• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    वातावरणको दिगो सरसफाइका लागि नागरिकको व्यवहार परिवर्तन आवश्यक

    • lumbinisanjal
    • २०८२ पुष ९, बुधबार ०९:१८
    2.1K
    SHARES
    वातावरणको दिगो सरसफाइका लागि नागरिकको व्यवहार परिवर्तन आवश्यक

    बुटवल ,९ पुस । वातावरणको दिगो सरसफाइ सुनिश्चित गर्न व्यक्तिको व्यवहारमा परिवर्तन अनिवार्य रहेको निष्कर्ष एक कार्यक्रममा निकालिएको छ। पर्यावरण संरक्षण समाज नेपालद्वारा आयोजित तथा बुटवल उपमहानगरपालिकाको सहकार्यमा सम्पन्न दिगो सरसफाइ व्यवस्थापनसम्बन्धी अन्तरक्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रममा सरसफाइका लागि स्वयं नागरिक सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिइयो।

    कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सरसफाइकर्मीलाई नगरका प्रमुख पात्रका रूपमा उल्लेख गर्दै नगर सधैं उनीहरूको सम्मान र संरक्षणमा प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले सरसफाइकर्मीको निरन्तर मेहनतकै कारण नगर सफा राख्न सम्भव भएको उल्लेख गर्नुभयो।

    उपप्रमुख सावित्रा देवी अर्यालले विगतको तुलनामा बुटवल नगर केही हदसम्म सफा बन्दै गएको दाबी गर्नुभयो। यद्यपि, अझै प्रभावकारी सरसफाइका लागि नागरिकको सहयोग अपरिहार्य रहेको उहाँको भनाइ थियो।

    बुटवल उपमहानगरपालिकाका सरसफाइकर्मीहरूको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा उनीहरूले सरसफाइका क्रममा विभिन्न समस्याको सामना गर्नुपरेको गुनासो गरेका छन्। आवश्यक सामग्रीको अभाव, जोखिमपूर्ण काम र नागरिकले ‘पैसा तिरेका छौं’ भन्दै जथाभावी फोहर फाल्ने प्रवृत्तिले समस्या थपिएको सरसफाइकर्मीहरूको भनाइ थियो। उनीहरूले वातावरण संरक्षण र सरसफाइका लागि पर्याप्त बजेट विनियोजन गर्न पनि माग गरेका छन्।

    कार्यक्रमका प्रशिक्षक, पर्यावरण साहित्यकार तथा वातावरणविद् विजय हिताङले सरसफाइको सुरुआत आफ्नै व्यवहारबाट हुनुपर्ने बताउनुभयो। फोहर जथाभावी नफाल्नु नै दिगो सरसफाइको पहिलो सर्त भएको उल्लेख गर्दै उहाँले साना–साना कुरामा ध्यान दिँदा ठूलो परिवर्तन सम्भव हुने धारणा राख्नुभयो। सबै नागरिक जिम्मेवार र इमानदार बनेर स्वच्छ र सफा नगर निर्माणमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो।

    कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे, सरसफाइ शाखा प्रमुख लक्ष्मी अर्याल, योजना शाखा प्रमुख ठगिश्वर पोखरेल तथा सरसफाइकर्मीहरूले आ–आफ्नो धारणा राखेका थिए। नगरका विभिन्न शाखाका प्रमुख तथा कर्मचारी, सञ्चारकर्मीहरूको उपस्थिति रहेको कार्यक्रममा संस्थापक अध्यक्ष गणेश घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

    कार्यक्रमको समापन गर्दै पर्यावरण संरक्षण समाज नेपालका अध्यक्ष गंगा पोखरेलले नगर सरसफाइका क्रममा सरसफाइकर्मी स्वयं पनि सुरक्षित र चनाखो रहनुपर्ने बताउनुभयो। कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष अर्जुन ज्ञवालीले गर्नुभएको थियो।



    lumbinisanjal   
  • २०८२ पुष ९, बुधबार ०९:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP