• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    गौमुखी भ्रमण वर्ष २०८२ सुरु: एक लाख पर्यटक भित्राउने लक्ष्य

    • lumbinisanjal
    • २०८२ जेष्ठ १८, आईतवार ११:४०
    4K
    SHARES
    गौमुखी भ्रमण वर्ष २०८२ सुरु: एक लाख पर्यटक भित्राउने लक्ष्य

    प्युठान ,१८ जेठ । प्युठानको गौमुखी गाउँपालिकाले एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्यसहित ‘गौमुखी भ्रमण वर्ष २०८२’ सुरु गरेको छ ।

    शनिबार गौमुखी गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले भ्रमण वर्ष उदघाटन गर्दै गौमुखीको पर्यटन विकासमा सरकारको तर्फबाट आवश्यक पहल गरिने प्रतिबद्धता जनाए ।

    ‘पर्यटन नेपालको समृद्धिको आधार हो,’ मन्त्री पाण्डेले भने, ‘प्रदेश र स्थानीय तहसँग समन्वय गरेर गौमुखी प्रवर्द्धन गरिनेछ ।’

    गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु गिरीले भ्रमण वर्ष समग्र क्षेत्रको विकासमा कोसेढुंगा सावित हुने बताए । उपाध्यक्ष महावीर रानाका अनुसार भ्रमण वर्षले प्रचारप्रसारको अभावमा ओझेलमा परेको गौमुखी क्षेत्रलाई पुनः उजागर गर्ने अवसर प्रदान गरेको छ ।

    वर्षभर चल्ने भ्रमण अभियानमा गौमुखी गुफा, बाइस मुल झरना, झाक्रीढुङ्गा, रानीताल, अर्खा–रजवारा झोलुंगे पुल, गोद्रेचौर, टोपरे गुफा लगायत धार्मिक तथा प्राकृतिक स्थलहरू प्रमुख आकर्षण हुनेछन् । यस्तै, यानिमाया भाका, मारुनी, सोरठी, पञ्चेबाजा लगायत स्थानीय सांस्कृतिक कार्यक्रमहरू पनि समेटिनेछन् ।

    पर्यटक सुविधाका लागि गौमुखी नजिकैको अर्खा गाउँमा होमस्टे सेवा सञ्चालनमा ल्याइएको छ ।

    पालिका भित्र रहेका गौमुखी गुफा, बाइसु मुल झरना, झाक्रिढुङ्गा, रानीताल, रजवारा अर्खा जोड्ने अग्लो र लामो पुल, गोद्रेचौर, टोप्रे गुफा लगायतका पर्यटनकीय एवम् धार्मिक क्षेत्रले पर्यटनमा उचाई चुमेसँगै स्थानीयहरुमा रोजगारी सिर्जना हुने र आन्तरिक आय वृद्धि हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सिराम पौडेलले बताए ।

    यसअघि, वि.सं. २०७५ मा नेपाल पत्रकार महासंघ प्यूठानले ‘गौमुखी मिडिया सम्मेलन’ आयोजना गरी क्षेत्रको पर्यटन सम्भावनाबारे बहस अघि सारेको थियो ।

    गौमुखी गाउँपालिका–२ मा अवस्थित झिमरुक नदीको उद्गमस्थल ‘गौमुखी गुफा’ यस क्षेत्रको मुख्य आकर्षण मानिन्छ । गाईको मुखजस्तो आकारको ढुंगाबाट निरन्तर पानी झर्ने भएकाले यसको नाम गौमुखी रहन गएको स्थानीय बताउँछन् ।

    गौमुखी सदरमुकाम खलंगाबाट झन्डै ४० किलोमिटरको सडक यात्रा र करिब एक घण्टाको पैदलयात्रापछि पुग्न सकिन्छ । विशेषगरी माघे संक्रान्तिमा यहाँ ठूलो मेला लाग्छ ।

     



    lumbinisanjal   
  • २०८२ जेष्ठ १८, आईतवार ११:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP