• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    “समावेशी विकासको नयाँ अध्याय: तिलोत्तमामा महिला–अनुकूल पूर्वाधारको औपचारिक सम्झौता”

    • lumbinisanjal
    • २०८२ मंसिर ५, शुक्रबार १५:१२
    2.8K
    SHARES
    “समावेशी विकासको नयाँ अध्याय: तिलोत्तमामा महिला–अनुकूल पूर्वाधारको औपचारिक सम्झौता”

    तिलोत्तमा,०५ मंसिर ।  तिलोत्तमा नगरपालिकामा महिला–मैत्री, सुरक्षित र समावेशी पूर्वाधार विकासका लागि औपचारिक सम्झौता सम्पन्न भएको छ। फिनल्याण्ड सरकारको सहयोगमा युनोप्सका प्रतिनिधिहरू र नगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतबीच तीन वर्षे परियोजनाको लागि सम्झौता गरिएको हो।

    यस परियोजनाअन्तर्गत नगरको वडा नं ४ सीमानगर र वडा नं ९ मंगलापुरमा पूर्वाधार निर्माण कार्य हुने योजना बनाइएको छ। ‘सबैका लागि उपयुक्त शहर’ बनाउने उद्देश्यले स्थानीय समुदाय, जनप्रतिनिधि, योजना विज्ञ, महिला समूह, युवा तथा सरोकारवाला निकायहरूको सक्रिय सहभागितामा सार्वजनिक पूर्वाधारहरूको प्रारम्भिक डिजाइन तयार गरिएको छ।

    कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाँणले भनिन्, “नगरपालिकाले केवल संरचना बनाइरहेको छैन, सहजता, समानता र समावेशितालाई आधार बनाएर निर्माण गर्दैछौँ। समावेशी योजना र स्थानीय सहभागिता नगर विकासको मेरुदण्ड हो।”

    उपप्रमुख जगेश्वर देवी चौधरीले भनिन्, “महिला–मैत्री, समावेशी र सुरक्षित शहर निर्माण गर्ने लक्ष्य अनुरूप यो औपचारिक सम्झौता गरिएको हो। महिलाले उत्पादन गरी बिक्री गर्न सक्ने स्टलहरू समेत निर्माण गरिनेछ।”

    प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले प्राविधिक, जलवायु र स्थानगत पक्षलाई ध्यानमा राखेर पूर्वाधार निर्माण हुने र परियोजनामा नगरपालिकाको ३० प्रतिशत लगानी रहने जानकारी दिनुभयो।

    युनोप्सकी आर्किटेक्ट मनीषा कार्कीले जानकारी दिनुभयो कि सह–डिजाइन अभ्यासबाट संकलित विचार र डिजाइन अवधारणाहरूलाई परिमार्जन, परीक्षण र पुनरावलोकन गरी कार्यान्वयनमा लैजाने तयारी गरिएको छ। यस कार्यक्रममार्फत तिलोत्तमा नगर सबै उमेर, अपांगता भएका व्यक्ति, बालबालिका र ज्येष्ठ नागरिकका लागि सुरक्षित, समावेशी र समर्पित शहर बन्ने लक्ष्य लिएको छ।

    तीन वर्षे कार्यान्वयन अवधिपछि पहिलो चरण सफल भएमा अन्य वडाहरूमा पनि परियोजना विस्तार गरिनेछ। सहभागी र बहस–आधारित योजना प्रक्रियाले दिगो, समान र अधिकारमैत्री नगर विकासतर्फको यात्रालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

     



    lumbinisanjal   
  • २०८२ मंसिर ५, शुक्रबार १५:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP