• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    गुल्मीमा सुन्तला उत्पादनमा कमी

    • lumbinisanjal
    • २०८२ मंसिर १३, शनिबार ०९:५७
    2.3K
    SHARES
    गुल्मीमा सुन्तला उत्पादनमा कमी

    रमेश विश्वकर्मा/गुल्मी, १३ मङ्सिर  । गुल्मीमा गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । गत वर्ष सात हजार ३६८ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष पाँच हजार १७ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।

    सूचना अधिकारी न्यौपानेका अनुसार गत वर्ष औषतमा २५ करोड ७८ लाख ६९ हजार पाँच सय रुपियाँ बराबरको सुन्तला उत्पादन भएको थियो। यस वर्ष औषतमा २० करोड ६ लाख ७८ हजार चार सय रुपियाँ बराबरको सुन्तला उत्पादन भएको अनुमान गरिएको उहाँले बताउनुभयो। गत वर्ष १३ करोड रुपियाँ बराबरको सुन्तला निर्यात बाहिरी जिल्लामा निर्यात गरिएको थियो । अहिले कति निर्यात भएको भन्ने वास्तविक तथ्याङ्क आउन सकेको छैन । गत वर्ष सुन्तला उत्पादनको उत्पादकत्व ११ दशमलव ९८ मेट्रिक टन प्रति हेक्टर रहेकोमा यस वर्ष आठ दशमलव ३२ मेट्रिक टन प्रति हेक्टर रहेको पाइएको छ ।

    गत वर्षको तुलानमा यस वर्ष ३२ प्रतिशतले सुन्तला उत्पादन घटेको उहाँले बताउनुभयो । अद्यावधिक गर्दा क्षेत्रफल घट्नुका साथै फुल तथा फल लाग्ने बेलामा बेमौसमी वर्षा, कृषकले बगैंचा व्यवस्थापनमा ध्यान नदिनु, फल झर्ने समस्याका कारण सुन्तला उत्पादन घटेको बताइएको छ ।

    त्यसैगरी रोग किराको प्रकोप बढेको, जीर्ण बगैंचा, गाउँ बस्तिमा काम गर्ने जनशक्तिको अभावका कारण पनि सुन्तला उत्पादन घटेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । यस जिल्लामा ९५ प्रतिशतभन्दा बढी सुन्तलाको बगैँचा बिजु बोटका रहेका छन् । बिजु बोटका सुन्तलाहरुले लामो समयसम्म फल दिने गर्दछन् ।

    यहाँका कृषकहरुले परम्परागत रुपमा सुन्तला खेती गर्ने भएका कारण कतिपय अवस्थामा सुन्तलाका फेँद र जरा कुहिने समस्या देखिने गरेको छ । यस जिल्लाका १२ पालिकाअन्तर्गतका विभिन्न वडामा सुन्तलाजात फलफुल जोन कार्यक्रम लागु भएको छ । तत्कालिन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत मदाने गाउँपालिकाको पुर्कोटदह र धुर्कोट गाउँपालिकाको पिपलधारा, सत्यवती गाउँपालिकाको लिम्घा लगायतका विभिन्न ठाउँमा सुन्तला खेतीका लागि चक्लाबन्दी समेत गरिएको छ ।

    गुल्मीमा सुन्तलाका लागि धुर्कोट गाउँपालिकाको नयागाउँ, पिपलधारा, छत्रकोट गाउँपालिकाको लुम्छा, श्रृङ्गा, रेसुङ्गा नगरपालिकाको भाडगाँउ, रुरुक्षेत्र गाउँपालिकाको मुसिडाँडा, चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङ्कोट, गुल्मीदरबार गाउँपालिकाको गौडाकोट, कालीगण्डकी गाउँपालिकाको अर्बेनी, जयखानी, चन्द्रकोटकोट गाउँपालिकाको रेमी, सत्यवती गाउँपालिका र मदाने गाउँपालिकाको भनभने मुख्य पकेट क्षेत्र मानिन्छन् । – गोरखापत्र



    lumbinisanjal   
  • २०८२ मंसिर १३, शनिबार ०९:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP