• २०८३ आश्विन ६ | Tue, 22 Sep 2026
  • Dark Mode

          Subscribe

    नवलपरासीको सुनवलमा ‘अभिभावक पाठशाला’ सुरु, पहिलो सत्र ‘सचेत अभिभावकत्व’ विषयमा केन्द्रित

    • lumbinisanjal
    • २०८३ आश्विन ६, मंगलवार ०८:२७
    13
    SHARES
    नवलपरासीको सुनवलमा ‘अभिभावक पाठशाला’ सुरु, पहिलो सत्र ‘सचेत अभिभावकत्व’ विषयमा केन्द्रित

    नवलपरासी। बालबालिकाको समग्र विकास, मनोविज्ञान र स्वस्थ पारिवारिक वातावरण निर्माणको उद्देश्यका साथ सुनवल–०१ स्थित सोमनाथ बाबा सेकेण्डरि स्कुल विद्यालयले ‘अभिभावक पाठशाला’ औपचारिक रूपमा सुरु गरेको छ। सोमनाथ बाल उद्यानको सभाहलमा आयोजित पाठशालाको पहिलो सत्र ‘सचेत अभिभावकत्व’ (Conscious Parenting) विषयमा केन्द्रित रहेको थियो।

    विद्यालय प्रशासनका अनुसार यो पाठशाला एकपटकको औपचारिक कार्यक्रम मात्र नभई आगामी दिनमा पनि निरन्तर सञ्चालन हुनेछ।

    परीक्षा र गुनासोभन्दा फराकिलो उद्देश्य

    बालबालिकाको सिकाइ र भविष्य निर्माणमा विद्यालयसँगै घरपरिवार र अभिभावकको भूमिका उत्तिकै महत्त्वपूर्ण हुने भएकाले परीक्षाको नतिजा वा गुनासो सुन्नका लागि मात्र अभिभावक बोलाउने परम्परागत शैलीलाई बदल्दै यो पाठशालाको परिकल्पना गरिएको हो। यसमार्फत अभिभावकलाई बालबालिकाको उमेरअनुसार बदलिँदो मनोभाव, रुचि र आन्तरिक क्षमता पहिचान गर्न सघाइने, डर र सजायको साटो भावनात्मक सम्बन्ध र सकारात्मक संवादबाट अनुशासित बनाउने सीप सिकाइने तथा प्रविधि र सामाजिक सञ्जालको प्रभाव, किशोरावस्थाका चुनौतीसँग जुध्न व्यावहारिक मार्गदर्शन दिइने जनाइएको छ।

    ‘दृढ तर दयालु’ अभिभावक

    ‘बुझौँ बालमन, बनाऔँ सुन्दर भविष्य’ नाराका साथ सुरु भएको पाठशालाको पहिलो सत्रमा नेपाल जेसिजका राष्ट्रिय प्रशिक्षक तथा मनोसामाजिक परामर्शदाता रमेश अर्यालले सहजीकरण गर्नुभयो। उहाँले बालबालिकाको बाहिरी व्यवहारमा मात्र प्रतिक्रिया नजनाई त्यसभित्रको भावनात्मक कारण बुझ्न, उनीहरूको डर र रिस व्यवस्थापन गर्न तथा ‘दृढ तर दयालु’ अभिभावक बन्ने व्यावहारिक उपायबारे प्रशिक्षण दिनुभयो।

    साइबर र सडक सुरक्षामा पनि जोड

    मुख्य सत्रअघि विद्यार्थी र अभिभावकको सुरक्षालाई ध्यानमा राखी दुई सचेतनामूलक सत्र सञ्चालन गरिएका थिए। इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख लक्ष्मण देवकोटाले इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग, अनलाइन ठगी तथा साइबर अपराधसम्बन्धी साइबर क्राइम सचेतना प्रदान गर्नुभयो। त्यसैगरी ट्राफिक प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब निरीक्षक रेशम रिजालले सडक दुर्घटना न्यूनीकरण, बालबालिकाको सुरक्षित यात्रा र ट्राफिक नियम पालनाबारे जानकारी दिनुभयो।

    व्यापक सहभागिता

    विद्यालयका हिमाल चन्द्र अर्यालको अध्यक्षता तथा विद्यालय
    संचालक समितिका अध्यक्ष बोधराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संचालक समितीका प्रमुख सल्लाहकार बासुदेव पौडेल लगायत शिक्षक-कर्मचारी र उल्लेख्य सङ्ख्यामा अभिभावकको सहभागिता रहेको थियो । विद्यालयले अभिभावकलाई शिक्षा र संस्कारको साझेदार बनाउने यस्तो रचनात्मक पाठशाला नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।



    lumbinisanjal   
  • २०८३ आश्विन ६, मंगलवार ०८:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP