• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    कीर्तिपुर हत्या प्रकरण : हिरासतबाट छुटेका व्यक्तिको समेत संलग्नता, मुख्य अभियुक्त अझै फरार

    • lumbinisanjal
    • २०८३ बैशाख २४, बिहीबार १४:४७
    312
    SHARES
    कीर्तिपुर हत्या प्रकरण : हिरासतबाट छुटेका व्यक्तिको समेत संलग्नता, मुख्य अभियुक्त अझै फरार

    काठमाडौं, २४ वैशाख । काठमाडौंको कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको घटनामा हिरासतबाट छुटेका व्यक्तिको समेत संलग्नता रहेको खुलेको छ ।
    कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा बुधबार दिउँसो करिब साढे २ बजेतिर भएको आक्रमणमा गुल्मीको धुर्कोट घर भई हाल कीर्तिपुर बस्दै आएका २४ वर्षीय विपिन घिमिरेको मृत्यु भएको हो ।
    प्रहरीका अनुसार विपिनमाथि समूहले धारिलो हतियार प्रहार गरेपछि उनी घटनास्थलमै ढलेका थिए । तत्काल उपचारका लागि कीर्तिपुर अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
    घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । प्रारम्भिक अनुसन्धानमा आक्रमणकारी र मृतकबीच साथीको सम्बन्ध रहेको तथा आपसी विवाद चर्किएपछि घटना भएको खुलेको प्रहरीले जनाएको छ ।
    अनुसन्धानमा घटनास्थलमा कम्तीमा ६ जनाको समूह रहेको देखिएको छ । तीमध्ये केही दिनअघि मात्रै हिरासतबाट छुटेका व्यक्ति समेत संलग्न रहेको तथ्य फेला परेको प्रहरी स्रोतले जनाएको छ ।
    एक अनुसन्धान अधिकृतका अनुसार हत्यामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको भए पनि मुख्य अभियुक्तहरू अझै पक्राउ परेका छैनन् । पक्राउ प्रक्रिया जारी रहेकाले उनीहरूको नाम तथा विवरण सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ ।
    घटनाको अनुसन्धान तथा अभियुक्त पक्राउका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, जिल्ला प्रहरी परिसर भद्रकाली र प्रहरी वृत्त कीर्तिपुरको संयुक्त टोली परिचालन गरिएको छ ।
    घटना भएको करिब २४ घण्टा बितिसक्दा पनि मुख्य अभियुक्त फरार रहँदा हत्या किन र कसरी भयो भन्ने विषय अझै पूर्ण रूपमा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।



    lumbinisanjal   
  • २०८३ बैशाख २४, बिहीबार १४:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP