• २०८३ जेष्ठ ३० | Sat, 13 Jun 2026
  • Dark Mode

          Subscribe

    टावर छ, तर फोन लाग्दैन : नेटवर्क समस्याले सितगंगावासी हैरान

    • lumbinisanjal
    • २०८३ जेष्ठ ३०, शनिबार ०९:३३
    234
    SHARES
    टावर छ, तर फोन लाग्दैन : नेटवर्क समस्याले सितगंगावासी हैरान

    समाधानको पर्खाइमा स्थानीय
    बुटवल, ३० जेठ । अर्घाखाँचीको सितगंगा नगरपालिका–१३ र १४ नम्बर वडाका स्थानीयवासी वर्षौंदेखि नेपाल टेलिकमको कमजोर नेटवर्क सेवाबाट पीडित बनेका छन्।

    सो क्षेत्रमा नेपाल टेलिकमको टावर स्थापना गरिएको भए पनि सेवा प्रभावकारी नहुँदा स्थानीयले दैनिक जीवनमा सास्ती खेप्नुपरेको गुनासो गरेका छन्।

    स्थानीयका अनुसार मोबाइलमा नेटवर्क देखिए पनि फोन सम्पर्क हुन निकै कठिन हुने गरेको छ। एकपटकमा फोन नलाग्ने, फोन लागिहाले पनि आवाज नआउने वा बीचमै काटिने समस्या सामान्यजस्तै बनेको छ। कतिपय अवस्थामा मोबाइलमा नेटवर्क देखिए पनि फोन सम्पर्क र इन्टरनेट सेवा दुवै प्रभावहीन हुने गरेको स्थानीय बताउँछन्।

    स्थानीय भोजराज न्यौपानेका अनुसार समस्या लामो समयदेखि रहँदै आएको भए पनि समाधानका लागि कुनै प्रभावकारी पहल हुन सकेको छैन। “टावर हाम्रो गाउँमै छ, तर सेवा भने नभएको जस्तै छ। फोन गर्न खोज्दा पटक–पटक प्रयास गर्नुपर्छ। कहिलेकाहीँ त घण्टौंसम्म नेटवर्क नै चल्दैन,” उनले भने।

    उनका अनुसार आपतकालीन अवस्थामा बिरामीलाई अस्पताल लैजान एम्बुलेन्स बोलाउनुपर्ने, सुरक्षासम्बन्धी सूचना दिनुपर्ने वा आफन्तसँग तत्काल सम्पर्क गर्नुपर्ने बेला झन् ठूलो समस्या हुने गरेको छ। “कुनै दुर्घटना वा स्वास्थ्य समस्या पर्दा फोन नलाग्ने अवस्था अत्यन्तै जोखिमपूर्ण छ,” उनले गुनासो गरे। उनले १३ र १४ का वडा अध्यक्षलाई पटक पटक गुनासो गरेपनी समाधान हुन कठिन भएको छ ।

    स्थानीयको गुनासो :  स्थानीयवासीले नेटवर्क समस्याका कारण शिक्षा, स्वास्थ्य, व्यापार तथा दैनिक कामकाजसमेत प्रभावित भएको बताएका छन्।

    पछिल्लो समय अधिकांश सरकारी तथा बैंकिङ सेवा अनलाइनमा आधारित भए पनि कमजोर नेटवर्कका कारण आवश्यक काम गर्न कठिन हुने गरेको उनीहरूको भनाइ छ।

    विद्यार्थीहरू अनलाइन अध्ययन सामग्री डाउनलोड गर्न नसक्ने, व्यवसायीले डिजिटल कारोबार गर्न समस्या भोग्ने तथा वैदेशिक रोजगारीमा रहेका आफन्तसँग नियमित सम्पर्क राख्न कठिन हुने अवस्था रहेको स्थानीय बताउँछन्।

    सामाजिक सञ्जाल प्रयोगदेखि सामान्य इन्टरनेट सेवासमेत सहज रूपमा उपयोग गर्न नसकिएको गुनासो छ। स्थानीयका अनुसार वर्षौंदेखि समस्या दोहोरिँदै आए पनि सम्बन्धित निकायबाट स्थायी समाधानका लागि आवश्यक चासो देखाइएको छैन।

    पटक–पटक जनप्रतिनिधि तथा सरोकारवाला निकायलाई जानकारी गराउँदा पनि समस्या ज्यूँका त्यूँ रहेको उनीहरूको भनाइ छ। नेट सेवाकालागि अन्य निजि नेट प्रदायक केवल वा ईन्टरनेट जोड्नुपर्ने अवस्था आएको छ ।

    स्थानीय तहको पहलको माग : स्थानीयवासीले वडा कार्यालय, नगरपालिकाका जनप्रतिनिधि तथा सम्बन्धित निकायले नेपाल टेलिकमसँग समन्वय गरी समस्या समाधानका लागि तत्काल पहल गर्नुपर्ने माग गरेका छन्।

    टावरको प्राविधिक अवस्था परीक्षण गरी आवश्यक स्तरोन्नति गर्न, नेटवर्क क्षमता बढाउन तथा सेवाको गुणस्तर सुधार गर्न उनीहरूले आग्रह गरेका छन्।

    स्थानीय सरकारको सक्रिय पहल र नेपाल टेलिकमको प्रभावकारी व्यवस्थापन भए यस क्षेत्रका हजारौं नागरिकले सहज सञ्चार सेवाको पहुँच पाउने विश्वास स्थानीयको छ। उनीहरूले सञ्चार सेवा नागरिकको आधारभूत आवश्यकता भएकाले यस समस्यालाई गम्भीर रूपमा लिएर शीघ्र समाधान गर्न सम्बन्धित पक्षसँग माग गरेका छन्।



    lumbinisanjal   
  • २०८३ जेष्ठ ३०, शनिबार ०९:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP