• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    गुल्मीको रेसुङ्गामा भूमिहीनका लागि आशा पलायो, नापजाँचसँगै लालपुर्जाको बाटो खुलेको संकेत

    • lumbinisanjal
    • २०८२ श्रावण ५, सोमबार १९:५४
    3.9K
    SHARES
    गुल्मीको रेसुङ्गामा भूमिहीनका लागि आशा पलायो, नापजाँचसँगै लालपुर्जाको बाटो खुलेको संकेत

    गुल्मी ,०५ साउन ।  अब आफ्नै जमिनको सपना देखिरहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि गुल्मीको रेसुङ्गा नगरपालिकाले नयाँ ढोका खोलेको छ। आइतबार नगरपालिकाको वडा नम्बर १३ बाट औपचारिक रूपमा जग्गा नापजाँच कार्यको सुरुवात गरिएको छ।

    नापी, मालपोत र भूमि आयोगका प्राविधिकको सहकार्यमा थालिएको यस अभियानबाट नगरपालिकाभित्र सूचिकृत ३९७ परिवारको जीवनमा परिवर्तन आउने आशा गरिएको छ। तीमध्ये ४८ जना भूमिहीन दलित, ४४ जना भूमिहीन सुकुम्बासी र ३०५ जना अव्यवस्थित बसोबासी छन्।

    कार्यक्रमका अवसरमा रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले नागरिकले बसोबास गरिरहेको जग्गाको लालपुर्जा प्राप्त गर्नु स्वाभिमान र समृद्धिको प्रारम्भिक सूचक भएको बताउँदै ढिलाइ नगरी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरे। ‘यो काम नागरिकको आत्मविश्वाससँग जोडिएको छ, परिणाम देखिनेगरी छिटो नतिजा दिनुपर्छ’, उनले स्पष्ट पारे।

    रेसुङ्गासँगै छत्रकोट र मदाने गाउँपालिकामा पनि जग्गा नापजाँच सुरु भएको छ। जिल्लाभर २,६३३ परिवार लाभग्राही सूचिकृत छन्। सबैभन्दा बढी लाभग्राही मालिका गाउँपालिकामा रहेका छन्, जहाँ ५२७ परिवार यो सूचीमा छन्।

    भूमि आयोग गुल्मीका सदस्य छवि पाण्डेले विभिन्न पालिकामा लाभग्राहीको विवरण प्रस्तुत गरे। मुसिकोटमा ३०९, इस्मामा ३६७, धुर्कोटमा ३१७, रुरुक्षेत्रमा २२३, सत्यवतीमा ६७, गुल्मी दरबारमा ४६ र कालिगण्डकीमा ४२ परिवार सूचिकृत छन्।

    भूमि आयोगका अध्यक्ष कृष्ण सुनारले लालपुर्जा वितरण प्रक्रिया टुंगोमा पुर्‍याउन हाल संसदमा दर्ता रहेको विधेयक तत्काल पारित गर्नुपर्ने आवश्यकता औंल्याए। विधेयक पास भएमा सरकारी वा सार्वजनिक जग्गामा समेत लालपुर्जा वितरण सम्भव हुने भएकाले त्यसले हजारौं परिवारको भविष्य सुनिश्चित गर्ने उनको भनाइ थियो।

    ‘हामी सक्दो छिटो काम गरेर लालपुर्जा दिन तयार छौं, तर कानुनी बाटो खुलेपछि परिणाम दिन सजिलो हुन्छ’, उनले भने।

    यस अभियानसँगै गुल्मीमा भूमिहीनका लागि वास्तविक परिवर्तनको आशा पलाएको छ।



    lumbinisanjal   
  • २०८२ श्रावण ५, सोमबार १९:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP