्भावना कम देखिन्छ।

    २. करिअर, परिवार र आयश्रोतका कारण समय अभाव
    व्यावसायिक र पारिवारिक जिम्मेवारीले युवालाई संगठनात्मक गतिविधिमा पूर्ण समय दिन कठिन हुन सक्छ।

    ३. नयाँ विचार कार्यान्वयन गर्न संरचनागत कठिनाइ
    पुरानो मानसिकता, स्रोत–साधनको कमी र संगठनात्मक जटिलताले नयाँ योजनाहरू व्यवहारमा रूपान्तरण गर्न चुनौती दिन्छ।

    ४. युवाप्रतिको अविश्वास: उमेर, अनुभव र स्थायित्वका कारण संगठनभित्रै युवाप्रति पूर्ण भरोसा नहुने परिवेश अझै बाँकी छ।

    ५. अत्यन्त छोटो कार्यतालिकाले चुनाव तयारी जटिल
    ‘रकेट’ जस्तो तालिकाले उम्मेदवार बन्न चाहने युवाले आफ्नो विचार सबै मतदातासम्म पुर्‍याउन नसकिने भन्‍ने चिन्ता बढाएको छ।

    निष्कर्ष

    आगामी १५औं महाधिवेशन कांग्रेसको मात्र नहीं, संपूर्ण नेपाली राजनीतिमा युवाको भूमिका कता मोडिने निर्णायक मोड बन्न सक्छ।
    तर नेतृत्वमा केवल ‘युवा’ हुनु मात्र पर्याप्त हुँदैन—संरचना, संघ–प्रदेश–पालिका सबै तहमा युवालाई वास्तविक जिम्मेवारी दिन सकियो भने मात्रै कांग्रेस पुनः जनताको मन जित्ने प्रमुख विकल्प बन्न सक्छ।

    युवाको ऊर्जा, नवीन सोच र दक्षतासँगै हालै उठेको Zen-z आन्दोलनको मर्मलाई न्याय गर्ने बाटो यही हो।



    lumbinisanjal   
  • २०८२ मंसिर २४, बुधबार १४:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP