• २०८३ मंसिर ७ | Sun, 22 Nov 2026
  • Dark Mode

          Subscribe

    बुटवलमा ट्रक पार्किङका लागि ५ बिघा जग्गा माग, मेयरलाई प्रस्ताव हस्तान्तरण

    • lumbinisanjal
    • २०८३ मंसिर ५, शुक्रबार १३:०५
    299
    SHARES
    बुटवलमा ट्रक पार्किङका लागि ५ बिघा जग्गा माग, मेयरलाई प्रस्ताव हस्तान्तरण

    यात्रुबाहक बसका लागि पार्किङको व्यवस्था भए पनि ट्रकका लागि छैन छुट्टै पार्किङस्थल; रानीगञ्जमा जग्गा उपलब्ध गराउन यातायात व्यवसायीको माग

    बुटवल । बुटवल बजार क्षेत्रमा बढ्दै गएको ट्रक पार्किङको समस्या समाधान गर्न यातायात व्यवसायीहरूले रानीगञ्जमा ५ बिघा जग्गा उपलब्ध गराउन माग गरेका छन्।

    पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका वरिष्ठ उपाध्यक्ष गणेश घिमिरेको नेतृत्वमा बजार क्षेत्रमा व्यवसाय गर्दै आएका यातायात व्यवसायी तथा सरोकारवालाहरूको टोलीले बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेलाई भेट गरी ट्रक पार्किङस्थल निर्माणका लागि प्रस्ताव (प्रपोजल) हस्तान्तरण गरेको हो।

    बुटवलमा यात्रुबाहक बसहरूका लागि पार्किङको व्यवस्था भए पनि मालवाहक ट्रकहरूका लागि भने छुट्टै र व्यवस्थित पार्किङस्थल छैन। यही कारण ट्रक व्यवसायीहरू बजार क्षेत्रका विभिन्न सडक तथा स्थानमा सवारीसाधन पार्किङ गर्न बाध्य छन्। यसले ट्राफिक व्यवस्थापनमा समस्या सिर्जना गर्नुका साथै व्यवसायीलाई समेत सास्ती हुने गरेको छ।

    वरिष्ठ उपाध्यक्ष घिमिरेले ट्रक पार्किङको उचित व्यवस्था नहुँदा व्यवसायी र सहर दुवै प्रभावित भएको बताए।

    ‘यात्रुबाहक बसहरूका लागि पार्किङको व्यवस्था छ, तर ट्रकहरूका लागि छुट्टै पार्किङस्थल छैन। हामी पनि व्यवसाय गरेर राज्यलाई कर तिर्ने व्यवसायी हौँ। पार्किङको उचित व्यवस्था नहुँदा बाध्य भएर बजार क्षेत्रमा ट्रक राख्नुपर्ने अवस्था छ,’ घिमिरेले भने, ‘अव्यवस्थित पार्किङकै कारण प्रहरी प्रशासनले हेर्ने दृष्टिकोणसमेत फरक हुने गरेको छ। हामी सहरलाई अस्तव्यस्त बनाउने पक्षमा छैनौँ। त्यसैले रानीगञ्जमा ५ बिघा जग्गा उपलब्ध गराई व्यवस्थित ट्रक पार्किङस्थल निर्माण गर्न प्रस्ताव गरेका हौँ।’

    उनका अनुसार ट्रक पार्किङस्थल निर्माण भए बजार क्षेत्रको ट्राफिक चाप घट्ने, सडक आवागमन सहज हुने, दुर्घटनाको जोखिम न्यूनीकरण हुने र व्यवसायीले पनि सुरक्षित रूपमा सवारीसाधन पार्किङ गर्न पाउनेछन्।

    प्रस्ताव बुझ्दै नगरप्रमुख खेलराज पाण्डेले ट्रक पार्किङ व्यवस्थापनको आवश्यकता स्वीकार गर्दै सम्बन्धित संस्थालाई जग्गा उपलब्ध गराउन प्रतिबद्धता व्यक्त गरेका छन्। उनले यस विषयलाई सकारात्मक रूपमा अघि बढाउने आश्वासन दिएका छन्।

    रानीगञ्जमा प्रस्तावित ट्रक पार्किङस्थल निर्माण हुन सके बुटवलको बजार क्षेत्रलाई व्यवस्थित बनाउने र लामो समयदेखि यातायात व्यवसायीले भोग्दै आएको पार्किङ समस्या समाधान गर्ने अपेक्षा गरिएको छ।

    सहरी व्यवस्थापनका लागि यात्रुबाहक बससँगै मालवाहक ट्रकको पार्किङलाई पनि प्राथमिकतामा राख्नुपर्ने आवाज उठिरहेका बेला व्यवसायीको यो पहलले सार्थकता पाउने अपेक्षा गरिएको छ।



    lumbinisanjal   
  • २०८३ मंसिर ५, शुक्रबार १३:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP