• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    यूसीएमएसमा १२८ स्लाइसको अत्याधुनिक सिटी स्क्यान, भेन्टिलेटरसहित एम्बुलेन्स सेवा पनि सुरु

    • lumbinisanjal
    • २०८३ श्रावण २३, शनिबार १५:३८
    1.1K
    SHARES
    यूसीएमएसमा १२८ स्लाइसको अत्याधुनिक सिटी स्क्यान, भेन्टिलेटरसहित एम्बुलेन्स सेवा पनि सुरु

    भैरहवा । रूपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (यूसीएमएस)ले रेडियोलोजी विभाग स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा अत्याधुनिक १२८ स्लाइस सिटी स्क्यान मेसिनसहित भेन्टिलेटर सुविधायुक्त नयाँ एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। शनिबार आयोजित कार्यक्रममा मेडिकल कलेजका प्रबन्ध निर्देशक खुमाप्रसाद अर्यालले दुवै सेवाको शुभारम्भ गरेका हुन्।

    कलेजले यसअघि सञ्चालनमा रहेको सिटी स्क्यान मेसिनलाई विस्थापन गर्दै करिब ५ करोड ५० लाख रुपैयाँको लगानीमा उच्च प्रविधियुक्त १२८ स्लाइसको नयाँ सिटी स्क्यान मेसिन जडान गरेको हो। नयाँ मेसिनबाट बिरामीले कम समयमा उच्च गुणस्तरीय तथा भरपर्दो रिपोर्ट प्राप्त गर्नुका साथै सहज र सुलभ दरमा सेवा पाउने कलेजले जनाएको छ।

    नयाँ प्रविधिबारे जानकारी दिँदै रेडियोलोजी विभाग प्रमुख प्राध्यापक डा. सदन मुखीले मेसिनमा मुटुको थ्रीडी इमेजिङ तथा स्क्यानिङ सुविधा, कृत्रिम बुद्धिमत्ता (एआई) र अटो पोजिसनिङ जस्ता आधुनिक प्रविधि उपलब्ध रहेको बताए।

    उनका अनुसार नयाँ सिटी स्क्यान सेवा २४ सै घण्टा सञ्चालन हुनेछ। रेडियोलोजी विभागमा १ जना प्राध्यापक, २ जना सहप्राध्यापक, ४ जना उपप्राध्यापक, १५ जना प्राविधिक, २ जना नर्सिङ कर्मचारी र ३ जना सहयोगीसहित २७ जना जनशक्ति कार्यरत छन्।

    यसैगरी, कलेजले बिरामीलाई अस्पतालसम्म ल्याउन तथा अस्पतालबाट अन्यत्र लैजान भेन्टिलेटर सुविधासहितको नयाँ एम्बुलेन्स सेवा पनि सुरु गरेको छ। करिब ३३ लाख रुपैयाँको लगानीमा खरिद गरिएको एम्बुलेन्सले २४ सै घण्टा सेवा दिने कलेजका प्रबन्ध निर्देशक अर्यालले बताए। उनका अनुसार एम्बुलेन्स सेवा सरल, सहज र सुलभ दरमा उपलब्ध हुनेछ भने नेपाल सरकारबाट तोकिएको छुटसमेत उपलब्ध गराइनेछ।

    नयाँ स्वास्थ्य सेवा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनको सञ्चालन कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले गरेका थिए।



    lumbinisanjal   
  • २०८३ श्रावण २३, शनिबार १५:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP