• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    दर्ता भएका राजनीतिक दलसँग संवाद गर्ने सरकारको तयारी

    • lumbinisanjal
    • २०८२ कार्तिक ९, आईतवार १०:४७
    1.6K
    SHARES
    दर्ता भएका राजनीतिक दलसँग संवाद गर्ने सरकारको तयारी

    काठमाडौं ,९ कार्तिक । सरकारले यही फागुन २१ गतेका लागि तय भएको निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरूसँग संवाद गर्ने तयारी अघि बढाएको छ ।

    पहिलो चरणमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग कार्तिक ४ गते वार्ता गरेसँगै सरकारले दोस्रो चरणको वार्ताको तयारी अघि बढाएको बताइएको छ । नयाँ वर्ष नेपाल संवत् ११४६ को अवसरमा ललितपुरमा आयोजित विशेष सभाको उद्घाटन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले वार्ता र संवादका माध्यमबाट निर्वाचनको वातावरण बनाउन सरकार उद्यत रहेको जानकारी दिनुभयो ।

    अघिल्लो प्रतिनिधिसभामा भाग लिएका र आयोगमा दर्ता भएका सबै दलसँग छलफल गर्ने प्रधानमन्त्रीको कार्यसूची रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । आयोगमा १ सय २४ राजनीतिक दल दर्ता छन् ।

    त्यसै गरी प्रधानमन्त्री कार्कीले निर्वाचनको व्यवस्थापकीय एवं प्राविधिक तयारीका साथै निर्वाचनको वातावरण बनाउने विषयमा पूर्व प्रमुख निर्वाचन आयुक्त, आयुक्त र निर्वाचन पर्यवेक्षकहरूसँग पनि छलफल अघि बढाउने तयारी गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘आयोगले ३० कार्तिकसम्म दल दर्ताको प्रमाणपत्र लिनुपर्ने भनेको छ । जेन–जी आन्दोलनको भावनालाई संस्थागत गरी अघि बढ्नको लागि निर्वाचनबाहेक अरू विकल्प छैन । निर्वाचनको तयारीमा सबैको साथ र सहयोग आवश्यक रहेको छ ।’

    जेन–जी आन्दोलनपछि राजनीतिक दलहरूसँग संवाद नभएको स्थितिमा राष्ट्रपति रामचन्द्र्र पौडेलको अग्रसरतामा सर्वदलीय बैठक बसेसँगै प्रधानमन्त्री कार्कीले संवादको क्रम सुरु गर्नुभएको थियो । निर्वाचन कार्यतालिका सुरु हुने दिन नजिकिँदै गएसँगै सरकारले छलफललाई प्राथमिकता दिनुलाई राजनीतिक दलहरूले सकारात्मक रूपमा लिए पनि शान्ति सुरक्षाको प्रत्याभूतिलाई निर्वाचनको पहिलो शर्तका रूपमा राख्दै आएका छन् ।

    आयोगले मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम तय गरेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहनेछ ।

    फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम रहेको छ । समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८ र १९ गते बन्दसूची पेस गर्ने कार्यक्रम रहेको छ ।



    lumbinisanjal   
  • २०८२ कार्तिक ९, आईतवार १०:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP