• २०८३ मंसिर ९ | Tue, 24 Nov 2026
  • Dark Mode

          Subscribe

    ‘एक कार्यकाल लुम्बिनी कांग्रेसकै नेतृत्व गर्छु’ : भुवन प्रसाद श्रेष्ठ

    • lumbinisanjal
    • २०८३ मंसिर ९, मंगलवार १५:५४
    130
    SHARES
    ‘एक कार्यकाल लुम्बिनी कांग्रेसकै नेतृत्व गर्छु’ : भुवन प्रसाद श्रेष्ठ

    ‘हिजो लुम्बिनी जोड्न लड्यौँ, अब कांग्रेस जोड्न नेतृत्व गर्छु’ भन्दै प्रदेश सभापतिमा दाबी; १२ वटै जिल्लाका नेता–कार्यकर्तालाई एकताबद्ध बनाउने संकल्प।

    बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिका उपसभापति भुवन प्रसाद श्रेष्ठले आगामी प्रदेश अधिवेशनमा सभापति पदका लागि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्। प्रदेशको संगठन निर्माण, पार्टीको नीति निर्माण र कार्यकर्ता परिचालनमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका श्रेष्ठले यसपटक प्रदेश नेतृत्वको जिम्मेवारी सम्हाल्ने आकांक्षा व्यक्त गरेका हुन्।

    लुम्बिनी प्रदेशको राजनीतिक तथा सांगठनिक यात्रामा आफूले गरेको योगदान, अनुभव र कार्यकर्तासँगको निरन्तर सम्बन्धलाई आधार बनाउँदै श्रेष्ठले सभापति पदमा स्वाभाविक दाबी रहेको बताएका छन्। प्रदेश उपसभापतिको जिम्मेवारीमा रहेर काम गरिसकेपछि नेतृत्वको अर्को तहमा पुगेर पार्टीलाई एकताबद्ध बनाउने आफ्नो चाहना रहेको उनको भनाइ छ।

    प्रदेश समितिको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हाल्दै आएका श्रेष्ठ पछिल्लो समय लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा संगठन विस्तार, सुदृढीकरण र कार्यकर्ता प्रशिक्षणका गतिविधिमा सक्रिय रहँदै आएका छन्। जिल्लादेखि वडा तहसम्मका नेता तथा कार्यकर्तासँग निरन्तर संवाद र समन्वय गर्दै संगठनलाई चलायमान बनाउने अभियानमा उनले भूमिका निर्वाह गर्दै आएका छन्।

    श्रेष्ठले आफ्नो उम्मेदवारीलाई पद प्राप्तिको आकांक्षाभन्दा पनि पार्टीलाई जोड्ने र नयाँ राजनीतिक ऊर्जा प्रदान गर्ने अभियानका रूपमा व्याख्या गरेका छन्।

    ‘हिजो हामीले लुम्बिनी प्रदेश जोड्नका लागि संघर्ष गर्‍यौँ, अब नेपाली कांग्रेस जोड्नका लागि नेतृत्व गर्न चाहन्छु,’ श्रेष्ठको भनाइ छ, ‘प्रदेशका १२ वटै जिल्लाका नेता तथा कार्यकर्तालाई एउटै भावनामा जोडेर अघि बढाउनु आजको आवश्यकता हो। पार्टीभित्र कसैलाई पराइ महसुस हुन नदिई सबैको भावना, विचार र योगदानको सम्मान गर्ने नेतृत्व स्थापित गर्न चाहन्छु।’

    उनले आफूलाई लामो समयदेखि पार्टी संगठनमा दिएको योगदान र निर्वाह गरेको जिम्मेवारीको मूल्यांकन हुने विश्वाससमेत व्यक्त गरेका छन्।

    ‘मलाई न्याय गर्ने बेला आएको छ। स्वाभाविक रूपमा प्रदेशको उपसभापति भएर जिम्मेवारी सम्हालिसकेपछि सभापतिमा दाबी गर्नु मेरो अधिकार र जिम्मेवारी दुवै हो। मैले पार्टीका लागि गरेको योगदान, संगठनप्रतिको निरन्तरता र कार्यकर्तासँगको सम्बन्धलाई यसपटक न्यायोचित ढंगले मूल्यांकन गरिनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने।

    श्रेष्ठले आफूलाई केन्द्रको राजनीतिमा भन्दा पनि लुम्बिनी प्रदेशमै रहेर संगठन निर्माण र नेतृत्व गर्ने चाहना बढी रहेको स्पष्ट पारेका छन्।

    ‘मलाई केन्द्रमा जानेभन्दा पनि लुम्बिनी प्रदेशमै बसेर एक कार्यकाल नेतृत्व गर्ने इच्छा भएको कारण केन्द्रको अधिबेशनमा कुनै पदमा उम्मेदवार नरहेको स्पष्ट पारे । जुन प्रदेशको संगठन निर्माण र एकताका लागि मैले लामो समय काम गरेँ, त्यही प्रदेशको नेतृत्व गरेर कांग्रेसलाई थप सुदृढ बनाउने मेरो चाहना हो। केन्द्रमा अवसर खोज्नुभन्दा आफूले काम गरेको प्रदेशलाई थप बलियो बनाउनु अहिले मेरो प्राथमिकता हो,’ उनले भने।

    श्रेष्ठले आफ्नो अभियानमा कुनै गुट, समूह वा सीमित स्वार्थभन्दा माथि उठेर समग्र लुम्बिनी प्रदेशको कांग्रेसलाई प्राथमिकतामा राख्ने बताएका छन्। पार्टीभित्र देखिएका असमझदारी, तिक्तता र विभाजनका रेखा मेटाउँदै पुराना नेताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई एकै ठाउँमा ल्याउनु आफ्नो प्रमुख उद्देश्य रहेको उनको भनाइ छ।

    ‘मलाई पदभन्दा पनि पार्टी ठूलो लाग्छ। कांग्रेस कमजोर हुँदा लोकतान्त्रिक आन्दोलन कमजोर हुन्छ। त्यसैले अब प्रतिस्पर्धा होइन, सहकार्यको राजनीति आवश्यक छ। हिजो फरक विचार र समूहमा रहेकाहरूलाई पनि एउटै मञ्चमा उभ्याएर कांग्रेसलाई बलियो बनाउने संकल्पका साथ अघि बढेको छु,’ श्रेष्ठले भने।

    उनले लुम्बिनी प्रदेशभरका नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम कांग्रेसजनसँग साथ, सहयोग र समर्थनको अपिलसमेत गरेका छन्।

    ‘यो मेरो व्यक्तिगत आकांक्षा मात्र होइन, संगठनमा काम गरेका साथीहरूको भावना र अपेक्षासँग पनि जोडिएको विषय हो। लुम्बिनीका १२ वटै जिल्लाका कांग्रेसजनको माया, विश्वास र साथ चाहिएको छ। सबैको सहयोग पाएँ भने प्रदेशको कांग्रेसलाई एकताबद्ध, गतिशील र जनतासँग जोडिएको पार्टीका रूपमा स्थापित गर्न प्रतिबद्ध रहनेछु,’ उनले भावुक हुँदै भने।

    संगठन निर्माणको अनुभव, प्रदेशस्तरको नेतृत्वदायी भूमिका र १२ वटै जिल्लामा बनाएको सांगठनिक सम्बन्धलाई आफ्नो मुख्य आधार मानेका श्रेष्ठको दाबेदारीसँगै नेपाली कांग्रेस लुम्बिनी प्रदेशको आगामी नेतृत्व चयनको राजनीतिक सरगर्मीसमेत बढ्ने देखिएको छ।



    lumbinisanjal   
  • २०८३ मंसिर ९, मंगलवार १५:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP