• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवलमा सर्वाधिक राशिको जिल्ला स्तरीय खुला स्नुकर प्रतियोगिता सुरु

    • lumbinisanjal
    • २०८२ पुष १४, सोमबार २०:१९
    2.1K
    SHARES
    बुटवलमा सर्वाधिक राशिको जिल्ला स्तरीय खुला स्नुकर प्रतियोगिता सुरु

    बुटवल,१४ पुस । बुटवलमा हालसम्मकै सर्वाधिक राशिको रुपन्देही जिल्ला स्तरीय खुला स्नुकर प्रतियोगिता सोमबारदेखि सुरु भएको छ। नेपाल बिलियर्ड्स, स्नुकर तथा पुल संघ रुपन्देही र खस्यौली स्नुकर क्लबको संयुक्त आयोजनामा नवौँ संस्करणको प्रतियोगिता आयोजना गरिएको हो।

    प्रतियोगिताको उद्घाटन बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख पाण्डेयले शिक्षा, स्वास्थ्य र खेलकुदलाई बुटवल उपमहानगरपालिकाले पहिलो प्राथमिकतामा राख्दै आएको बताए।

    संघको निरन्तर मिहिनेत र लामो संघर्षका कारण रुपन्देहीमा स्नुकर खेलले उल्लेखनीय फड्को मारेको उल्लेख गर्दै उनले यहाँबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन भइसकेको बताए।

    नगर प्रमुख पाण्डेयले उपमहानगरभित्र स्नुकर खेलका लागि आवश्यक संरचना निर्माणमा सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। खेलकुदका माध्यमबाट समाज परिवर्तन सम्भव हुने बताउँदै उनले यस वर्ष विभिन्न खेलकुद प्रतियोगिता सञ्चालनका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए।

    विद्यालयस्तरमा सबैभन्दा धेरै खेलकुद प्रतियोगिता बुटवलमै आयोजना हुने गरेको उनको भनाइ थियो। कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

    अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित मानिने स्नुकर खेललाई नेपालमा अझै पनि नकारात्मक दृष्टिले हेरिने गरिएको उल्लेख गर्दै उनले यस धारणा बदल्न युवाहरू एकजुट हुनुपर्नेमा जोड दिए।

    संघका अध्यक्ष सुजन पुनले खेल क्षेत्रमा सक्रिय सबैको साथ, सहयोग र सामूहिक प्रयासले स्नुकर खेललाई आजको अवस्थामा पुर्‍याउन सफल भएको बताए। खेलकुद क्षेत्रको विकास, प्रतियोगिताको निरन्तरता र खेलाडीको प्रोत्साहनमा बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग महत्वपूर्ण रहेको उनको भनाइ थियो। अध्यक्ष पुनका अनुसार पुस २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा रुपन्देही जिल्लाका १२८ जना खेलाडीबीच प्रतिस्पर्धा हुनेछ।

    प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ। संघका महासचिव प्रकाश क्षेत्रीका अनुसार प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख रुपैयाँ र उपविजेताले नगद ५० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै, उच्च ब्रेकरलाई नगद २० हजार रुपैयाँ प्रदान गरिनेछ भने राइजिङ प्लेयर र अनुशासित खेलाडीलाई नगद ५/५ हजार रुपैयाँ र स्टीक प्रदान गरिनेछ ।

    कार्यक्रममा बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य बालकुमारी भण्डारी, कांग्रेस बुटवल नगर उपसभापति ज्योति भण्डारी, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर राना, युवा समाजसेवी मुक्ति पौडेल, संघका वरिष्ठ सल्लाहकार सञ्जयरत्न बज्राचार्य, प्रथम उपाध्यक्ष बासु प्रधान, खेल संयोजक विजय गुरुङलगायतले रुपन्देही स्नुकर खेलको हबका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै नियमित प्रतियोगिताले खेलाडीलाई थप प्रोत्साहन मिल्ने धारणा राखे।

    संघको आयोजनामा हरेक वर्ष रुपन्देही जिल्लास्तरीय स्नुकर प्रतियोगिता हुँदै आएको छ। गत वर्ष बुटवलमा राष्ट्रिय स्तरको स्नुकर प्रतियोगितासमेत सफलतापूर्वक सम्पन्न गरिएको थियो।



    lumbinisanjal   
  • २०८२ पुष १४, सोमबार २०:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP