• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    सर्पको डसाइपछि उद्धारको दौड: सर्प उद्धारकर्ता विशाल पाण्डे टोलीले घटायो त्रास

    • lumbinisanjal
    • २०८२ असार ३२, बुधबार १४:१४
    14K
    SHARES
    सर्पको डसाइपछि उद्धारको दौड: सर्प उद्धारकर्ता विशाल पाण्डे टोलीले घटायो त्रास

    बुटवल, ३२ असार । रुपन्देहीमा हालसालै विषालु गोमन सर्प (कमन कोब्रा) ठूलो संख्यामा घरभित्रै देखिन थालेका छन्। तिलोत्तमा, बुटवल र देवदहका तीन घरबाट मात्रै तीन दिनभित्र ४० वटा सर्प फेला परेका छन्।

    तिलोत्तमा–५ प्रेमनगरका डिलाराम अर्यालको घरबाट मात्र २३ वटा गोमन सर्प उद्धार गरिएको हो। अर्याललाई खाना पकाउने क्रममा सर्पले डसेपछि खोजतलास गर्दा तीन दिनको अन्तरालमा ती सर्प भेटिएका हुन्।

    एकै घरबाट २३ गोमन, अभूतपूर्व घटना

    सर्प उद्धारकर्ता विशाल पाण्डे र टिमले पहिलो दिन ५ वटा, दोस्रो दिन १२ वटा र तेस्रो दिन ६ वटा सर्प फेला पारी जंगलमा लगेर छाडेका थिए। उनीहरूका अनुसार एउटै घरबाट यति धेरै संख्यामा विषालु सर्प भेटिएको घटना रुपन्देहीमै पहिलो हो।

    यस्तै, बुटवल उपमहानगरपालिका–११ देवसिद्धचोकस्थित शान्ति घिमिरेको घरबाट ८ वटा र देवदह नगरपालिका–८ टटेरामा प्रेम खत्रीको घरबाट ९ वटा गोमन सर्प फेला परेका छन्। यी सबै सर्पलाई उद्धार गरेर जंगलमा छाडिएको पाण्डेले जानकारी दिए।

    वन मासिँदै गएपछि घरमै सरे सर्प

    सर्प उद्धारकर्ताहरूका अनुसार विगतमा वनजंगल रहेका क्षेत्रहरूमा अब बाक्लो बस्ती र पक्की संरचना बनेका कारण सर्पको बासस्थान मासिएको छ। त्यसैले आहाराको खोजीमा सर्पहरू घर–घर पस्यो।

    “पहिला सर्प जंगल र खेतमा बस्थे, अहिले ती ठाउँ घडेरी र घरमा रूपान्तरण भए,” उद्धारकर्ता पाण्डे भन्छन्, “बासस्थान र आहाराको अभाव भएपछि सर्प अब भान्सासम्म आइपुगेका छन्।”

    दुई दशकदेखि सर्प उद्धार गर्दै आएका खिमलाल पाण्डेले १२ वर्षअघि यिनै अर्यालको घरबाट ११ वटा गोमन सर्पका बच्चा निकालेको सम्झिए। “बर्षेनि असारदेखि भदौसम्म सर्पको सक्रियता बढी हुन्छ, त्यसैले सावधानी अपनाउन जरुरी छ,” उनले भने।

    नेपालमा सर्पदंश : हरेक वर्ष हजारौंको मृत्यु

    ‘नेसनल लाइब्रेरी अफ मेडिसिन’ले प्रकाशित गरेको एक अध्ययन अनुसार नेपालमा हरेक वर्ष करिब ४० हजार जना सर्पदंशबाट प्रभावित हुने र २,३०० देखि ३,२०० जनासम्मको मृत्यु हुने गरेको छ।

    सन् २०२२ मा मात्रै ३७ हजारभन्दा बढी सर्पदंशका घटनाहरू दर्ता भएका थिए। तीमध्ये ४८.८ प्रतिशतमा विषालु सर्पको टोकाइ प्रमाणित भएको थियो भने ७.८ प्रतिशतको तत्काल मृत्यु भएको थियो।

    चिकित्सकहरूका अनुसार गोमन र करेत जस्ता सर्पको डसाइपछि एक घण्टाभित्र उपचार सुरु गर्न आवश्यक हुन्छ। तर अस्पतालसम्म नपुग्दै धेरैको मृत्यु हुने गरेको छ।

    सर्प देखिए के गर्ने?

    विशेषज्ञहरू भन्छन् —

    सर्प देखिएमा तुरुन्त उद्धारकर्तालाई खबर गर्नुहोस्।

    आफैं समात्ने वा मार्ने प्रयास नगर्नुहोस्।

    घर वरिपरि सरसफाइ राख्नुहोस्।

    प्वाल, फोहोर र घाँस हटाउनुहोस्।

    झ्यालढोका जालीले छोप्नुहोस्।

    संक्रमणमुक्त र सुरक्षित बसोबासका लागि सचेत बनौं, सर्प देखिए उद्धारकर्तालाई बोलाऔं।

     



    lumbinisanjal   
  • २०८२ असार ३२, बुधबार १४:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP