• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    गुल्मीको हिमालय माविमा कक्षा १२ उत्तीर्ण विद्यार्थी, अभिभावक र शिक्षक सम्मानित

    • lumbinisanjal
    • २०८३ असार १२, शुक्रबार ०८:५०
    689
    SHARES
    गुल्मीको हिमालय माविमा कक्षा १२ उत्तीर्ण विद्यार्थी, अभिभावक र शिक्षक सम्मानित

    गुल्मी, १२ असार । धुर्कोट गाउँपालिका–५, वस्तुस्थित हिमालय माध्यमिक विद्यालयले कक्षा १२ उत्तीर्ण विद्यार्थी, उनीहरूका अभिभावक तथा शिक्षकलाई सम्मान गरेको छ। उत्कृष्ट शैक्षिक उपलब्धिको कदर गर्दै विद्यालयले सम्मान तथा शुभकामना कार्यक्रम आयोजना गरेको हो।

    यस वर्ष विद्यालयले एसईई र कक्षा १२ दुवै तहमा शतप्रतिशत नतिजा हासिल गर्दै उल्लेखनीय शैक्षिक सफलता कायम गरेको छ। निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको विद्यालयले विद्यार्थी, अभिभावक र शिक्षकको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान कार्यक्रम आयोजना गरेको जनाएको छ।

    कार्यक्रममा बोल्दै धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले शिक्षामा गरिएको लगानी नै समृद्ध समाज निर्माणको मुख्य आधार भएको बताउनुभयो। विद्यार्थीको सफलताले विद्यालयको मात्र नभई समग्र गाउँपालिकाकै गौरव बढाएको उल्लेख गर्दै उहाँले गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाको सहयोग र लगानी निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    गाउँपालिका उपाध्यक्ष सीता गिरीले विद्यार्थीको सफलतामा अभिभावक, शिक्षक र विद्यालयबीचको त्रिपक्षीय सहकार्यको महत्वपूर्ण भूमिका रहने बताउँदै उच्च शिक्षामा पनि यही मेहनत, अनुशासन र लगनशीलतालाई निरन्तरता दिन विद्यार्थीलाई आग्रह गर्नुभयो।

    वडा नं. ५ का अध्यक्ष केशवराज भण्डारीले हिमालय माध्यमिक विद्यालयको शैक्षिक उपलब्धि वडाकै गौरवको विषय भएको बताउँदै विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकहरि भण्डारीले विद्यालयले प्राप्त गरेको सफलता शिक्षक, विद्यार्थी, अभिभावक र व्यवस्थापन समितिको सामूहिक मेहनतको प्रतिफल भएको बताउनुभयो। आगामी वर्षहरूमा पनि अझ उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यका साथ विद्यालय अघि बढिरहेको उहाँले जानकारी दिनुभयो।

    विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भण्डारीले कक्षा १२ को उत्कृष्ट नतिजा हासिल गर्न योगदान पुर्‍याउने सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकप्रति आभार व्यक्त गर्दै हिमालयन माध्यमिक विद्यालयलाई जिल्लाकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एक बनाउने लक्ष्यका साथ आफूहरू क्रियाशील रहेको बताउनुभयो।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकहरि भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर पछाईं, सामाजिक विकास समिति संयोजक चेतमान कुँवर, धुर्कोट परमानन्द बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष प्रेमनारायण भण्डारी, वडा सदस्य, शिक्षाप्रेमी, अभिभावक तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षक नारायण अर्यालले गर्नुभएको थियो।

     



    lumbinisanjal   
  • २०८३ असार १२, शुक्रबार ०८:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP