• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    कोहलपुरका अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण

    • lumbinisanjal
    • २०८२ असार १, आईतवार १२:०२
    3.1K
    SHARES
    कोहलपुरका अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण

    बाँके,०१ असार । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ का ८६ अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।

    वर्षौँदेखि बसोबास गर्दै आएका कोहलपुर– १ का ८६ अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको भूमि समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष घननाथ खनालले जानकारी दिए ।

    ‘हामी धमाधम काम गरेर अव्यवस्थित बसोवासी तथा सुकुम्वासी जनतालाई जग्गाको धनी बनाउन लागिपरेका छौँ’, अध्यक्ष खनालले भने, ‘हामीले पाएको जिम्मेवारीअनुसार जनताको आशा र अपेक्षा पूरा गर्न लागिपरेका छौँ ।’

    कोहलपुर– १ का थप सात सय ७४ अव्यवस्थित बसोवासीलाई असार ५ गतेबाट लालपुर्जा वितरण गर्नेगरी काम भइरहेको आयोगले जनाएको छ । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले भूमिसम्बन्धी समस्या समाधानमा आवश्यक सहयोग र समन्वयका लागि नगरपालिका सधैँ तत्पर रहेको बताए ।

    बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले आयोगको काममा स्थानीय तह, जनप्रतिनिधि र राजनीतिक दलहरूले समेत जिम्मेवारपूर्ण तरिकाले सघाउनुपर्नेमा जोड दिए ।

    भूमि समस्या समाधान आयोग जिल्ला समितिले हालसम्म बाँकेको कोहलपुर नगरपालिका– १ मा एक सय १७ भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिसकेको छ ।

    बाँकेको कोहलपुर, बैजनाथ, खजुरा, जानकी, राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा भूमिसम्बन्धी समस्या समाधानका लागि प्रक्रियागत तवरले काम भइरहेको अध्यक्ष खनालले बताए । उनले सानातिना विवादमा नअल्झिएर फिल्डमा खटिएका प्राविधिकलाई आवश्यक सहयोग र समन्वय गरिदिन आग्रह गरे । (रासस)



    lumbinisanjal   
  • २०८२ असार १, आईतवार १२:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP