• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    रेसुङ्गा गौशालामा गोवर्धन पूजा

    • lumbinisanjal
    • २०८२ कार्तिक ४, मंगलवार १३:३१
    2.6K
    SHARES
    रेसुङ्गा गौशालामा गोवर्धन पूजा

    गुल्मी, ४ कात्तिक  । धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र रेसुङ्गाको गौशालामा गोवर्धन एवं ‘गोे’ पूजा सुरु भएको छ । गौशालामा १५५ बढी स्थानीय जातका गाईहरू रहेका छन् । गोवर्धन पूजासहित सोरठी र भक्तिसङ्गीत तथा पञ्चेबाजा प्रस्तुत हुने भएकाले गुल्मीसहित छिमेकी जिल्लाबाट समेत दर्शनार्थीहरू गौशाला पुगेका छन् ।

    गाईहरूलाई नुन खुवाउने, गोवर्धन पर्वत बनाएर पूजा गर्ने र सोरठी, भजन र बाजातालमा रमाउनेहरूको गौशालामा बाक्लो उपस्थिति हुने गर्छ । गतवर्ष रेसुङ्गा संरक्षण समितिले गाईहरूको महत्त्व उजागर गर्न ‘गो’ महोत्सव तथा गोकथा श्रीमद्भागवद पाठ पारायण एवं कथा प्रवचन ज्ञान महायज्ञ आयोजना गरेको थियो ।

    अहिले बिहानदेखि बेलुकासम्म गोवर्धन पूजा, मुष्ठिदान, सोरठी, भजन र पञ्चेबाजा प्रस्तुत गरिने रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेश चन्द्र भुसालले जानकारी दिनुभयो ।

    २०४२ सालदेखि योगी नरहरिनाथले दिएका २५ गाई र केही आर्थिक सहयोगमा गौशाला सञ्चालन गरिएको छ । गौशाला सञ्चालन भएका करिब चार दशक भए पनि सोचेअनुसारको विकास भएको छैन । राज्यस्तरबाट गौशालामा नजर नपुगेका कारण चन्दाको भरमा समितिले गौशालाको व्यवस्थापन गरिरहेको छ ।

    रेसुङ्गा संरक्षण समिति अध्यक्ष भुसालका अनुसार गौशाला व्यवस्थापन गरेर गाईहरूको संरक्षण गर्न ‘मुठीदान’ अभियान गरिरहेको छ । यो अभियानमा ६०० बढी व्यक्तिहरू जोडिएर दैनिक एक रुपियाँ गाईको नाममा सङ्कलन गरेर समितिलाई प्रदान गरिरहेका छन् ।

    समितिले अहिले अक्षयकोष अभियान पनि अघि बढाएको छ । न्यूनतम ११ हजार १११ रुपियाँबाट अक्षयकोष दाता बन्नेहरू ११५ जना पुगिसकेकाले अहिले अझै अभियानलाई सक्रिय बनाउने भुसालले बताउनुभयो । उहाँले कोषमा एक करोड जम्मा गर्न सके गाईहरूको दीर्घकालीन व्यावस्थापन गर्न सकिने आफूहरूको सोँच रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “धार्मिक अभियान र संस्थालाई राज्यबाट प्राथमिकता दिएको पाइँदैन । गाईहरूको दीर्घकालीन व्यवस्थापनका लागि मुठीदानसहित अक्षयकोषको अभियान अगाडि बढाएका छौ ।”

    गौशालामा तीन वर्षदेखि ‘गो’ मुत्र अर्थात गहुँत सङ्कलन, प्रशोधन र बजारीकणको काम थालिएको भए पनि थ्रिफेज विद्युत् नहुँदा ‘गोे’ मुत्र प्रयाप्त उपलब्धी देखिएको थिएन । ‘गोे’ मुत्र काठमाडौँ प्रयोगशालाबाट परीक्षण समेत गरिएको छ । रेसुङ्गाको जङ्गगलमा पाइने विभिन्न किसिमका दुर्लभ जडीबुटीहरू खाएका, चिसो र अग्लो ठाउँमा चरेका स्थानीय जातका गाईहरूको ‘गोे’ मुत्र देशका अरु गौशालामाभन्दा उत्कृष्ट रहेको दाबी संरक्षण समितिको रहेको छ ।



    lumbinisanjal   
  • २०८२ कार्तिक ४, मंगलवार १३:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP