• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवलमा सम्पन्न जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय लायन्स वक्तृत्वकलामा तेजस्वी नेपाल प्रथम

    • lumbinisanjal
    • २०८२ फाल्गुन १७, आईतवार ०७:४६
    1.1K
    SHARES
    बुटवलमा सम्पन्न जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय लायन्स वक्तृत्वकलामा तेजस्वी नेपाल प्रथम

    ​बुटवल, १७ फागुन ।  लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ P नेपाल, एरिया ४ (रिजन ११) को आयोजनामा बुटवलमा सम्पन्न जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय लायन्स वक्तृत्वकला प्रतियोगितामा न्यु होराइजन माध्यमिक विद्यालयका विद्यार्थी तेजस्वी नेपाल प्रथम हुनुभएको छ । ‘समाज परिवर्तनमा लायन्सको भूमिका’ विषयक उक्त प्रतियोगितामा रुपन्देही जिल्लाका विभिन्न विद्यालयका प्रतिस्पर्धीहरूलाई पछि पार्दै तेजस्वीले उत्कृष्ट वाककला प्रस्तुत गरी प्रथम स्थान हासिल गरेकी हुन ।

    प्रतियोगितामा इन्टलेक्च्युअल एकेडेमीकी सिमरन बस्याल द्वितीय, मणिमुकुन्द बोर्डिङ स्कुलका एन्जल बेलबासे तृतीय र कालिका मानवज्ञान माविका जुलिका बस्यालले सान्त्वना स्थान हासिल गरेका छन ।

    लायन्स क्लब अफ बुटवल न्यु होराइजनको संयोजन तथा न्यु होराइजन ई. बो. से. स्कुलको सहयोगमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि निवर्तमान डिष्ट्रिक्ट गभर्नर लायन पुरुषोत्तम भक्त प्रधानांगले विद्यार्थी कालदेखि नै सामाजिक सेवा र नेतृत्व विकासको भावना जागृत गराउन यस्ता बौद्धिक प्रतिस्पर्धाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

    कार्यक्रममा विशिष्ट अतिथिको रूपमा बोल्दै न्यु होराइजन माविका प्राचार्य लोकनाथ उपाध्यायले शैक्षिक गुणस्तरसँगै विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटनका लागि लायन्सले गरेको यो प्रयास प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

    ​प्रतियोगिताको निष्पक्ष मूल्यांकनका लागि निर्णायक मण्डलमा रमेश अर्याल र दिनेश खड्का रहनुभएको थियो । रिजन चेयरपर्सन लायन दिपक गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन जोन २४ का ज़ोन चियरपर्सन लायन लोक प्रसाद भण्डारी ‘राजु’ ले गर्नुभएको थियो ।

    कार्यक्रम संयोजक लायन गणेश भण्डारीले सहभागी सम्पूर्ण विद्यालय, विद्यार्थी तथा सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    लायन्सले समाजमा पुर्‍याएको बहुआयामिक योगदानलाई नयाँ पुस्तामाझ चिनाउन र विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्न यो कार्यक्रम सफल रहेको आयोजकको ठहर छ ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन १७, आईतवार ०७:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP