• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    औषधि क्षेत्रमा देखिएको विवादप्रति नेपाल फार्मेसी संघ रुपन्देहीको गम्भीर ध्यानाकर्षण

    • lumbinisanjal
    • २०८३ भाद्र २७, शनिबार ११:३८
    3.3K
    SHARES
    औषधि क्षेत्रमा देखिएको विवादप्रति नेपाल फार्मेसी संघ रुपन्देहीको गम्भीर ध्यानाकर्षण

    बुटवल । औषधिजस्तो संवेदनशील जनस्वास्थ्यको विषयमा स्थानीय तह र औषधि व्यवसायीबीच पछिल्लो समय देखिएको विवाद तथा सार्वजनिक रूपमा भइरहेका आरोप–प्रत्यारोपप्रति नेपाल फार्मेसी संघ, रुपन्देहीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    संघले औषधि नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएकाले विवादलाई थप बढाउनुको सट्टा संवाद, समन्वय र कानुनी प्रक्रियामार्फत समाधान खोज्न आग्रह गरेको छ।
    नागरिकलाई सुलभ तथा निःशुल्क औषधि उपलब्ध गराउनु राज्यको सकारात्मक दायित्व भएको भन्दै संघले सरकारी अस्पताल, नगर अस्पताल, स्वास्थ्य चौकीलगायतका स्वास्थ्य संस्थाबाट आवश्यकताका आधारमा निःशुल्क औषधि वितरण गर्ने प्रभावकारी व्यवस्था मिलाउन स्थानीय तहसँग आग्रह गरेको छ।

    त्यसका लागि दक्ष फार्मासिस्टसहितको Drug and Therapeutics Committee (DTC) जस्तो प्राविधिक समिति गठन गरी कुन स्वास्थ्य संस्थामा कुन औषधि कति आवश्यक छ भन्ने आधारमा माग संकलन, खरिद, भण्डारण र वितरणको वैज्ञानिक तथा पारदर्शी प्रणाली विकास गर्नुपर्ने संघको सुझाव छ।

    संघले सरकारी स्रोत–साधन प्रयोग गरी निजी क्षेत्रसँग औषधि खरिद तथा वितरण गर्दा खरिद प्रक्रिया, स्टक व्यवस्थापन, लेखापरीक्षण तथा कानुनी आधार स्पष्ट हुनुपर्नेमा जोड दिएको छ।

    आवश्यकताभन्दा बढी औषधि खरिद गरी अन्यत्र फाल्ने वा सार्वजनिक स्रोतको दुरुपयोग हुने अवस्था सिर्जना हुन नदिन सम्बन्धित निकाय समयमै संवेदनशील बन्नुपर्ने जनाएको छ।
    स्थानीय तहका जनप्रतिनिधिहरू जनताबाट निर्वाचित प्रतिनिधि भएकाले औषधिजस्तो संवेदनशील क्षेत्रमा व्यक्तिगत वा राजनीतिक लाभभन्दा जनस्वास्थ्य, पारदर्शिता र कानुनी प्रक्रियालाई प्राथमिकता दिन संघले आग्रह गरेको छ।

    संघले “जहाँ औषधि, त्यहाँ फार्मासिस्ट” भन्ने मूल मर्मलाई आत्मसात् गर्दै सरकारी स्वामित्वमा रहेका स्वास्थ्य संस्थामार्फत दक्ष जनशक्तिको सहभागितामा सुरक्षित, व्यवस्थित, पारदर्शी तथा आवश्यकतामा आधारित औषधि सेवा सञ्चालन गर्न सम्बन्धित सबै पक्षसँग माग गरेको छ।

    नेपाल फार्मेसी संघ रुपन्देहीका महासचिव महेश पाण्डेयले जारी गरेको प्रेस विज्ञप्तिमा औषधि सेवाको गुणस्तर र जनस्वास्थ्यलाई केन्द्रमा राखेर समस्या समाधान गर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ ।

     



    lumbinisanjal   
  • २०८३ भाद्र २७, शनिबार ११:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP