• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको पुष्टि

    • lumbinisanjal
    • २०८२ असार ६, शुक्रबार १०:४७
    2.7K
    SHARES
    दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको पुष्टि

    दैलेख, ०६ असार । मुलुकमा वार्षिक ५५ अर्ब रुपियाँ बराबरको पाँच लाख मेट्रिक टनभन्दा बढी खाना पकाउने एलपी ग्यास आयात भइरहेको बेला त्यसलाई प्रतिस्थापन गर्न सक्ने गरी स्वदेशमै प्राकृतिक ग्यास फेला परेको छ ।

    चाइना जिओलोजिकल सर्भेको अध्ययनले दैलेखको भैरवी गाउँपालिकास्थित जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यास भण्डारण रहेको देखाएको हो ।

    सन् २०१९ देखि अध्ययन गरिरहेको चाइना जिओलोजिकल सर्भेको प्रारम्भिक अध्ययनले नेपाललाई ५० देखि ६० वर्ष पुग्ने प्राकृतिक ग्यास रहेको देखाएको हो । प्राकृतिक ग्यासको उत्पादनमा गई प्रयोगमा आउन थालेपछि एलपी ग्यासको आयातलाई विस्थापन गर्न सक्ने देखिएको छ ।

    अध्ययनको प्रारम्भिक प्रतिवेदनले एक वर्षभित्रमा उत्पादन परीक्षणमा जान सक्ने देखाएको छ । चीन सरकारको अनुदानमा दुई अर्ब १७ करोड रुपियाँ लागतमा छ वर्ष लगाएर सो अध्ययन गरिएको थियो ।

    खानी तथा भूगर्भ विभागमार्फत चिनियाँ अध्ययन टोलीले प्राकृतिक ग्यास रहेको फेला परेको जानकारी हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई गराएको हो ।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अध्ययनको विस्तृत प्रतिवेदन आइसकेपछि एक वर्षभित्रमा उत्पादन र परीक्षणको काम सुरु गरिने जानकारी दिनुभयो ।

    “दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास भएको पुष्टि भएको छ । उत्पादन र प्रशोधनका लागि थप लगानी गर्नुपर्ने छ । यसका लागि अर्थमन्त्रालयमार्फत चिनियाँ सरकारलाई अनुरोध गर्छौं,” मन्त्री भण्डारीले भन्नुभयो ।

    विस्तृत प्रतिवेदन आइसकेपछिको ७५ दिनमा ग्यासको प्रारम्भिक उत्पादनको काम सुरु गरिने उहाँले जानकारी दिनुभयो । प्रचुर मात्रामा उच्च गुणस्तरको प्राकृतिक ग्यास देखिएकाले जति सक्दो उत्पादन तथा प्रशोधनको प्रक्रिया अगाडि बढाउनेसमेत मन्त्री भण्डारीले जानकारी दिनुभयो ।

    यसले ठुलो परिणामको ग्यास आयातलाई समेत प्रतिस्थापन गर्न सक्ने अनुमान गरिएको मन्त्री भण्डारीको भनाइ छ ।

    खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक तथा प्रवक्ता दिनेशकुमार नापितले प्रारम्भिक अध्ययनले वातावरणमैत्री ठुलो मात्रामा प्राकृतिक ग्यास फेला परेको जानकारी दिनुभयो । ८५ अर्ब अमेरिकी डलर बराबरको प्राकृतिक ग्यास रहेको अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।

    संसारभर यसको प्रयोग भइरहेको छ । यो नेपालका लागि नयाँ भए पनि एलपिजी ग्यासको तुलनामा वातावरणमैत्री रहेको उहाँको भनाइ छ । पेट्रोलियम लिक्विड तेल नभई ठुलो मात्रामा प्राकृतिक ग्यास भेटिएको र त्यसमा करिब ९० प्रतिशतभन्दा बढी मिथेन ग्यास रहेको उहाँको भनाइ छ ।

    यो ग्यास विशेष गरी खाना पकाउन, उद्योगहरू सञ्चालन गर्न, बिजुली बाल्न र अटोमोबाइल सञ्चालन गर्नका लागि उपयुक्त हुने बताइएको छ ।

    प्रारम्भिक अध्ययन प्राप्त भएसँगै परीक्षणका लागि विभागले प्रक्रिया अघि बढाइरहेको जनाएको छ । चीनले अध्ययनसँगै ग्यासको परीक्षण पनि आफैँले गर्नका लागि प्रस्तावसमेत गरेको मन्त्रालयले जनाएको छ ।

    प्राकृतिक ग्यास अन्वेषण गर्नका लागि हालसम्म चार हजार १३ मिटर ड्रिल गरिएको र जहाँ ९० प्रतिशतभन्दा बढी मिथेन ग्यास रहेको पाइएको अध्ययनले देखाएको छ ।

    यसको व्यावसायिक उत्पादनका लागि हाल सञ्चालनमा भइरहेको कम्पनी, नयाँ कम्पनी खोल्नुपर्ने र निजी क्षेत्रलाई उत्पादन गर्न दिनुपर्ने हुन्छ ।

    सन् २०१६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालमा पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गरिदिने समझदारी भएको थियो ।

    यस्तै सन् २०१७ अगस्टमा चीनसँग पेट्रोलियम पदार्थ अध्ययनका लागि सहयोग गर्ने सम्झौता भएको थियो । सन् २०१९ फेब्रुअरीमा कार्यान्वयनका लागि खानी तथा भूगर्भ विभाग र चाइना फिजियोलोजी सर्भेसँग सम्झौता भएको थियो । सर्भेको प्रारम्भिक अध्ययनको प्रतिवेदन बुझाउने अवधि सन् २०२५ को डिसेम्बरसम्म रहेको छ ।

    यसैबिच थप तीन स्थानमा पनि ठुलो मात्रामा प्राकृतिक ग्यास रहेको अनुमान गरिएको छ । दाङ, पाल्पा र सुनसरीमा करिब ४३० अर्ब घनमिटर ग्यास रहेको विभागको अनुमान छ । यसको अध्ययन गर्न भने बाँकी छ ।

    यसरी भयो अन्वेषण : चीनको सिएनपिसी सिबु इन्जिनियरिङ कम्पनीले २०८० वैशाख २८ गतेदेखि ड्रिलिङका लागि चार हजार १३ मिटर गहिराइसम्म खनेको थियो ।

    चिनियाँ जियोलोजिकल सर्भे कम्पनीबिच उत्खनन गर्न दुई अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगको सम्झौता भएको थियो । चाइना जिओलोजिकल सर्वे कम्पनीले सन् २०२५ को डिसेम्बरमा अन्तिम प्रतिवेदन दिने तयारी गरेको छ ।

    सङ्घीय सरकारले पेट्रोलियम पदार्थको अन्वेषणको काम अघि बढाउन ४५ रोपनी जग्गा अधिग्रहणका लागि स्वीकृति दिएको थियो ।



    lumbinisanjal   
  • २०८२ असार ६, शुक्रबार १०:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP