• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    योग पूर्वीय ज्ञान र संस्कृतिको अभिन्न अंश : राष्ट्रपति रामचन्द्र पौडेल

    • lumbinisanjal
    • २०८२ असार ७, शनिबार ०९:३२
    1.9K
    SHARES
    योग पूर्वीय ज्ञान र संस्कृतिको अभिन्न अंश : राष्ट्रपति रामचन्द्र पौडेल

    काठमाडौँ, ०७ असार । राष्ट्रपति रामचन्द्र पौडेलले योग, ध्यान र साधनाले शरीर, मन र आत्मालाई सन्तुलनमा ल्याउँने तनावबाट मुक्त गराउने र सकारात्मक उर्जा प्राप्त हुने विश्वास गर्नुभएको छ ।

    शनिबार अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति पौडेलले योगको माध्यमबाट हाम्रो दैनिक कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने,सकारात्मक सोचको विकास हुने, आन्तरिक उर्जा प्राप्त हुने र आत्मप्रेरणा हासिल हुनेलगायत सकारात्मक गुणको विकास हुन सक्ने बताउनुभएको हो ।

    उहाँले योगले मन र शरीरलाई जोड्नुका साथै ज्ञान, कर्म, चेतना एवम् स्थिरतातर्फ डोर्‍याउने भएकाले मानिसलाई स्वस्थ्यकर जीवनयापनका लागि शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योग अभ्यासले सहयोग पुर्‍याउँने बताउनुभयो ।

    योगलाई शारीरिक अभ्यास तथा निश्‍चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक मानवीय जीवनशैली एवम् जीवनपद्धतिका रुपमा लिइन्छ

    विश्वलाई स्वास्थ्य, शान्ति र आत्मिक उन्नतिको बाटो देखाउने योगका सम्बन्धमा भएका अध्ययन, अनुसन्धान र ऐतिहासिक तथा पुरातात्विक तथ्यहरूले नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदै आएको देखिन्छ ।

    ‘‘नेपालमा सांस्कृतिक क्षेत्रको भौतिक तथा अभौतिक सम्पदाहरूमा योग विज्ञानको प्रयोग भएको पाइन्छ । योगलाई मुलुकको राष्ट्रिय नीति, शैक्षिक पाठ्यक्रम तथा जनस्वास्थ्यको क्षेत्रमा अभिन्न अङ्गको रुपमा स्थापित गर्दै यस क्षेत्रको विकासमा थप कार्य गर्न आवश्यक रहेको म ठान्दछु ।’’ उहाँले भन्नुभयो, ‘‘विश्वव्यापी रुपमा एकता, शान्ति र स्वास्थ्यको सन्देश प्रवाह गर्ने योग हजारौं वर्ष पुरानो पूर्वीय ज्ञान र संस्कृतिको अभिन्न अंशको रुपमा रहेको देखिन्छ । विभिन्न कारणबाट मानिसमा देखिने तनाव तथा प्रदूषण र प्रतिस्पर्धा आदिबाट जटिल बन्दै गएको मानव जीवनलाई सहज, सरल र स्वस्थ्य बनाउन योग अभ्यासलाई जीवन शैलीका रुपमा उपयोग गर्न जरुरी छ ।’’

    राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) , २०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

    संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ का दिन पारित प्रस्ताव अनुसार सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन सुरू गरिएको हो । यस वर्ष हामी ‘‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग’’ भन्ने आदर्श वाक्यका साथ योगको मर्म र भावनाबमोजिम विश्व योग दिवस मनाइरहेका छौं ।



    lumbinisanjal   
  • २०८२ असार ७, शनिबार ०९:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP