• २०८३ कार्तिक २९ | Sat, 14 Nov 2026
  • Dark Mode

          Subscribe

    नेपाली युवाको प्रविधि सपना : विश्वभरका नेपालीलाई जोड्दै ‘थोप्ला’

    • lumbinisanjal
    • २०८३ कार्तिक २९, शनिबार १३:५९
    13
    SHARES
    नेपाली युवाको प्रविधि सपना : विश्वभरका नेपालीलाई जोड्दै ‘थोप्ला’

    अस्ट्रेलियाबाट सुरु भएको नेपाली सामाजिक सञ्जाल ‘थोप्ला’ लोकप्रिय बन्दै, फेसबुक र टिकटकको विकल्पका रूपमा स्थापित हुने लक्ष्य

    अस्ट्रेलिया । विश्वका जुनसुकै कुनामा रहे पनि नेपालीलाई एउटै डिजिटल चौतारीमा जोड्ने उद्देश्यसहित विकास गरिएको नेपाली सामाजिक सञ्जाल ‘थोप्ला’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ । नेपाली युवाको सिर्जनशील सोच र प्रविधिप्रतिको लगावबाट जन्मिएको यस प्लेटफर्ममा हाल १५ हजार ३०० भन्दा बढी प्रयोगकर्ता जोडिइसकेका छन् ।

    फेसबुक, टिकटकजस्ता अन्तर्राष्ट्रिय सामाजिक सञ्जालको बढ्दो प्रभावका बीच नेपाली भाषा, मौलिकता, संस्कृति र समुदायलाई प्राथमिकतामा राख्दै ‘थोप्ला’ निर्माण गरिएको हो । नेपालदेखि अस्ट्रेलिया, अमेरिका, बेलायत, जापान तथा खाडी मुलुकसम्म छरिएर रहेका नेपालीलाई एउटै डिजिटल सञ्जालमा जोड्दै आपसी सम्बन्ध, सूचना र सिर्जनशीलताको आदानप्रदान गर्ने यसको परिकल्पना छ ।

    चितवनका उज्ज्वल खनालको पहलमा सुरु भएको ‘थोप्ला’को अवधारणा सन् २०२१ तिरै अघि सारिएको थियो । अस्ट्रेलियामा अध्ययन र रोजगारीसँगै सूचना प्रविधिप्रतिको रुचिलाई व्यावहारिक रूप दिँदै उहाँले साथीहरूसँगको सहकार्यमा यस प्लेटफर्मलाई विकास गर्नुभएको हो । नेपालीले आफ्नै पहिचान र अपनत्व महसुस गर्न सक्ने डिजिटल प्लेटफर्म निर्माण गर्ने सोचले यसको यात्रालाई अघि बढाएको देखिन्छ ।

    ‘थोप्ला’ केवल सामाजिक सञ्जालमा फोटो तथा भिडियो साझा गर्ने माध्यममा सीमित छैन । यसमा प्रयोगकर्ताले फोटो, भिडियो, स्टोरी र छोटा भिडियो (रिल्स) पोस्ट गर्न, अन्य प्रयोगकर्तालाई फलो गर्न, कमेन्ट गर्न तथा व्यक्तिगत सन्देश आदानप्रदान गर्न सक्छन् । त्यस्तै, अडिओ तथा भिडियो कल र सामूहिक संवादका लागि च्याट रुमको सुविधासमेत उपलब्ध छ ।

    नेपाली भाषा, संस्कृति र समुदायलाई डिजिटल प्रविधिसँग जोड्ने प्रयासका रूपमा ‘थोप्ला’ले नेपाली प्रविधि क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोलेको छ । विश्वभर छरिएका नेपालीका अनुभव, प्रतिभा, व्यवसाय, सिर्जना र गतिविधिलाई एउटै मञ्चमा ल्याउने लक्ष्य राखेको यस प्लेटफर्मको विस्तारले नेपाली युवामा आफ्नै प्रविधि र डिजिटल पहिचान निर्माण गर्ने सम्भावना पनि उजागर गरेको छ ।

    अन्तर्राष्ट्रिय सामाजिक सञ्जालसँग प्रतिस्पर्धा गर्दै नेपाली प्रयोगकर्ताको विश्वास जित्नु र दिगो रूपमा विस्तार हुनु ‘थोप्ला’का लागि आगामी चुनौती हुनेछ ।



    lumbinisanjal   
  • २०८३ कार्तिक २९, शनिबार १३:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP