• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    प्रि-मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

    • lumbinisanjal
    • २०८२ चैत्र ३, मंगलवार २२:५९
    780
    SHARES
    प्रि-मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

    काठमाडौँ,३ चैत । प्रि-मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि भने पुनःबदली बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बुधबार छिटपुटबाहेक प्रायजसो स्थानमा आजको जस्तै मौसम सफा भए पनि बिहीबारबाट भने क्रमशः बढ्ने देखिएको छ ।

    विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले प्रि मनसुनका समयमा कुनैबेला खुल्ने, फेरि प्रणाली विकास भएर बदली हुनेक्रम जारी रहने र बिहीबारबाट बदली थपिने बताउनुभयो । शुक्रबार र शनिबार बदली थप बढी देखिने र ठाउँठाउँमा वर्षा हुने तर देशैभरि एकैसाथ पानी पर्नेभन्दा पनि कतै पर्ने कतै रोकिने अवस्था रहने उहाँले बताउनुभयो ।

    वरिष्ठ मौसमविद् वरुण पौडेलले प्रि मनसुनका समयमा हावाहुरी, चट्याङ र असिनापानीको बढी जोखिम हुने पनि बताउनुभयो । कतै घाम लागिरहेको समयमा अर्को ठाउँमा हावाहुरी र असिनापानीले ठूलो असर गराउने भएकाले सचेत रहन उहाँको आग्रह छ ।

    हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

    विभागले आज साँझ सार्वजनिक गरेको बुलेटिनमा बुधबार देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्ने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    बिहीबार लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत गण्डकी, वाग्मती र कोशी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने जनाइएको छ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थान तथा वाग्मती र कोशी प्रदेशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । रासस



    lumbinisanjal   
  • २०८२ चैत्र ३, मंगलवार २२:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP