• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    भर्‍याङ चढेर कैदी भागेपछि…

    • lumbinisanjal
    • २०८३ कार्तिक १३, बिहीबार १०:४६
    208
    SHARES
    भर्‍याङ चढेर कैदी भागेपछि…

    गण्डकी । कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय व्यतित गरिरहेका कैदी भागेको घटनाले कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न उब्जिएको छ ।

    गत असोज ३१ गते राति २ः०० बजेतिर पोखरा महानगरपालिका–१८ खपौदीका ३७ वर्षीय कैदी सन्तोष जलारी बिजुली मर्मतका लागि कारागारमा लगिएको भर्‍याङ चढेर भागेका थिए ।

    कारागारबाट फरार जलारीलाई प्रहरीले कात्तिक ३ गते पोखराकै एक होटलबाट पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले कैदी जलारी योजनाबद्ध रुपमा भागेको बताए । ‘बिजुली मर्मतका लागि राखिएको भ¥याङ चढेर भागेको पाइएको छ, एक महिनादेखि कारागारबाट भाग्ने योजना बनाएको अनुसन्धानका क्रममा जलारीले बताएका छन्’, उनले भने ।

    जलारीले कारागारभित्र पसलसमेत चलाएर बस्ने गरेको प्रहरी उपरीक्षक कार्कीले बताए । कारागारको सुरक्षार्थ खटिएको प्रहरी र कैदीका नाइकेको प्रयाप्त ध्यान नपुग्दा जलारी भाग्न सफल भएको उनको भनाइ छ ।

    ‘भोलि पनि बिजुली मर्मत गर्नुपर्छ भनेर उनले भ¥याङ आफ्नै पसल भएको ठाउँमा राखेको र मध्यरातमा भागेको पाइएको छ’, प्रहरी उपरीक्षक कार्कीले भने, ‘उनले नाइके र अरु कैदीलाई पनि झुक्काएर भागेको देखिन्छ ।’

    कारागारबाट यसरी कैदी भागेका घटना बिरलै हुने गरेको भन्दै उनले कारागारको सुरक्षा संवेदनशीलतामा विशेष रुपले ध्यान यस घटनाले सम्बद्ध पक्षलाई झकझक्याएको बताए ।

    कारागारका जेलर घनश्याम गौतमले भोलिपल्ट बिहान मात्र कैदी गणनाका क्रममा जलारी भागेको थाहा भएको बताए । कैदी भागेको घटनापछि कारागारको सुरक्षा व्यवस्थालाई लिएर प्रश्न र चासो व्यक्त हुनु स्वभाविक भएको उनको भनाइ छ ।

    भागेका कैदी जलारी प्रहरीको सक्रियतामा दुई दिनमै नियन्त्रणमा आएको जेलर गौतमले बताए । गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले जलारीलाई पक्राउ गरेको थियो ।

    उनीमाथि कारागार ऐनसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए । ‘ज्यान र डाँका मुद्दामा २५ वर्ष कैद सजाय पहिलेकै छ, पछिल्लो मुद्दामा थप पाँच वर्ष जेल सजाय हुन सक्छ’, उनले भने । (रासस)



    lumbinisanjal   
  • २०८३ कार्तिक १३, बिहीबार १०:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP