• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    विज्ञान र नवप्रवर्तनमा विद्यार्थीको चम्किलो प्रदर्शन, प्रदेशस्तरीय स्टिम प्रतियोगितामा नवीन औद्योगिक कदरबहादुर रीता मावि प्रथम

    • lumbinisanjal
    • २०८३ असार १४, आईतवार १६:४१
    403
    SHARES
    विज्ञान र नवप्रवर्तनमा विद्यार्थीको चम्किलो प्रदर्शन, प्रदेशस्तरीय स्टिम प्रतियोगितामा नवीन औद्योगिक कदरबहादुर रीता मावि प्रथम

    बुटवल, १४ असार  । शिक्षा तथा सामाजिक विकास निर्देशनालय, राप्ती उपत्यकाको आयोजनामा सम्पन्न प्रदेशस्तरीय विज्ञान प्रदर्शनी तथा स्टिम (STEM) प्रतियोगिता आइतबार बुटवलस्थित नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको छ।

    निर्देशनालय मातहत रहेका रुपन्देही, पाल्पा, प्युठान, दाङ, कपिलवस्तु र बाँकेका सामाजिक विकास डिभिजन कार्यालयअन्तर्गत १२ जिल्लाका कक्षा ११ र १२ विज्ञान समूह तथा प्राविधिक धार सञ्चालन भएका सामुदायिक विद्यालयका विद्यार्थीबीच जिल्ला तहबाट छनोट भएका उत्कृष्ट टोलीहरूबीच प्रदेशस्तरीय प्रतिस्पर्धा गरिएको थियो।

    स्टिम प्रतियोगितातर्फ आयोजक विद्यालय नवीन औद्योगिक कदरबहादुर रीता मावि, बुटवल प्रथम हुन सफल भयो। जनसेवा मावि, सुनवल द्वितीय, जगन्नाथ मावि, सुनवल तृतीय तथा जनता मावि, तानसेन (पाल्पा) सान्त्वना स्थान प्राप्त गर्न सफल भए।
    त्यसैगरी विज्ञान प्रदर्शनीतर्फ दमकडा मावि, पाल्पा प्रथम, जनता मावि, बाग्दुला (प्युठान) द्वितीय, बगलामुखी राधाकृष्ण थारु मावि, बर्दिया तृतीय तथा अक्सफोर्ड मावि, बुटवल सान्त्वना घोषित भए।
    विज्ञान प्रदर्शनीको मूल्याङ्कन सहप्राध्यापक डा. कृष्णप्रसाद शर्मा, सहप्राध्यापक कमलबहादुर रायमाझी तथा सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका कार्यालय प्रमुख उपसचिव हरिबहादुर बिष्टले गर्नुभएको थियो। स्टिम प्रतियोगिताको मूल्याङ्कन शिक्षा तथा सामाजिक विकास निर्देशनालयका महानिर्देशक हरिलाल अर्याल, वरिष्ठ शिक्षा अधिकृत बेगम केसी तथा शाखा अधिकृत सुभाषचन्द्र गौतमले गर्नुभएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारीले विज्ञान प्रदर्शनी तथा स्टिम प्रतियोगिताले विद्यार्थीमा सिर्जनशीलता, नवप्रवर्तन, समस्या समाधान क्षमता र व्यवहारिक सीपको विकास गर्ने बताउनुभयो। उहाँले प्रतियोगितामा विजयी हुँदा उत्साहका साथ अझ मेहनत गर्न र अपेक्षित नतिजा प्राप्त नभए पनि निराश नहुन विद्यार्थीलाई आग्रह गर्नुभयो।

    शिक्षा तथा सामाजिक विकास निर्देशनालय, लुम्बिनी प्रदेशका महानिर्देशक हरिलाल अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका शाखा अधिकृत भागीरथ अधिकारीले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा वरिष्ठ शिक्षा अधिकृत बेगम केसीले विज्ञान प्रदर्शनी तथा स्टिम प्रतियोगिताको उद्देश्य र औचित्यमाथि प्रकाश पार्नुभएको थियो।
    यसैगरी, बुटवल बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. कृष्णप्रसाद शर्माले विज्ञान प्रदर्शनीको मूल्याङ्कनका मापदण्डबारे र शाखा अधिकृत सुभाषचन्द्र गौतमले स्टिम प्रतियोगिताको मूल्याङ्कन प्रक्रियाबारे जानकारी दिनुभएको थियो।

    कार्यक्रममा नवीन औद्योगिक कदरबहादुर रीता माविका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले विज्ञान र प्रविधिमैत्री शिक्षाले विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता प्रतियोगिताले विद्यालय र विद्यार्थी दुवैलाई थप प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।



    lumbinisanjal   
  • २०८३ असार १४, आईतवार १६:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP