• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    ‘बिजनेस ह्याकाथन २०२५’ को चौथो दिन परिकल्पना र दस्तावेजीकरण सम्बन्धी अभिमुखीकरण

    • lumbinisanjal
    • २०८१ माघ २०, आईतवार १८:४८
    1.9K
    SHARES
    ‘बिजनेस ह्याकाथन २०२५’ को चौथो दिन परिकल्पना र दस्तावेजीकरण सम्बन्धी अभिमुखीकरण

    बुटवल, २१ माघ । बुटवल बहुमुखी क्याम्पसमा जारी ‘बिजनेस ह्याकाथन २०२५’ अन्तर्गत चौथो दिन परिकल्पना (Ideation) र दस्तावेजीकरण (Documentation) सम्बन्धी अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बीबीए विद्यार्थी क्लबद्वारा आयोजित यस कार्यक्रम नवप्रवर्तन, व्यावसायिक योजना विकास, र दस्तावेजीकरण प्रक्रियाको महत्त्व बुझाउन केन्द्रित थियो।

    कार्यक्रमको अध्यक्षता बीबीए विद्यार्थी क्लबका अध्यक्ष सन्देश पोखरेलले गर्नुभएको थियो भने मुख्य प्रशिक्षकका रूपमा मुकुन्द ज्ञवाली रहनुभएको थियो। कार्यक्रमको सञ्चालन कोपिल पौडेलद्वारा गरिएको थियो। प्रमुख अतिथिका रूपमा बीबीए कार्यक्रम निर्देशक डा. ओम प्रकाश अर्याल उपस्थित हुनुहुन्थ्यो।

    मुख्य प्रशिक्षक मुकुन्द ज्ञवालीले परिकल्पना र दस्तावेजीकरणको महत्त्वबारे व्यापक प्रशिक्षण दिनुभयो। उहाँका अनुसार, “व्यवसायिक सफलताको पहिलो चरण परिकल्पना नै हो। ठोस योजना बिना कुनै पनि व्यवसाय अगाडि बढ्न सक्दैन।” उहाँले व्यवसाय सुरुआत गर्नका लागि नवीन विचारको विकास, अनुसन्धान, सम्भाव्यता अध्ययन, र सही रणनीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “विचार सिर्जना गरेपछि त्यसलाई व्यवस्थित रूपमा कागजातमा उतार्न अत्यावश्यक छ। राम्रो दस्तावेजीकरणले लगानीकर्ताको विश्वास जित्न र व्यवसायलाई सही दिशामा लैजान मद्दत गर्छ।

    उहाँका अनुसार, व्यवसायिक योजना बनाउँदा समस्या पहिचान, समाधानका उपाय, लक्ष्य समूह, बजार रणनीति, वित्तीय व्यवस्थापन, तथा कानुनी प्रक्रिया स्पष्ट रूपमा उल्लेख गर्नुपर्छ। साथै, डिजिटल युगमा दस्तावेजीकरणको प्रभावकारिता बढाउन प्रविधिको प्रयोग अनिवार्य रहेको बताउँदै, व्यावसायिक प्रस्ताव, प्रस्तुति, र रिपोर्ट लेखनका लागि डिजिटल टुल्सको महत्त्व बारे प्रकाश पार्नुभयो।

    बीबीए कार्यक्रम निर्देशक डा. ओम प्रकाश अर्यालले कार्यक्रमलाई विद्यार्थीहरूको व्यावसायिक क्षमताको विकास गर्ने अवसरको रूपमा व्याख्या गर्दै भन्नुभयो, “एक सफल व्यवसायी बन्न, सशक्त परिकल्पना, योजनाबद्ध कार्यान्वयन, र प्रमाणित दस्तावेजीकरण अनिवार्य हुन्छ। प्रतिस्पर्धात्मक संसारमा सही योजना बिना व्यवसाय टिक्न कठिन छ।”

    बीबीए विद्यार्थी क्लबका अध्यक्ष सन्देश पोखरेलले विद्यार्थीहरूलाई नेपालमै व्यवसायिक अवसर खोज्न प्रेरित गर्दै भन्नुभयो, “विदेश पलायनको प्रवृत्तिले नेपालमा व्यवसायिक क्षेत्रलाई चुनौती सिर्जना गरेको छ। नवप्रवर्तनलाई आत्मसात गर्दै, नेपालमै व्यवसायको सम्भावनालाई पहिचान गर्न आवश्यक छ।”

    प्रतियोगिताका उत्कृष्ट समूहलाई ३५,००० रुपैयाँ नगद, ट्रफी, र प्रमाणपत्र प्रदान गरिनेछ। दोस्रो स्थान प्राप्त टोलीलाई १५,००० रुपैयाँ, भने तेस्रो स्थान प्राप्त टोलीलाई ७,५०० रुपैयाँ पुरस्कार दिइनेछ।

    कार्यक्रम संयोजक तृप्ति न्यौपाने र अध्यक्ष सन्देश पोखरेलले कार्यक्रम सफल बनाउन अहोरात्र खटिएका सम्पूर्ण सहभागी, प्रशिक्षक, शिक्षक, तथा स्वयंसेवकहरूलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो।

    बुटवल बहुमुखी क्याम्पसमा सञ्चालन भइरहेको ‘बिजनेस ह्याकाथन २०२५’ ले विद्यार्थीहरूलाई नवीन सोच, रणनीतिक योजना, र व्यावसायिक नेतृत्व को महत्त्व बुझाउने अवसर प्रदान गरिरहेको छ। आगामी चरणहरूमा प्रतिस्पर्धीहरूले आफ्ना व्यवसायिक अवधारणाहरू प्रस्तुत गर्नेछन्, जसलाई निर्णायक मण्डलले मूल्यांकन गर्नेछ।



    lumbinisanjal   
  • २०८१ माघ २०, आईतवार १८:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP