• २०८३ भाद्र २८ | Sun, 13 Sep 2026
  • Dark Mode

          Subscribe

    जनज्योति आधारभूत विद्यालयको ४५ औं वार्षिकोत्सव, सरस्वती पूजा एवं अक्षराम्भ भव्य रूपमा सम्पन्न

    • lumbinisanjal
    • २०८१ माघ २१, सोमबार १७:०६
    3.1K
    SHARES
    जनज्योति आधारभूत विद्यालयको ४५ औं वार्षिकोत्सव, सरस्वती पूजा एवं अक्षराम्भ भव्य रूपमा सम्पन्न

    बुटवल , २१ माघ । बुटवल उपमहानगरपालिका वडा नम्बर ३ रुपन्देही स्थित जनज्योति आधारभूत विद्यालयले यस वर्ष आफ्नो ४५ औं वार्षिकोत्सव, सरस्वती पूजा एवं अक्षराम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

    ऐतिहासिक अवसरमा विद्यालयले निःशुल्क विद्यार्थी भर्ना अभियान सञ्चालन गर्नुका साथै एक लाख दस हजार असि (१,१०,०८०) रुपैयाँको अक्षयकोष समेत स्थापना गरेको छ, जसमा ११ जना सहयोगी व्यक्तिहरूको महत्वपूर्ण योगदान रहेको छ।

    कार्यक्रमका प्रमुख अतिथिको रुपमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे थिए भने विशिष्ट अतिथिका रूपमा वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु ढकाल उपस्थित थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष सोभाखर पाण्डे (माधव पाण्डे) ले विद्यालयको विकास र विद्यार्थीको हितका लागि विभिन्न नवीन योजनाहरू सार्वजनिक गरे ।

    विद्यालयका प्रधानाध्यापक विज्यु बिसी कार्कीले कार्यक्रममा उपस्थित सबैलाई हार्दिक स्वागत गर्दै विद्यालयको शैक्षिक तथा भौतिक विकासमा अभिभावक, समाजसेवी, तथा स्थानीय सरकारको सहयोग अपरिहार्य रहेको बताइन्। विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष लिला श्रेष्ठ समेत विशेष अतिथिका रूपमा कार्यक्रममा सहभागी थिए ।

    विद्यालयको स्थापनाकालदेखि हालसम्मको यात्रामा विभिन्न चुनौतीहरूसँग सामना गर्दै उल्लेखनीय प्रगति गर्दै आएको छ। सोभाखर पाण्डे (माधव ) विद्यालय व्यबस्थापन समितिको अध्यक्ष भएपछी विद्यालयले निःशुल्क ड्रेस, शैक्षिक सामग्री, तथा अन्य आवश्यक साधनहरू उपलब्ध गराउँदै आएको छ, जसका कारण नया शैक्षिक सत्रमा विद्यार्थीको संख्या वृद्धि हुनुका साथै अभिभावकहरूको आकर्षण समेत बढेको छ।

    कार्यक्रमका अध्यक्ष सोभाखर उर्फ माधव पाण्डेले विद्यालयलाई अझ सशक्त र प्रतिस्पर्धी बनाउन आफू अहोरात्र क्रियाशील रहेको उल्लेख गर्दै, आगामी दिनहरूमा थप गुणस्तरीय शिक्षण प्रणाली लागू गर्ने, शैक्षिक नवाचार ल्याउने, तथा विद्यार्थीहरूलाई आधुनिक स्रोतसाधन उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

    सबैलाई चकित पार्ने गरी उनले वडा अध्यक्ष विष्णु ढकाल र आफू स्वयंले विद्यालयका विद्यार्थीहरूलाई अध्यापन गराउने घोषणा गरे, जसले स्थानीय शिक्षा क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

    कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख खेलराज पाण्डेले विद्यालयको शैक्षिक उन्नतिका लागि आफू सदैव सहयोगी रहने प्रतिज्ञा गर्दै भने— “स्थानीय शिक्षा क्षेत्रलाई अझ सबल बनाउन नगरपालिका कुनै कसर बाँकी राख्ने छैन। विद्यालयको भौतिक पूर्वाधार, प्रविधि, तथा शिक्षण गुणस्तर सुधारमा आवश्यक बजेट तथा नीति निर्माणका लागि विशेष पहल गरिनेछ।”

    त्यसैगरी, बुटवलको गोलपार्क-लक्ष्मीनगर क्षेत्रमा देखिएको पहिरो समस्याको समाधान गर्न विशेष बजेट छुट्याइएको र यस विषयमा गम्भीर रूपमा काम भइरहेको जानकारी समेत दिए।

    विशिष्ट अतिथि तथा वडा अध्यक्ष विष्णु ढकालले विद्यालयका प्रशंसनीय उपलब्धिहरूको प्रशंसा गर्दै वडाले गर्नुपर्ने जिम्मेवारीहरू निर्वाह गर्न कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे। उनले विद्यालय, विद्यार्थी, अभिभावक, तथा स्थानीय समुदायको सहकार्य आवश्यक रहेको बताउँदै, गुणस्तरीय शिक्षा सुनिश्चित गर्न वडा कार्यालयबाट निरन्तर सहयोग रहनेछ भन्ने प्रतिबद्धता व्यक्त गरे।

    कार्यक्रमका दौरान विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गरे, जसले उपस्थित सबैलाई मन्त्रमुग्ध बनायो। साथै, विद्यालयको प्रगति र समर्पित योगदान दिएका शिक्षक, अभिभावक, तथा समाजसेवीहरूलाई विशेष सम्मान गरिएको थियो।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोभाखर उर्फ माधव पाण्डेले विद्यालयलाई नयाँ उचाइमा पुर्याउन आफुले मन, वचन, र कर्मले समर्पित भएर काम गरिरहेको उल्लेख गर्दै भने — “शिक्षा कुनै व्यक्तिको मात्रै दायित्व होइन, यो समग्र समाजको दायित्व हो। हामी सबैको साझा प्रयासबाट मात्रै विद्यालयको सशक्तिकरण सम्भव छ।” उनले विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि विभिन्न नयाँ योजनाहरू अगाडि बढाइएको जानकारी दिँदै, सबै पक्षलाई निरन्तर सहयोग गर्न आग्रह गरे।

    यस वर्षको वार्षिकोत्सव कार्यक्रम विद्यालयका लागि ऐतिहासिक मात्र नभई प्रेरणादायी पनि रह्यो। सरस्वती पूजाको धार्मिक महत्व, निःशुल्क विद्यार्थी भर्ना, अक्षयकोष स्थापनाको दिगो सोच, र गुणस्तरीय शिक्षाका लागि गरिएको प्रतिबद्धता विद्यालयको उज्ज्वल भविष्यको संकेत हो।

    स्थानीय सरकार, विद्यालय प्रशासन, शिक्षक, अभिभावक, तथा समाजसेवीहरूको एकताले जनज्योति आधारभूत विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित गर्ने सपना अब टाढा नरहेको कुरा बक्ताहरुले प्रस्तुत गरेका थिए ।



    lumbinisanjal   
  • २०८१ माघ २१, सोमबार १७:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP