• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    चाडपर्व लक्षित साइबर अपराधबाट आफू पनि बचौँ, अरूलाई पनि सचेत गराऔँ

    • lumbinisanjal
    • २०८३ आश्विन २९, बिहीबार ०९:०२
    364
    SHARES
    चाडपर्व लक्षित साइबर अपराधबाट आफू पनि बचौँ, अरूलाई पनि सचेत गराऔँ

    विजयादशमी, तिहार तथा छठ पर्वलाई लक्षित गरी हुने अनलाइन ठगी र साइबर अपराधबाट जोगिन सचेत रहौँ। प्रलोभनमा पारेर व्यक्तिगत विवरण, पासवर्ड, ओटीपी तथा बैंकिङ जानकारी चोर्ने प्रवृत्ति बढिरहेका बेला सामाजिक सञ्जालको सुरक्षित प्रयोगमा विशेष ध्यान दिन आवश्यक छ।

    हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमी, भाइटीका तथा छठ पर्व नेपाली समाजका महत्त्वपूर्ण सांस्कृतिक उत्सव हुन्। यी पर्वले परिवार, आफन्त र समाजबीच आपसी सद्भाव, प्रेम, विश्वास तथा खुसी साटासाट गर्ने अवसर प्रदान गर्छन्। दसैँमा ठूलाबडाबाट आशीर्वाद लिने, तिहारमा दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता साटासाट गर्ने र छठमा धार्मिक आस्थासहित सूर्यको उपासना गर्ने परम्परा नेपाली समाजको विशिष्ट पहिचान हो। तर, यिनै चाडपर्वको अवसरलाई लक्षित गर्दै आपराधिक मनसाय भएका व्यक्तिहरूले विभिन्न विद्युतीय माध्यमको दुरुपयोग गरी सर्वसाधारणलाई ठगी गर्ने प्रयास गरिरहेका हुन्छन्।

    सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै फेसबुक, ह्वाट्सएप, टिकटक, इन्स्टाग्रामलगायतका माध्यमबाट प्रलोभन देखाउने, झुक्यानमा पार्ने, व्यक्तिगत विवरण चोर्ने तथा आर्थिक लाभ लिने घटनाहरू चुनौतीका रूपमा देखिएका छन्।

    ‘तपाईंलाई चिट्ठा परेको छ’, ‘विदेशबाट उपहार पठाइएको छ’, ‘उपहार प्राप्त गर्न लिंक खोल्नुहोस्’ वा ‘विदेशमा तपाईंको थरका धनी व्यक्तिको मृत्यु भएको छ, कानुनी प्रक्रिया मिलाए करोडौँ रकम प्राप्त हुन्छ’ जस्ता भ्रमपूर्ण सन्देश पठाएर ठगी गर्ने प्रयास हुन सक्छ। त्यस्तै, अपरिचित नम्बरबाट ह्वाट्सएपमा फोन गर्ने, ओटीपी कोड माग्ने, नक्कली लिंक पठाउने तथा विभिन्न बहानामा बैंक खाता र डिजिटल वालेटको विवरण प्राप्त गर्ने प्रयाससमेत हुन सक्छ।
    यस्ता गतिविधिले व्यक्तिको आर्थिक अवस्थामात्र नभई व्यक्तिगत गोपनीयता, सामाजिक प्रतिष्ठा, मानसिक स्वास्थ्य तथा धार्मिक र सामाजिक आस्थामा समेत नकारात्मक असर पार्न सक्छन्।

    त्यसैले चाडपर्वको समयमा आफू सचेत हुनुका साथै परिवार, आफन्त र समुदायका अन्य सदस्यलाई पनि साइबर सुरक्षाबारे जानकारी गराउनु आवश्यक छ।
    के हो विद्युतीय अपराध?
    मोबाइल फोन, कम्प्युटर, इन्टरनेट तथा अन्य सूचना प्रविधिको प्रयोग गरी प्रचलित कानुनविपरीत गरिने ठगी, अनधिकृत पहुँच, व्यक्तिगत विवरण चोरी, धम्की, ब्ल्याकमेल, चरित्र हत्या तथा अन्य गैरकानुनी गतिविधिलाई सामान्य अर्थमा विद्युतीय वा साइबर अपराध भनिन्छ।

    साइबर अपराध हुने प्रमुख माध्यम तथा स्वरूप

    १. अनलाइन वित्तीय ठगी
    मोबाइल बैंकिङ, डिजिटल वालेट वा बैंक खातामा अनधिकृत पहुँच पुर्‍याई रकम निकाल्ने, झुक्यानमा पारी पैसा पठाउन लगाउने वा वित्तीय विवरण चोरी गर्ने कार्य।

    २. सामाजिक सञ्जालसम्बन्धी अपराध
    फेसबुक, ह्वाट्सएप, टिकटक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा अनधिकृत पहुँच पुर्‍याउने, नक्कली खाता खोल्ने, अरूको पहिचान दुरुपयोग गर्ने तथा भ्रामक सामग्री फैलाउने कार्य।

    ३. अनलाइन किनमेलमा ठगी
    विभिन्न अनलाइन प्लेटफर्ममा आकर्षक मूल्यमा सामान उपलब्ध गराउने प्रलोभन देखाई अग्रिम रकम असुल्ने तर सामान नपठाउने वा रकम लिएपछि सम्पर्कविहीन हुने कार्य।

    ४. फिसिङ (Phishing)
    बैंक, सरकारी कार्यालय वा प्रतिष्ठित संस्थाको नक्कली परिचय प्रयोग गरी सन्देश, इमेल वा लिंक पठाउने र त्यसबाट पासवर्ड, ओटीपी, बैंक विवरण तथा अन्य गोप्य जानकारी चोरी गर्ने प्रयास।

    ५. अनलाइन धम्की तथा ब्ल्याकमेल
    विभिन्न प्रलोभन वा बहानामा व्यक्तिलाई विश्वासमा लिने, निजी तस्बिर वा भिडियो प्राप्त गर्ने तथा त्यसलाई सार्वजनिक गरिदिने धम्की दिई रकम असुल्ने वा मानसिक दबाब सिर्जना गर्ने कार्य। यस्ता गतिविधिले पीडितको व्यक्तिगत जीवन, सामाजिक प्रतिष्ठा र मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छन्।
    साइबर अपराधका प्रमुख चुनौती
    साइबर सुरक्षा तथा सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे पर्याप्त जनचेतनाको अभाव।
    छोटो समयमा धेरै पैसा कमाउने लोभ तथा अवास्तविक प्रलोभनमा पर्ने प्रवृत्ति।

    व्यक्तिगत विवरण, पासवर्ड तथा गोप्य जानकारी सुरक्षित नराख्नु।
    डिजिटल प्रविधि र अनलाइन कारोबारसम्बन्धी ज्ञानको कमी।
    बालबालिका तथा किशोरकिशोरीको अनलाइन गतिविधिमा अभिभावकीय निगरानी र संवादको अभाव।
    साइबर अपराधका घटना पहिचान गर्ने, प्रमाण सुरक्षित राख्ने तथा समयमै उजुरी गर्ने प्रक्रियाबारे पर्याप्त जानकारी नहुनु ।

    सीमापारबाट सञ्चालन हुने साइबर अपराधको अनुसन्धान तथा नियन्त्रणमा देखिने चुनौती।
    साइबर अपराधबाट कसरी सुरक्षित रहने?

    चाडपर्वको समयमा सामाजिक सञ्जाल प्रयोग गर्दा निम्न सावधानी अपनाउनुहोस् :
    ओटीपी, पिन र पासवर्ड गोप्य राख्नुहोस्। बैंक, वालेट वा सामाजिक सञ्जालको पासवर्ड तथा ओटीपी कसैलाई पनि नदिनुहोस्।

    अपरिचित लिंक नखोल्नुहोस्। चिट्ठा, उपहार वा पुरस्कारको प्रलोभन देखाउने सन्देशमा आएका लिंकबाट सावधान रहनुहोस्।

    अपरिचित व्यक्तिलाई विश्वास नगर्नुहोस्। सामाजिक सञ्जालमा नचिनेका व्यक्तिको अनुरोध स्वीकार गर्नुअघि सतर्क रहनुहोस्।

    टु फ्याक्टर अथेन्टिकेसन (Two-Factor Authentication) प्रयोग गर्नुहोस्। फेसबुक, इमेल तथा अन्य सम्भव खातामा अतिरिक्त सुरक्षा सुविधा सक्रिय गर्नुहोस्।
    बलियो पासवर्ड राख्नुहोस्। एउटै पासवर्ड सबै खातामा प्रयोग नगर्नुहोस् र समय-समयमा सुरक्षा जाँच गर्नुहोस्।

    व्यक्तिगत विवरण सार्वजनिक नगर्नुहोस्। नागरिकता, बैंक विवरण, ठेगाना, फोन नम्बर तथा निजी तस्बिर वा भिडियोको प्रयोगमा सावधानी अपनाउनुहोस्।
    अनलाइन किनमेल गर्दा विक्रेता जाँच्नुहोस्। आधिकारिक वेबसाइट वा विश्वसनीय प्लेटफर्म प्रयोग गर्नुहोस् र अपरिचित व्यक्तिले पठाएको खातामा हतारमा रकम नपठाउनुहोस्।

    बालबालिकालाई सचेत गराउनुहोस्। अनलाइनमा अपरिचित व्यक्तिसँग कुराकानी गर्दा, तस्बिर पठाउँदा वा कुनै प्रस्ताव स्वीकार गर्दा सावधानी अपनाउन सिकाउनुहोस्।

    साइबर अपराधमा परे प्रमाण सुरक्षित राख्नुहोस्। सन्देश, लिंक, फोन नम्बर, कारोबारको विवरण तथा स्क्रिनसट सुरक्षित राखी नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरी साइबर ब्युरोमा सम्पर्क गर्नुहोस्।

    साइबर अपराधमा परे कहाँ सम्पर्क गर्ने?
    साइबर अपराधबाट पीडित भएमा डर, लाज वा सामाजिक प्रतिष्ठामा असर पर्ने चिन्ताका कारण घटना लुकाएर नबस्नुहोस्। उपलब्ध प्रमाण सुरक्षित राखी नजिकको प्रहरी कार्यालयमा उजुरी गर्नुहोस्। आवश्यकताअनुसार नेपाल प्रहरीको साइबर ब्युरोसँग पनि सम्पर्क गर्न सकिन्छ।

    विस्तृत जानकारी, उजुरी प्रक्रिया तथा सम्पर्क विवरणका लागि नेपाल प्रहरी साइबर ब्युरोको आधिकारिक वेबसाइट https://cyberbureau.nepalpolice.gov.np/ हेर्नुहोस्।

    विशाल भण्डारी
    पुर्व प्रहरी सहायक हवल्दार
    धुर्कोट गाउँपालिका गुल्मी हाल जापान



    lumbinisanjal   
  • २०८३ आश्विन २९, बिहीबार ०९:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP