• २०८३ असार ३२ | Thu, 16 Jul 2026
  • Dark Mode

          Subscribe

    बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागू

    • lumbinisanjal
    • २०८३ असार १४, आईतवार ०९:१०
    273
    SHARES
    बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागू

    बुटवल,२५ असार  । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको चापलाई व्यवस्थित गर्न र गम्भीर प्रकृतिका बिरामीलाई तत्काल उपचार सेवा उपलब्ध गराउन ‘ट्रयाज प्रणाली’ लागू गरिएको छ। अस्पतालमा दैनिक आउने सेवाग्राहीको संख्या अत्यधिक बढेपछि आकस्मिक कक्षमा यो वैज्ञानिक पद्धति सुरु गरिएको हो।

    लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. विष्णुप्रसाद गौतमका अनुसार हाल यस अस्पतालमा दैनिक २ हजारदेखि २५ सय सम्म सेवाग्राहीहरू उपचार तथा परामर्शका लागि आउने गरेका छन्। सीमित स्रोतसाधन र जनशक्तिका बीच यति ठूलो संख्यामा आउने बिरामीहरूमध्ये कसलाई पहिलो प्राथमिकतामा राखेर उपचार गर्ने भन्ने चुनौतीलाई चिर्न अस्पतालले ट्रयाज प्रणालीलाई प्रभावकारी रूपमा अघि बढाएको डा. गौतमले जानकारी दिए।

    सरकारको स्वास्थ्य बीमा नीतिमा गरेको परिवर्तनले गर्दा पछिल्लो समय लुम्बिनी प्रादेशिक अस्पतालमा सेवाग्राहीको चाप थप बढेको छ । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई निजी स्वास्थ्य संस्थाहरूमा बन्द गरेपछि बीमा सुविधा लिइरहेका सर्वसाधारणहरू उपचारका लागि सरकारी अस्पतालमै निर्भर हुन पुगेका छन्।

    निजी क्षेत्रबाट रिफर भएर र सिधै बीमाको सेवा लिन आउने बिरामीहरूको संख्या थपिएपछि प्रादेशिक अस्पतालमा भीड झनै बढेको अस्पताल प्रशासनले जनाएको छ।

    अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. गौतमले दिएको जानकारी अनुसार, अस्पताल पुग्ने बित्तिकै सुरुमा बिरामी पहिले आएको आधारमा नभई उसको स्वास्थ्य अवस्था कति गम्भीर छ भन्ने कुरा वैज्ञानिक तवरले जाँचिन्छ। यस प्रणाली अन्तर्गत अत्यधिक गम्भीर बिरामीलाई रेड जोन (रातो कोड) मा राखेर तत्काल आकस्मिक कक्षमा उपचार गरिन्छ।

    त्यस्तै, मध्यम र गम्भीर अवस्थाका बिरामीलाई एलो जोन (सुन्तला वा पहेँलो कोड) मा राखिन्छ भने सामान्य ज्वरो, हल्का चोटपटक लागेका बिरामी जसलाई केही समय पर्खाउँदा पनि ज्यानको जोखिम हुँदैन, उनीहरूलाई ग्रीन जोन (हरियो कोड)मा वर्गिकरण गरिन्छ। यो प्रणालीले गर्दा अस्पतालमा बिरामीको चाप व्यवस्थापन तथा गम्भीर अवस्थाका बिरामीले पाउनुपर्ने आकस्मिक सेवा समयमै पाउने र कसैले पनि पालो पर्खिएकै कारण ज्यान गुमाउनु नपर्ने सुनिश्चितता अस्पतालले गरेको छ।

    अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सेवालाई थप प्रभावकारी र गुनासो रहित बनाउनका प्राप्त जनशक्ति, साधन स्रोधनको अधिकताम प्रयोग गरी आवश्यक सबै उपाय अपनाइएको बताए । प्राप्त साधन स्रोधतको उपलब्धता र सेवाग्राहीको चाप र अपेक्षा बीच गहिरो खाडल रहेको बताउँदै उनले यस व्यवस्थापन थप चुनौतिपूर्ण बन्दै गएको उल्लेख समेत गरे ।



    lumbinisanjal   
  • २०८३ असार १४, आईतवार ०९:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP