• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    क्रिकेट संघको चुनावमा शक्तिको शक्ति प्रदर्शन, खेलाडी र क्लबको खुला समर्थन

    • lumbinisanjal
    • २०८३ जेष्ठ २४, आईतवार २२:५८
    13
    SHARES
    क्रिकेट संघको चुनावमा शक्तिको शक्ति प्रदर्शन, खेलाडी र क्लबको खुला समर्थन

    बुटवल, २४ जेठ । रुपन्देही क्रिकेट संघको निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी तीव्र बनेको छ। सोमबार हुने निर्वाचनमा वर्तमान अध्यक्ष हरि बहादुर थापा पुनः नेतृत्व दोहोर्‍याउने तयारीमा छन् भने पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटर एवं प्रशिक्षक शक्ति गौचनले बलियो टोलीसहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उम्मेदवार घोषणा र नयाँ–नयाँ समीकरणले क्रिकेट वृत्तमा चुनावी माहोल थप तातेको छ।

    आइतबार बुटवलमा आयोजित क्रिकेट खेलाडी, पूर्व खेलाडी तथा क्लब प्रतिनिधिहरूको भेलाले शक्ति गौचनलाई समर्थन गर्ने निर्णय गरेको छ। बुटवल क्रिकेट विकास समितिको अगुवाइमा सम्पन्न भेलाले गौचनको पक्षमा मतदान गर्ने औपचारिक निर्णय सार्वजनिक गरेको हो।

    भेलामा बुटवल र तिलोत्तमाका पूर्व खेलाडी, प्रशिक्षक तथा विभिन्न क्लबसँग आबद्ध २२ मतदाता एकढिक्का भएर शक्ति गौचनलाई समर्थन गर्ने निष्कर्षमा पुगेका छन्। यसले निर्वाचनको समीकरणलाई थप रोचक बनाएको छ।

    यता, वर्तमान अध्यक्ष थापा पक्षका निकट मानिएका कार्यसमिति सदस्य प्रथम पराजुलीले एकाएक शक्ति गौचन समूहबाट सचिव पदमा उम्मेदवारी घोषणा गरेपछि चुनावी माहोलमा नयाँ तरंग सिर्जना भएको छ। पराजुली शुक्रबारसम्म सामाजिक सञ्जालमार्फत हरि बहादुर थापाको पक्षमा चुनावी प्रचारमा सक्रिय देखिएका थिए।

    शक्ति गौचनको प्यानलबाट उपाध्यक्षमा सञ्जीव जोशी, सचिवमा प्रथम पराजुली र कोषाध्यक्षमा सत्यजित सरकार उम्मेदवार बन्ने लगभग निश्चित भएको छ। यता हरि बहादुर थापा पक्षबाट भने हालसम्म उपाध्यक्ष पदका लागि तिरुपति क्रिकेट क्लबका खेम भुषालको नाम मात्र सार्वजनिक गरिएको छ। अन्य पदका उम्मेदवारबारे अझै औपचारिक घोषणा हुन बाँकी छ।

    शक्ति गौचनले यसअघि नै लुम्बिनी खुकुरी क्लब र तिरुपति क्रिकेट क्लबको औपचारिक समर्थन प्राप्त गरिसकेका छन्। चारवर्षे कार्यकाल पूरा गरेका वर्तमान अध्यक्ष थापाले आफ्नो नेतृत्वमा वार्षिक जिल्ला लिग प्रतियोगिता सञ्चालन तथा खेलाडी भत्ताको व्यवस्था गर्न सफल भएको दाबी गर्दै चुनावी अभियानलाई तीव्र बनाएका छन्।

    अघिल्लो निर्वाचनमा झिनो मतान्तरले पराजित भएका शक्ति गौचन यसपटक विजयी हुने दाबी गर्छन्। क्रिकेट एकेडेमीमार्फत ग्रासरुट तहमा खेलाडी उत्पादन, उमेर समूहका प्रतियोगिता सञ्चालन तथा नियमित क्रिकेट गतिविधिमा सक्रिय रहेका गौचनले रुपन्देही क्रिकेटको पुरानो गौरव पुनःस्थापित गर्ने लक्ष्यसहित उम्मेदवारी दिएको बताएका छन्।



    lumbinisanjal   
  • २०८३ जेष्ठ २४, आईतवार २२:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP