• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    नेपाली कांग्रेस क्षेत्र नम्बर ३ रुपन्देहीद्वारा भित्तेपात्रो विमोचन एवम शुभकामना आदानप्रदान

    • lumbinisanjal
    • २०८१ चैत्र ३०, शनिबार २१:०७
    3.8K
    SHARES
    नेपाली कांग्रेस क्षेत्र नम्बर ३ रुपन्देहीद्वारा भित्तेपात्रो विमोचन एवम शुभकामना आदानप्रदान

    भैरहवा, ३० चैत । नेपाली कांग्रेस रुपन्देही क्षेत्र काँग्रेस क्षेत्र नम्बर ३ ले शनिबार भैरहवामा आयोजना गरेको शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

    काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३,का क्षेत्रीय सभापति सुशील गुरुङको अध्यक्षतामा सुरु भएको कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य एवम पुर्व गृहमन्त्री बालकृष्ण खाण रहेका थिए । प्रमुख अतिथि खाणले यो संविधान जनताले चुनेका जनप्रतिनिधिहरुले संविधानसभाको माध्यमबाट बनाएको बताए । ‘जसले यो संविधान मानेको छैनन्, त्यसले पनि यो संविधान मान्ने र यसको स्वामीत्व लिने गरी संविधान संशोधन गर्नु अत्यन्तै राम्रो कुरा हो, ’उनले भने–‘यही प्रयास हाम्रो हो । ’

    संविधानलाई समाप्त गर्ने मनसायले विभिन्न देशी–विदेशी तागतका साथ प्रयत्न गरिएको उनको भनाइ छ । यो संविधानलाई बचाउने, अगाडि बढाउने कि यसलाई निस्तेज गर्ने अहिलेको सवाल भएको उनले बताए । संविधानलाई सर्वस्वीकार्य बनाउनु नै काँग्रेसको प्रयत्न भएको उनले बताए ।

    दुई दलबीच भएको सरकार गठन अघि भएको सातबुँदे सहमतिमध्ये संविधान संशोधन पनि एउटा बुँदा रहेको उनले बताए । ‘संविधान संशोधनको मुद्दा उठ्दाखेरी संशोधनको पक्षमा बहस गर्नेहरु र यसको विपक्षमा रहेकाहरुले अतिरञ्जित रुपमा व्याख्या गरेको सुनिन्छ, ’नेता खाणले भने–‘समावेशी र समानुपातिक सबै हटाइन्छ र जुन कुराहरुले आम नागरिकहरु आशंकित हुन्छन्, त्यस्तै कुराहरु गरेको देखिन्छ ।’

    काँग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री भएको बेला २०७२ असोज ३ गते काँग्रेसकै नेतृत्वमा संविधान जारी भएको उनको भनाइ छ । नेपालको राष्ट्रियता, प्रजातन्त्र र नेपाली जनताको जीवन रक्षाका लागि माओवादी लगायत बामपन्थीहरुसँग सहमति र सहकार्य गरेको उनले बताए । स्वर्गीय गिरिजाप्रसाद कोइरालाले नागरिकको जीवन रक्षा र देशको लागि सम्झौता गरेकाले उहाँको महत्वपूर्ण योगदान रहेको खाणले बताए ।

    भारतको प्रयागराजमा लागेको महाकुम्भ मेलाले निष्क्रिय रुपैयाँ पैसालाई सक्रिय बनाएको र त्यहाँको अर्थतन्त्रमा उछाल ल्याएको उनले बताए । ‘नेपालको अर्थतन्त्र मजबुत बनाउन सबैभन्दा ठूलो आधारशिला पर्यटन हो, ’उनले भने–‘प्रतिवर्ष २ करोड पर्यटक नेपाल भित्र्याउने सरकारले योजना बनाउनुपर्छ ’। युवालाई नेपालमा रोजगारी दिन सूचना प्रविधिको पनि अधिकतम प्रयोग गर्नुपर्नेमा खाणले जोड दिए ।

    त्यस्तै काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व अर्थ राज्यमन्त्री भरत कुमार शाहले नेपाली जनता र काँग्रेसले नचाहेसम्म मुलुकमा राजा फर्किन नसक्ने दावी गरे ।

    कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य गंगा शाही, रुपन्देही पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक जमुना ढकाल, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईं, संविधान सभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, संविधान सभा सदस्य जन्नतुन निशा, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, काँग्रेस महासमिति सदस्य विमल प्रसाद ढकाल, रुपन्देही क्षेत्र नम्बर ३ (१) का सभापति सुरेन्द्रजंग थापा, सिद्धार्थनगरका सभापति कोशिष बहादुर खड्का, शुद्धोधन सभापति दामोदर पौडेल, नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष दिलिप भट्टराई, नेपाल महिला संघ पाल्पाकी अध्यक्ष मिना पन्थी, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका सभापति कृष्ण प्रसाद शर्मा, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्य, पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेल, काँग्रेस बुटवल–१८ का सभापति होमराज ढकाल, सिद्धार्थनगर–९ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरेले भनाइ राखेका थिए ।

    काँग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीका क्षेत्रीय सभापति सुशील गुरुङको सभापतित्व, केन्द्रीय सदस्य बालकृष्ण खाणको प्रमुख आतिथ्यता, क्षेत्र नम्बर ३ (२) का सभापति घनश्याम चालिसेको धन्यवाद ज्ञापन तथा क्षेत्रीय सचिव एवं प्रवक्ता लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।



    lumbinisanjal   
  • २०८१ चैत्र ३०, शनिबार २१:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP